पवित्र मन्दिरमा दक्षिणा माग्ने साधुसन्त हटाउन मिल्छ ?

आफ्नो लेखन यात्रा सुरु भएको ढोरपाटन दैनिकमा लामो समयपछि यो लेख पुरानै स्तम्भ मार्फत पस्केको छु । कर्मथलो काठमाण्डौ भए पश्चात स्थानीय सरोकारका बिषयमा चाहेर पनि अपडेट हुन गाह्रो छ । तर विगतमा पाठकहरुले गर्नुभएको माया सदैव मार्गदर्शनको रुपमा लिने गरेको छु । लेखनलाई नै मूख्य पेशा बनाएको सन्दर्भमा लेख्नु मेरो बाध्यता पनि हो । र आलोचना सहनु, गालीगलौज खेप्नु, रिसीबी कमाउनु पनि मेरो बाध्यता हो । तर यो बाध्यतालाई म आफैले निम्ताएको हुँ । आजभोली प्रायः ठुलाबडाहरुको, सुकिला मुकिलाहरुको गुणगानका समाचारहरु देख्न, पढ्न पाईन्छ । पावर र पहुँच हुनेहरुको कर्तुतलाई उजागर गर्न समस्या छ । तिनैको रोटी र चिया खानु छ । यसो हुँदा गारो छ । तर मलाई कालिका मन्दिरमा दक्षिणाको अपेक्षा गरेर बस्ने ऋषी मन भएका साधुसन्त वा सजिलो भाषामा जोगीहरुको पक्षमा केही विचार राख्न मन लाग्यो । यो फगत विचारका लागि मात्र विचार प्रकट भएको हो । कसैले अनुसरण गर्नुपर्छ, मान्नुपर्छ भन्ने हैन ।
                          कलिका मन्दिर जाँदा हमेसा २० रुपैयाँ दक्षिणा दिएर ढोग गर्ने ति बाबा अब त्यहाँ हुने छैनन् । विचरा ति बाबालाई झिटी–झाम्टो बोकाएर राजु खड्का ईतरका मानिसहरुले लखेटेका छन् । बडो बहादुरी प्रदर्शन गरेका छन् । राजुले भनेपछि सिडियोले नमान्ने कुरा हुन्छ ? पुलिसको हाकिमले नसुन्ने कुरा हुन्छ ? त्यस्तो त हुँदैन । बाबा सन्याशीलाई पाता कसेर लेखेट्ने राजुको अभियानमा साहेबहरुले साथ दिए । पत्रकारहरुले त साथ दिने नै भए । बेलाबेला प्रसाद ग्रहण गर्न र पुरस्कार थाप्नु जो छ । यसो अबिर दल्नु, माला लगाउनु, आसन ग्रहण गरेर भाषण गर्नु, खादा ओढ्नु, कदर पत्र पाउनु जो छ । अनि खाममा दुई चार हजार पाउनुको अर्थ पनि जो छ । यी सबै अर्थहरुको बीचमा जोगी हुनुको अर्थ चाँही हुँदैन होला ? बाबा सन्यासी हुनुको, निधारमा खरानी धसेर जय शम्भु ! भन्दै भगवानको नाम जप्नुको अर्थ चाँही छैन ?
               म आफू हिन्दुबादी मनुस्मृती चिन्तनको आलोचक भैकन पनि खासगरी घरबार नै त्यागेर ऋषी मनका साथ लोभपाप, स्वार्थ भूलेर फिरन्ते जीवन बिताईरहेकाहरुलाई निकै आदार सत्कार गर्छु । एक हिसाबले भन्ने हो भने प्रेम गर्छु । नभए मलाई जोगीहरुको बारेमा लेख्न किन खसखस हुनु ? वास्तवमा मनमा पाप नभएकाहरु नै जोगीहरुको पक्षमा लेख्न सक्छन् । हुनतः यो सबैका ठुलो परिघटना त हैन । तर मेरा लागि हो । किनभने घरबार त्यागेर मन्दिरको आसपासमा बस्ने असहायहरुको पनि आफ्नै महाभारत हुन्छ । मुनामदन हुन्छ । म तिनको संवेदनालाई पनि कम आँकलन गर्दिन । भारतको जम्मूकाश्मिर पहाडमा रहेको वैश्णदेवीको मन्दिरदेखि सुदुरपश्चिमको खप्तड क्षेत्रमा रहेको खप्तड बाबाको कुटीसम्म पुगेको छु । र ति पवित्रधामको आसपासमा बसेका ऋषीहरु, जोगी बाबाहरुलाई कम्तिमा २० रुपैयाँ दक्षिणा दिन भुलेको छैन । तर अब कालिका मन्दिरमा जोगीहरुलाई, बाबाहरुलाई दक्षिणा दिने परम्पराको समुल अन्त्य भएको छ । सदियौदेखी चलिआएको परम्परामाथि ब्रेक लागेको छ । आखिर किन ?
