पराम्परागत लोकबाजाप्रति युवापुस्ताको आर्कषण घट्दो

बागलुङ, १७ साउन – प्रविधिको विकास र आधुनिकता भित्रिएसँगै परम्परागत बाजाहरुको प्रयोग घट्दै गईरहेको छ । त्यसमा पनि युवापुस्ताको आकर्षण परम्परागत लोकबाजामा छैन् । पश्चिमा संस्कृतिको सिको गर्दै गाईने गीतहरुमा पश्चिमा शैलीकै बाजाहरु बज्छन् । युवा पुस्ताले चासो नदिएकै कारण परम्परागत लोकबाजा सुन्नै छोडिएको छ । परम्परागत लोकबाजा बजाउनेको समेत संकट नै छ । लोकबाजा संकटमा परेपछि बागलुङको जैमिनी नगरपालिका रहेको एक समुहले युवादेखि पाको उमेर समुहका पारखीलाई लोकबाजा प्रशिक्षण दिएको छ । ‘पुर्खाको नासो, जस्ताको तस्तै’ भन्ने ध्येयका साथ स्थापना भएको जैमिनी संकीर्तन समुहले पुराना लोकबाजा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्दै प्रशिक्षण चलाएको हो । एक साता लामो परम्परागत लोकबाजा प्रशिक्षणमा जैमिनी नगरका ३२ जनाले उत्साहपुर्ण सहभागिता जनाएका थिए । ‘हिजो हाम्रा पुर्खाले जे नासो छोडेर जानुभयो नयाँ पुस्तालाई सिकाउनु हाम्रो दायित्व हो’ संकीर्तन समुहका सदस्य नविनप्रताप जिसीले भने ‘लोक संस्कृति र लोकबजा हाम्रा मौलिक सम्पत्ति हुन्, जोगाउने प्रयास थालेका छौं ।’जीवनलाई सार्थक तुल्याउने माध्यम संगीत र त्यसमा पनि नेपाली लोक संगीत जनजनको प्राण भएकाले लोकबाजा सिकाउने अभियान थालिएको प्रशिक्षक तथा लोक बाद्यबाधक सुर्य घतानेले बताए । ‘अहिलेको युवा पुस्तामा लोक संस्कृतीको चाह छैन’ समुहका अध्यक्ष टेकबहादुर क्षेत्रीले भने ‘पुर्खाको नासो हस्तान्तरणका लागि युवामा भोक जगाउने अभियान थालेका छौं ।’ पुर्खाको सम्पत्तिको रुपमा रहेका लोकबाजा संरक्षण र प्रयोगमा युवा पुस्ताले चासो नदेखाए लोकबाजाको अस्तित्व नै लोप हुनसक्ने उनको धारणा थियो । बिशेषगरी लोकबाजा भनेर सारंगी, मादल, बाँसुरी, हार्मोनियम र तबलालाई बुझिने गरिन्छ । यो समुहले खैजडी र मुजुरालाई पनि लोकबाजासँगै जोडेर प्रशिक्षण दिएको छ ।