एन्जाइटि र डिप्रेसन बिच फरक र सावधानी

वर्तमान अवस्थामा विकासोन्मुख नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने रोगहरू मध्येको एक विकराल रोग मनोरोग (एन्जाइटि र डिप्रेसन) पनि हो । विकसित मुलुक (यूरोप र अमेरिका) मा यो रोगको बारे खुलेर बहस गर्नुका सथै मनोवैज्ञानिक तवरबट चेकजाँच हुने भएकोले थोरै मानिस यो रोगबाट प्रभावित भएका आँकडा बाहिर आएको हुन्छ । तर नेपालमा यो रोग लागेको व्यक्ति समाजमा खुलेर हिँड्न नसक्ने र सकेसम्म रोग लुकाउन कोशीश गर्ने भएकोले कति प्रतिशत व्यक्तिहरू यो रोगबाट ग्रसित छन् भन्ने ठीक तथ्याङ्क निकाल्न गाह्रो छ । हाम्रो समाज अझै पनि परम्परागत रुढीवादी सोँचले ग्रसित छ । समाजमा कुनै व्यक्तिले मनोरोगको औषधी सेवन गरेको छ भने उसलाई दिमागको दबाई खाएको व्यक्तिको तुच्छ संज्ञा दिदै कानेखुसी गरिन्छ अनि जो व्यक्ति समाजबाट आत्माबल खोजिरहेको हुन्छ उसले आफु मनोरोगको कारण तिरस्कृत भएको अनुभव गर्छ र यो समस्या दोहोरिँदै जाँदा समयको कुनै कालखण्डमा चरम आत्माग्लानी र घृणित मनोदशाबाट ग्रषित भएका कारण आत्महत्या गर्ने मोडमा समेत पुग्ने र यस्तो घटना घटेको धेरै सत्यहरू हाम्रो समाजमा विद्यमान नै छ । मनोरोग अथवा मानसिक रोग मस्तिष्कमा रासायनिक असन्तुलनको कारण अथवा मस्तिष्कमा रासायनिक गडबडीको कारणले हुन्छ त्यसैले यो सामान्य मेन्टल डिसअर्डर हो । मेडिकलको भाषामा न्युरोट्रान्समिटर डिसअर्डरको कारणले मानसिक स्वास्थ्यमा विकसित हुने विकारलाई मानसिक रोग पनि भनिन्छ । मानसिक रोग धेरै प्रकारको हुन्छ त्यसैले यसलाई गु्रप अफ मेन्टल डिसअर्डर पनि भन्ने गरिन्छ । तपाईं यदि मानसिक रोगको शंका लगेर मनोरोग विशेषज्ञकोमा जानुभयो भने तपाईलाई सोधपुछ गरेर औषधि रेफर गरिन्छ । तपाईंले डाक्टरलाई सोध्नुभयो कि डाक्टर साप मलाई के भएको हो ? र यदि तपाई मानसिक रोगको पहिलो चरण (अथवा सुरुको अवस्था) मा हुनुहुन्छ भने उहाँले सजिलो उत्तर दिनुहुन्छ, एन्जाइटि । बुज्नु भएन भने प्रायः भनिने कुरो हो तपाईंलाई चिन्ता, पिर र मनमा अस्थिरता लाग्ने रोग अथवा मनोरोग लागेको छ ।
                                          अब बिरामीले आफूलाई डिप्रेसन भयो भन्ने बुज्छ र भ्रममा पर्छ । किनकि एन्जाइटि र डिप्रेसन फरक रोग हो एकै खाले रोगमा वर्गीकरण गर्न मिल्दैन र उपचार पद्दतीमा पनि फरक हुन्छ । तर तपाईंले डाक्टरलाई सोध्नुभयो भने प्रायः उत्तर करिब–करिब उस्तै हो भन्ने जवाफ आउन सक्छ । किनकी दुवै रोगको कतिपय लक्षणहरू उस्तै हुन्छन् जसले गर्दा मानसिक रोगको प्रकार बुझ्नलाई जटिल बनाइदिन्छ । त्यसैले मनोरोग विशेषज्ञले सरल र सरस तरिकाबाट बिरामीलाई बुझाउन सजिलो नहुने र धेरै कुराहरू बिरामीलाई भन्दा बिरामीमा मनोवैज्ञानिक तनाब सृजना हुन सक्ने भएकोले तपाईंलाई चिन्ता लाग्ने रोग लागेको हो यो औषधि खानुहोस् राम्रो हुन्छ भनेर सजिलो तरिका अपनाएका पनि हुन सक्छन् ।
एन्जाइटि र डिप्रेसनमा के फरक छ ? कसरी थाहा पाउने ?