कहिलेकाँही लोकप्रियता कमाउने नाममा यस्ता हर्कतहरु हुने गर्छन् । अधिकांश मानिसहरु दिन दुखीहरुलाई घृणा गर्छन् । जोगी किन हुन्छन् र ति मन्दिर नजिकै नै किन बस्छन् भन्ने धार्मिक, ऐतिहासिक, साँस्कृतिक मान्यता ति बुझ्दैनन् । हुनतः एउटै परेवाको जोडी सय पटकसम्म बेच्ने, बली दिएका बोकाका टाउको ब्यारेकदेखी रिसोर्टका बगरसम्म पुराउने, चाकडी गर्न धेरै टाढा–टाढासम्म कोसेली पठाउनेहरुले निधारमा खरानी धसेर बसेको बाबजीको ऋषि मन जान्दैनन् । चेलीबेटी बेच्न आतुर झै बसेको दलालहरु ग्रहदशा टार्ने नाममा मन्दिर प्रदुषण गरेको ति देख्दैनन्, तर साधुसन्त मन्दिरको गेट नजिकै बसेको ति देखिसहदैनन् । मानौ कि मन्दिर अन्नपूर्ण होटल हो र यो अन्नपूर्ण होटलमा यस्ता मगन्तेहरु देखिनु लाज हुन्छ ।
पर्यटनको नाममा मन्दिरलाई लाखौ सहयोग भएको छ । यो पनि मागेकै त हो । वास्तवमा मन्दिर आफै सक्षम नहुने भन्ने हुँदैन । अहिले सम्मको मन्दिरको आयश्रोत खै कहाँ छ ? के मा प्रयोग भयो ? अहिले जो परिवर्तन देखिएको भनिएको छ, वास्तवमा त्यस्तो घढघडान परिवर्तन केही भएको छैन । र हुनु पनि आवश्यक छैन । किनभने सेवा सुविधा हुनका लागि मन्दिर होटल हैन । चिटिक्क देखाउनका लागि मन्दिर विमानस्थल हैन । घार्मिक क्षेत्रलाई धेरै कल्पनामा उतारेर त्यसको संरचना बदल्नु आवश्यक पनि छैन । धर्म भनेको फिक्सन, ननफिक्सन हैन । आस्थाको धरोहर जे छ, त्यो जहिल्यै पनि ठिकै हुन्छ । भौतिक पुर्वघार निर्माणको नाममा भ्रष्टाचार त भैरहेको छैन ? त्यो पनि सोचनिय बिषय हो ।
                कुरा के हो भने, बागलुङ जिल्लाका सिडियो, प्रहरी प्रमुख, केही पत्रकारहरु, मन्दिर संचालक समितिका अध्यक्ष र आफूलाई जिल्लाकै हर्ताकर्ताको पगरी गुथाउने केही मनुष्यहरुले कालिका भगवती मन्दिर परिसरको मूख्य स्थानभन्दा घेरै मिटर यता प्रवेशद्वारको आसपासमा रहेका केही साधुसन्त, जोगीहरु, ऋषी मुनीका विचार बोकेका केही ऋषी मनहरु र असायहरुलाई हटाएर निकै ठुलो बहादुरी प्रर्दशन गरेका छन् । मानौ कि उनीहरुले कुनै दोश्रो विश्वयुद्धको सफल विजय पश्चात एकप्रकारको उत्सव मनाईरहेका छन् ।
                पहिलो कुरा त कालिका भगवती मन्दिर कसैको बाउको बिर्ता हैन । यो ऐतिहासिक, धार्मिक सम्पदा हो । कालिका मन्दिरको चरणमा जो कोहीलाई पनि शिर झुकाउने अधिकार छ । र, सन्त महासन्तहरु, ऋषीमुनी विचार भएका जोगीहरु यस्तै मन्दिरको आसपासमा बस्ने, प्रसाद खाने, ध्यान गर्ने, जप गर्ने यो पनि ऐतिहासिक परम्परा हो । र यो समाज शास्त्रीय परिघटना हो । त्यहाँ बस्नेहरु केही असाहाय होलान, कोही पेशेवर मगन्ते नै होलान, त्यो सुधार गर्नुपर्ने पाटो रह्यो । तर मुल त जोगीहरुलाई मन्दिर आसपासमा दक्षिणाको अपेक्षा गरेर बस्ने अधिकार छ । जति अधिकार मन्दिरको छेउमा टपरी थापेर ब्रहमाहणहरु कुनै मुर्गाको पर्खाईमा बसिरहेका हुन्छन्, त्यो भन्दा घेरै अधिकार स्वदान, स्वचन्दाको अपेक्षा गरेक बसिरहेका ऋषी मनहरुलाई हुन्छ ।
