गाउँपालिका तहमा दिर्घकालिन गुरुयोजना

बागलुङ, १७ साउन – गाउँपालिका भित्र गरिने बिकासलाई दिगो बनाउन बडिगाड गाउँपालिकाले २५ बर्षे गुरुयोजना तयारी थालेको छ । सडक, खानेपानी,सिंचाई, अन्य पूर्वाधार र सामाजिक बिकासलाई दिगो र प्रभावकारी बनाउन गुरुयोजना बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । त्यसका लागि गाउँपालिकाले यातायात गुरुयोजना, पञ्चबर्षिय आवधिक योजना, मध्यकालिन खर्च संरचना र तत्कालिन योजना बनाउन चालु बर्षका लागि २५ लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको छ ।
        बिकासको नाउँमा जथाभावी सडक खन्ने र बर्षातमा पहिरो खस्ने खतरा बढेपछि गाउँपालिकाले यो अभियान ल्याएको हो । दिर्घकालिन योजना भयो भने गाउँपालिकाले गर्ने सबै बिकास गुरुयोजना तर्फ लक्षित हुने सुवेदीले बताए । गुरुयोजना बनाउने बिषयमा कार्यपालिकामा पनि छलफल भएको थियो । गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले पनि बिकास निर्माण र कृषि तथा पशुपालनको वृद्धि गरेर आत्मनिर्भर गाउँपालिका बनाउने लक्ष राखेको बताए । त्यसका लागि दिर्घकालिन योजना बनाएर सोही अनुसारको खर्च संरचना बनाउने सहमति अनुसार बजेट बिनियोजन गरिएको बताए । गाउँपालिकाले नीति र कार्यक्रम तथा बजेट मार्फत मानिस र प्रकृति सँगसँगै भन्ने नारा पनि तय गरेको छ । त्यस्तै वातावरण संरक्षण सहित संरचनाहरु निर्माण गर्ने, सबै मौषममा सवारी साधन चल्ने गरी सडकहरु निर्माण गर्ने, मुख्य सडक र शाखा सडकको बर्गिकरण गरेर पहिलो चरणमा मुख्य र क्रमश अन्य सडकलाई स्तरीय बनाउने योजना अगाडि सारेको हो । कृषि र पशुपालनका लागि भने गाउँपालिकाले पहिलो र मुख्य कार्यक्रम संचालन गरेको छ । त्यसका लागि डेढ करोड रुपैयाँ बजेट पनि बिनियोजन गरेको हो । उक्त बजेटबाट व्यवसायिक कृषि र पशुपालन गरेका किसानलाई अनुदान दिने तथा बिउ पूजि दिने कार्यक्रम बनाएको हो ।
        कृषि उत्पादनबाटै समृद्धि ल्याउने गाउँपालिकाको लक्ष समेत छ । त्यसका लागि ‘अध्यक्ष बिशेष कृषि तथा पशुबिकास कार्यक्रम’ संचालन गरेको हो । गत आर्थिक बर्षमै यो कार्यक्रमको कार्यविधि बनिसकेको छ । कार्यक्रममा सूचिकृतका लागि किसानलाई आब्हान समेत गरिएको छ । कृषिमा व्यवसायिक बन्नेलाई राम्रो अवसर र प्रेरणा दिने किसानले पनि बताएका छन् । ‘काम गरियो भने गाउँपालिकाले राहत र सेवा दिन्छ भन्ने भएको छ’ बडिगाड गाउँपालिका ४ हिराबहादुर पाईजाले भने, ‘पशु पालन गरे पनि राम्रो कमाई गर्न सकिन्छ ।’ उनले भेडा पालन व्यवसाय गर्ने योजना सुनाए । यो गाउँपालिकाको जलजला, रणसिंकिटेनी लगायनका गाउँमा व्यवसायिक रुपमा भेडा पाल्ने चलन छ । एक सय सम्म भेडा पालेका किसानलाई गाउँपालिकाले अनुदान दिने योजना पनि बनाएको छ । साथै उनीहरुलाई प्राविधिक सहयोग समेत नियमित रुपमा दिने अध्यक्ष मेहरसिंह पाईजाले बताए ।
         कृषिका लागि बिनियोजित बजेटबाट गाउँपालिकाले पहिलो चरणमा ऋण स्वरुप रकम दिने र क्रमश उनीहरुले गरेको कर्मको आधारमा मूल्यांकन भएपछि अनुदानमा परिणत हुने व्यवस्था छ । यसरी ऋण तथा अनुदान पाउनका लागि व्यक्तीगत, सहकारी वा समूह मार्फत काउन सक्ने प्रावधान राखिएको छ । पर्यटन प्रवद्र्धनका लागि भने गाउँपालिकाले होमस्टे स्थापनामा जोड दिने नीति लिएको छ । चालु बर्षदेखि एउटा एकीकृत नमूना बस्ती बनाउने र उक्त बस्तीमा होमस्टे संचालन गर्ने कार्यक्रम बनाइएको सुवेदी बताउँछन् । पर्यटन गुरुयोजनाका लागि पनि बजेट बिनियोजन छ । सुन्दर बडिगाडको व्यवस्थित बसोबास भन्ने नारा पनि गाउँपालिकाले तय गरेको हो । मध्यहाडीको क्षेत्र व्यवस्थापनका लागि बस्ती बिस्तार हुने स्थानमा मापदण्ड व्यवस्थापन गरिने, शिपको क्षेत्रमा दश दश जना प्रशिक्षक तयार गर्नका लागि सिप र भाषाका तालिम दिइएको उनले बताए । गत बर्ष गाउँपालिकाले मगर भाषा तालिम पनि चलाएको थियो । झण्डै ६ महिना चलेको तालिममा १५ जना प्रशिक्षककै रुपमा तयार भैसकेका छन् । उनीहरुले गाउँगाउँमा थप तालिम संचालन गर्न सक्ने भएका छन् । गुरुयोजनामा भने गण्डकी प्रदेशकै नमूना गाउँपालिका बनाउने लक्ष छ । ‘नमूना बन्ने लक्षले गुरुयोजना र बजेट ल्याएका हौं’ सुवेदीले भने, ‘त्यसका लागि आबस्यक छलफल गरेर बिषयगत तयारी गर्छौ ।’ दिर्घकालिन योजनालाई समय अनुकुल परिमार्जन गर्नका लागि मध्यकालिन खर्च संरचना शिर्षक समेत राखिएको हो । त्यस्ता शिर्षकमा बिनियोजित बजेटबाट समय समयमा अनुगमन मूल्यांकन र सुझाव दिने कार्यक्रम पनि तय गरिनेछ ।