एन्जाइटि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ व्याकुलता अथवा व्यग्रता हो । एन्जाइटि धेरै प्रकारको हुन्छ । जस्तै जेनेरल एन्जाइटि डिसअडर, सोसिएल (सामाजिक) एन्जाइटि डिसअडर, पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर, एगोरो (फोयिबा, भिडभाडको डर लाग्ने), विशेष फोयिबा । यी एन्जाइटिको बारे तल पढनुहोला ।
                                                     डिप्रेसन पनि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ उदासी, ग्लानी अथवा शक्तिहीनता हो । यी दुवै मानसिक रोगका कतिपय लक्षण वा प्रकृति उस्तै हुन्छन् । एन्जाइटि डिसअर्डरले ग्रसित व्यक्तिहरुमा उपचार नगरे अथवा उपचार पद्दती ठीक भएन भने डिप्रेसन पनि विकसित हुन्छ र त्यसैगरि डिप्रेसनबाट पीडितहरूमा पनि उपचार नगरे कुनै प्रकारको एन्जाइटि विकसित हुन्छ । यसैले समस्या यहाँनिर हुन्छ कि मानसिक रोग लागेका व्यक्तिहरुमध्ये ५०५ लाई दुवै रोग (एन्जाइटि र डिप्रेसन) को उपचार गरिन्छ । यदि ठिक तरिकाले रोगको पहिचान गर्न सक्ने होभने कुनै एक एन्जाइटि डिसअर्डर अथवा डिप्रेसिव डिसअर्डरको मात्र उपचार गर्दा यो अति प्रभावकारी हुन्छ । समयमा नै बिरामीको रोग निको हुन्छ र आर्थिक समस्याबाट पनि बिरामीलाई कम मार पर्छ ।
सबै प्रकारको एन्जाइटिको मुख्य लक्षणहरू
अत्यधिक चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, ध्यान अथवा एकाग्रमा समस्या हुने (मन डुलीरहने), रिसाहा अथवा क्रोधी स्वभाव विकसित हुने, सुत्नलाई बाधा हुने निन्द्रा नपर्ने र मांस्पेशी अथवा स्नायुमा तनाव हुने ।
विशेष प्रकारको एन्जाइटि र लक्षणहरू
– जेनेरल एन्जाइटि डिसअडरः अत्यधिक चिन्ता लिने, बिनाकारण चिन्ता लिने, चिन्ता लिइसके पछि फेरि किन चिन्ता लिएको होला मैले भनेर चिन्ताको पनि फेरि चिन्ता लिने ।
– सोसिएल (सामाजिक) एन्जाइटि डिसअडरः सामाजिक काम गर्दा नराम्रो पो हुन्छ कि अरुले नराम्रो पो भन्छन् कि भनेर अत्तालिने, समाजमा बोल्न डराउने । –पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडरः यो सबै भन्दा धेरै दुख दिने एन्जाइटिको प्रकार हो । यो डिसअडर भएको व्यक्तिलाई धेरै किसिमको समस्या हुन्छ । श्वासप्रश्वासमा समस्या हुन्छ, श्वास रोकिएको जस्तो हुन्छ र छटपटी बढेर म अब मरे भन्नि भ्रम हुन्छ तर यो कसैलाई १० देखि ३० मिनेटसम्म हुन्छ त कसैलाई १ घण्टासम्म हुन्छ र बिस्तारै सामान्य हुन्छ । कसैलाई मुटुको मुटुको धड्कन एक्कासी बढेर आउँछ र बिरामीले मलाई ह्रदयघात भयो भन्ने भ्रम हुन्छ । यदि समयमा अस्पताल नलगे बिरामीलाई अब म मरें, मेरो दिन यति नै रहेछ भन्ने भय, आतंक र त्रास हुन्छ । यस्ता बिरामीलाई अस्पतालमा चेकजाँच गरेपछि मुटुमा कुनै समस्या नभएको चिकित्सकले बताए पनि बिरामीले फिटिक्कै विश्वास गर्दैनन् । तर यस्ता बिरामी अस्पताल पुगेपछि आफैँ सामान्य हुन्छन् ।