मन्दिर भनेको के हो ? होटल हो ? मन्दिर भनेको गेष्ट हाउस हो ? वा कुनै नाम चलेको रेष्टुरेन्ट हो ? कालिका मन्दिर कस्तो प्याटेन्ट राईट हो ? कस्का लागि र किन चाहियो कालिका मन्दिर शान्त वातावरणको जोगीरहित ? जोगी बिनाको, ऋषीमुनी विचार बिनाको कालिका मन्दिर किन चाहियो ? कसलाई एकदमै आराम गर्नुपरेको छ ? के जोगीहरु खान लगाउन नपाएर नै फिरन्ते मगन्ते भएक हिड्छन् भन्ने धर्मशास्त्र छ त ? कि जोगीहरु होटलमा, कुनै सडकको चोकमा, बसपार्कमा पैसा मागेर बस्नुपर्ने हो ? एउटा कुरा के बुझौ भने तिनीहरु कसैका घरका आँगनमा बसेर दक्षिणा मागिरहेका छैनन् । तिनीहरु कालिका भगवती मन्दिरको आसपासमा बसिरहेका छन्, जो सयौ बर्षदेखी कै प्रचलन हो ।
                 मन्दिर संचालन समितीका मानिसहरुलाई अलिकती मात चढेजस्तो छ । उनको काम एकहद सम्म सही नै देखिन्छ । तर पारदर्शिताका केही सन्दर्भहरु बाँकी नै छन् । पत्रकारलाई पुरुस्कार दिएर कर्तुतहरु लुक्दैनन् बरु खुल्छन् । जोगीहरु असाहायहरु हटाउने पनि कर्तुत नै हो । अब रह्यो तिनको व्यपवस्थापनको कुरा । तिनको ब्यवस्थापन कसैले गर्नुपर्दैन । यो कसैको ठेकेदारी हैन । जोगीहरु, ऋषीमुनीहरु कुनै प्लस टु पढ्ने विद्यार्थी जस्तो होस्टेलमा बस्ने पनि हैनन् । तिनको कर्म नै मन्दिरको आँगन हो । तिनको सपना विपना नै मन्दिरको छत्रछायाँ हो ।
मन्दिरमा पुजा गर्नेहरुको दान गर्ने चाहना हुन्छ । खासगरी हिन्दुहरुको हरेक धर्मस्थलमा असहायहरु बसेका हुन्छन् । दान दक्षिणा गरेर पुण्य कमाउने हिन्दुबादी फिलोसफी नै हो । देश विदेशबाट आएका भक्तजनहरुले तिनलाई दुई चार रुपैयाँ सहयोग गर्छन्, दुई चार माना चामल दिन्छन् भने त्यो कुन आपत विपतको कुरा भयो ? शुक्रबारदेखि कालिका मन्दिर क्षेत्र माग्न बस्नेसहित माग्न रोकेको र यसबाट पर्ने असुबिधाप्रति केही मानिसहरुले क्षमा मागेका छन् । कसलाई किन मागेका हुन् क्षमा ? किन मागेका हुन् ? के तिमीहरु हरिद्वारका पिठाधिसहरु हुन् ? के उनीहरु महान् दार्शनिक हुन् ? के त्यो कालिका मन्दिरको परिसर तिनको निजी सम्पती हो ? अनि सिडीयो र प्रहरी प्रमुखको काम जता–जता बाहुन त्यता–त्यता स्वाह भन्दै हिँड्ने मात्रै हो ?
                 मानव सेवा आश्रम परिवारको जो सहयोगी कुरा छ, तिनको क्षेत्रअधिकार के हो । हो मानव सेवा गर्ने होला । ठिक छ, तर तिनले जोगीको सेवा गर्नुपर्दैन । ऋषीमनहरुको सेवा धार्मिक स्थलहरुले गर्ने ऐतिहाँसिक प्रचलन हो । उनीहरुले दुःख पाएका सहाराबिहीनहरुलाई सेवा दिन सक्छन् । तर मन्दिरको शोभा घट्यो, फोहोर भयो, हल्लाखल्ला भयो, भक्तजनलाई शान्त वातावरण भएन जस्ता मित्था भावनाहरुमा बहकिएर जोगी तथा साधुसन्तहरुको ब्यवस्थापन आवश्यक छैन । साधुसन्तहरु मन्दिर आसपास दक्षिणाको अपेÞक्षा गरेर बस्ने ऐतिहासिक प्रचलन हो । यो प्रचलन जारी रहनुपर्छ ।
(लेखक निसानी अवदेखि यसै स्तम्भमार्फत हरेक आइतवार नियमित आउनेछन ।)