                                                      अब घर फर्किदा फेरि यिनीहरूलाई फेरि मलाई यस्तो हुन्छ कि भनेर त्रास, अत्यास, भय हुन्छ । राती सुत्ने बेलामा पनि सुत्न गारो हुन्छ । राती पो मर्छु कि भन्ने भय उत्तिकै हुन्छ । कसैलाई शरीरमा खल–खली पसिना आउँछ, अनि उ निकै डराएको र तर्सेको अवस्थामा हुन्छ । कोही बिरामीलाई टाउको घुमेको र आँखा मिरमिर गरेर कुनै वस्तु नै नदेखेको अनि मुर्छा परे जस्तो हुन्छ । तर पेनिक आक्रमण केहि समय (१० मिनेटदेखि १ घण्टा) सम्म रहन्छ र बिस्तारै बिरामी सामान्य हुन्छ तर फेरि यस्तो आक्रमण पछिपछि दोहोरिन्छ । विशेष गरि बिरामीलाई मर्छु कि भन्ने अत्यधिक चिन्ता हुन्छ ।
– एगोरो–फोबिया (भिड भाडको डर लाग्ने)ः यो समस्या भएको व्यक्तिलाई भिड, सपिङ मल, खेलकुद मैदान आदिमा मलाई पेनिक आक्रमण हुन्छ । कि मलाई पेनिक आक्रमण भयोभने यहाँबाट कसरी निस्कनु ? मलाई अरुले अस्पताल लैजादैनन् कि भन्नि त्रास विकसित हुन्छ । यसैले यस्ता बिरामीले सपिङ, खेलकुद अथवा रमाईलोको कुनै मज्जा लिन सकिरहेको हुँदैनन् । कसैको सहयोग नपाई मर्छु कि भन्ने चिन्ता हुन्छ ।
– विशेष फोबियाः कुनै घटना अथवा कुनै वस्तु देख्ने बित्तिकै त्रास हुने कोही व्यक्तिलाई ह्रदयघात भयो भन्ने कुरा सुन्नी बित्तिकै आत्तालिनी र मलाई पनि हृदयघात भएर मर्छु कि भन्ने चिन्ता हुने । कुनै दुर्घटना हेर्न नसक्ने अथवा दुर्घटना भएर मान्छे मरे भनेको सुन्दा बेहोस होला–होला जस्तो हुने ।
डिप्रेसनका मुख्य लक्षणहरू
                   उदासी अथवा ग्लानी स्वभाव र मनस्थति, जति खेर पनि उदास भएर र दिक्क मानेर बस्ने । रमाईलो गर्ने आत्मबल नै नहुने र फिटिक्कै रमाईलो वातावरणमा बस्न नरुचाउने । कहिले धेरै भोक लाग्ने कहिले भोकनै नलाग्ने । कहिले निन्द्रा फिटिक्कै नलाग्ने कहिले धेरै निन्द्रा लाग्ने, उठ्नै नसक्ने । दैनिक गतिविधीहरूमा शुन्यता आउने, दैनिक काम कार्यहरु बिस्तारै गर्ने । शरीरमा बल, फुर्ती र शक्तिमा कमी आउने । आफूदेखि आफैँमा हिनताबोध हुने, आफुलाई आफू नै बेकारको र बोझ लाग्ने । एकाग्र हुन नसक्ने, मन ढुलिरहने, एकान्त मन पर्ने । जहिले पनि नकारात्मक सोच आउने, जे गर्दा पनि आफ्नो भविष्य अन्धकार मात्र देख्ने । प्रगति गर्न सक्दिन जस्तो मात्र लाग्ने । आत्महत्या गर्ने विचार मात्र आउने तर आत्महत्या गरि चाहिँ नहाल्ने, आत्महत्या गर्दा कस्तो होला भनेर धेरै सोचिरहने र अन्तिम अवस्थामा उपचार भएन भने आत्महत्या गर्ने ।
एन्जाइटि र डिप्रेसन कसरी थाहा पाउने ?
मुख्य बुझ्नुपर्ने कुरो के हो भन्दा कुनै एक प्रकारको एन्जाइटि विकसित भएर डिप्रेसन सुरू हुने हो । यी दुवै रोगको कारण प्रायः एकै हुन्छ । रोगको धेरै लक्षणहरू पनि उस्तै हुन्छ । यी दुवै रोग न्युरोट्रान्समिटर फंग्सन (काम) परिवर्तन हुँदा विकसित हुने हो । न्युरोट्रान्समिटर डिसअर्डर हुँदा सेरोटोनिंन भन्ने रसायनको कमी हुँदा यी रोगहरु विकसित हुन्छ । डोपामाईन र एपीन्याफ्रिन नामक रसायनको भूमिका पनि उत्तिकै हुन्छ एन्जाइटि र डिप्रेसन हुनको लागि । अब दुवै रोग एकै कारणले हुने हुदा लक्षणहरु उस्तै हुनु र एन्जाइटि हुँदा डिप्रेसन विकसित हुनु अनि डिप्रेसन हुँदा कुनै कुनै प्रकारको एन्जाइटि विकसित हुनु सामान्य नै हो ।
          तर एन्जाइटिको लक्षण देखिने बित्तिकै उपचार पद्वतीमा गएमा डिप्रेसनबाट सजिलै बच्न सकिन्छ । एन्जाइटि भएको व्यक्तिलाई सबभन्दा डर मर्नदेखि लाग्छ, जब एन्जाइटिले आक्रमण गर्छ अनि उसलाई भविष्यको चिन्ता हुन्छ । कतै म मर्छु कि ? कतै मलाई हृदयघात हुन्छ कि ? जीवनदेखि आश मरेको हुँदैन र मर्नदेखि अत्यधिक डर लाग्छ र एन्जाइटिले आक्रमण गर्ने बित्तिकै अस्पताल जान आग्रह गर्छ । बिरामीको यो प्रकृति अथवा स्वभाव एन्जाइटिले आक्रमण गरेको बेलामा मात्र देखा पर्छ र बिस्तारै यो १ घण्टा पछि आफैँ सामान्य हुन्छ ।
अर्को चोटी एन्जाइटिले आक्रमण नगर्नु जेल यस्तो समस्या देखा पर्दैन तर उसलाई पहिला परेको समस्याले चिन्तित बनाउँछ र बिस्तारै एन्जाइटिले आक्रमण नगर्दा पनि डिप्रेसनका सामान्य लक्षण सुरू हुन थाल्छ । ठिक विपरित डिप्रेसन भएको व्यक्तिलाई मर्नदेखि डर लाग्दैन, झन् आत्महत्या गर्न मन लाग्छ । जे गर्दा नि व्यक्तिले आफ्नो भविष्य अन्धकार मात्र देखिरहेको हुन्छ । सँधै नकारात्मक सोच मात्र आउँछ । यो समस्या डिप्रेसन भएको व्यक्तिलाई निरन्तर भइरहन्छ । एन्जाइटि जस्तो १० देखि १ घण्टासम्म मात्र लक्षण देखिने होइन कि निरन्तर आत्माग्लानी भइरहन्छ । अब करिब–करिब तपाईंले एन्जाइटि र डिप्रेसनको फरक पाइसक्नुभयो । अझ एक वाक्यमा भन्दा डिप्रेसन आफैँमा एन्जाइटिको विकसित रुप हो तर एन्जाइटि चाहिँ डिप्रेसन होइन । यसैले एन्जाइटि पहिचान गर्न सके डिप्रेसनको उपचार गर्नु पर्दैन र एन्जाइटिको मात्र उपचार गर्दा हुन्छ ।
एन्जाइटि र डिप्रेसनको उपचार पद्वती कस्तो हुन्छ ?
– तपाईलाई मनोरोगको शंका लागेमा मनोरोग विशेषज्ञलाई चेकजाँच गराउनु पर्छ । मनोरोग विशेषज्ञलाई आफूलाई भएको सम्पूर्ण रोगको लक्षण बताउनु पर्छ । तपाईको रोगको प्रकृति र लक्षण हेरेर तपाईंलाई उपचार पद्वतीको सिफारिस गरिन्छ.दुई प्रकारको उपचार पद्वती एन्जाइटि र डिप्रेसनको लागि उत्तम मानिएको छ ।

– साईकोथेरापी(मनोवैज्ञानीक तरिकाले मानसिक रोगको उपचार)ः यो पद्वती धेरै प्रकारको हुन्छ । मनोरोगीको अवस्था हेरेर कुन प्रविधि प्रभावकारी हुन्छ मनोरोग विशेषज्ञले पहिचान गर्छन् र मनोवैज्ञानिक तरिका अपनाएर तपाईंको मस्तिष्कमा भएको विकार अथवा नकारात्मक सोचको परिवर्तन गर्ने प्रयास हुन्छ ।
– मेडीकेसन (औषधी गर्ने काम)ः न्युरोट्रान्समिटर डिसअडरलाई सन्तुलित राख्न औषधि प्रयोग गर्ने प्रविधि मेडीकेसन हो । कुन औषधि कति मात्रामा दिने र कति समय दिने भन्ने कुरा मनोरोगीको अवस्था हेरेरे मनोरोग विशेषज्ञले औषधि रेफर गर्छन् ।
                   यी दुई पद्वतीबाहेक अरु पनि तरिकाहरू पनि हुन्छन् जसले एन्जाइटि र डिप्रेसनबाट मुक्त हुन केहि मात्रामा सहयोग हुन्छ । यो पद्वतीलाई जीवनशैलीमा परिवर्तन भनिन्छ । जस्तै तनाव कम (रिल्याक्स) गर्ने प्रविधि, योग गर्ने, श्वासप्रश्वास प्रक्रियाको अभ्यास गर्ने (लामो श्वास लिने, एकछिन रोक्ने र फ्याक्ने), आफ्नो परिवार र साथीलाई समय दिने र यो रोगको बारे खुलेर छलफल गर्ने, प्रात भ्रमण गर्ने, निरन्तर व्यायाम गर्ने, अल्कोहल, चुरोट, सुर्तीबाट टाढा बस्ने, कफी नपिउने, ग्रीनटी लिने, खेलकुदमा समय दिने, आफ्नो काम समयमा नै पुरा गर्ने । चिन्ता लिनबाट सकेसम्म बच्ने ।