सक्कली साधु र असहायको सेवा, ब्यभिचारीलाई दण्ड !

बागलुङ कालिका मन्दिर परिसरमा बसेर माग्नेहरुलाई उद्दार गरिएको छ । प्रष्ट भाषामा भन्दा अशक्तहरुलाई मानव सेवा आश्रमको जिम्मा लगाइएको छ भने मन्दिर परिसरमा माग्ने कामलाई निरुत्साहित गरिएको छ । मानव सेवा आश्रम र कालिका मन्दिर व्यवस्थापन समितिको संयुक्त प्रयासमा स्थानीय प्रशासनले सहयोग गरेको छ । मन्दिरमा आश्रित भएर कोही बाँच्न नपरोस् र अशक्तहरुको जीवनयापन मागेर नै नहोस भने उदेश्ये यो अभियान थालिएको हो । मन्दिर परिसरमा मागेर बस्ने अशक्तहरुको जीवनयापनमा मन्दिर व्यवस्थापन समितिले सघाउने भएको छ । यो सह्रानीय पक्ष हो । मन्दिरको प्रवेशद्धारदेखि नै मगेन्तेहरुको भीड लाग्दा मन्दिरमा जाने भक्तजनलाई पर्ने अप्ठेरो छ छँदै थियो, मन्दिरको सौन्दर्यमा पनि असर पुगेको थियो । कम्तिमा कालिका मन्दिर परिसरमा गरिएको यो व्यवस्थापनले अब मन्दिर मगन्तेविहीन हुने आशा पलाएको छ । भक्तजनहरुलाई सुविस्ता पुग्ने देखिएको छ । अर्कोतर्फ जो विभिन्न कारणले अशक्त र असहाय बनेकाहरुको उद्दारले मानवीय संवेदना पनि झल्किएको छ । मन्दिर व्यवस्थापनले यो कार्यलाई निरन्तरता देओस् अनि बागलुङलाई सडक आश्रितविहीन बनाउन सफलता मिलोस् !

तर मन्दिरमा यस्तो सह्रानीय कार्य भइरहँदा धर्मको नाममा खडा भएका नक्कली साधुहरुप्रति पनि संवेदनशील र कठोर बन्नुपर्ने देखिएको छ । किनकि, धर्मको नाममा यतिबेला नक्कली साधुको बिगबिगी जो छ ! खुबै चल्तिको गीत हो, ‘मन थिएन जोगी बन्नलाई …. ।’ सांसारिक जीवनबाट विरक्तिएकाहरुलाई जोगी भनिन्छ । उनीहरु सन्यस्त्र हुन्छ् । सिद्धजोगीहरुलाई संसारको लोभ हुँदैन । त्यसैले जोगीको जात हुँदैन । उनीहरु आम मानिसको चाहभन्दा माथि उठेका हुन्छन् । सिद्धपुरुष÷महिलाहरु आम मानिसको दैनन्दिन जीवन बाँच्दैनन् । जहाँ जे पाइन्छ, त्यही खान्छन्, परमात्मामा लीन हुन्छन् । त्यसैले उनीहरु समाजमा पूज्य हुन्छन् । पूज्यहरुलाई पूजा गर्नेहरुले रक्षा गर्छन् । जोगीहरुको यही पवित्रतालाई यतिबेला बदनाम् बनाउन खोजिएको छ । शहरदेखि गाउँसम्म जोगीको नाममा भोगीहरुको बिगबिगी छ । जोगीको नामका भोगीहरु जहाँ पनि हात पसार्ने र जोसँग पनि मागेर हिँड्ने गरेका छन् । उनीहरुसँग जोगीमा हुनुपर्ने कुनै गुण छैन । उनीहरु जोगी हुन लायक पनि छैनन्, जोगीको आचरणमा नबस्नेहरुलाई दान दिनु भनेको जोगीको अपमान गर्नु मात्रै होइन,आफ्नो पनि अपमान हो । नक्कली जोगी नामधारीले गरेका कुकृत्यहरु पनि बाहिर आएका छन् । ती कुकृत्यहरुको अनुसन्धान हुनुपर्छ ।

नेपालमा मठाधीशदेखि धर्मको नाममा आडम्बर मच्चाउनेहरुले गरेका फेहरिस्तबारे सार्वजनिक चर्चा भए पनि उनीहरु कारवाहीको दायरामा आएका छैनन् । कतिपयले सार्वजनिक जग्गा हडपेका छन्, कतिपयहरु बलात्कार र हत्याको आरोपित छन् । केहीले मानव तस्करको काम गरेका गुनासा सुनिन्छन् भने केहीले धर्मको नाममा लुट मच्चाएका घटना पनि रहेका छन् । यी र यस्ता धर्मको नाममा ठगी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनु राज्यको कर्तव्य हो । राज्य निरीह बन्दा नै धर्मको नाममा आडम्बर देखाउने पाखण्डीहरुको धन्दा फस्टाएको हो । भारतमा पनि यस्ता घटनाहरु हुँदै आएका छन् । आशाराम नामक एक ठगले गरेका कुकृत्य सार्वजनिक भएसँगै उनी जेलमा छन् । धर्म संवेदनशील विषय हो । जो कोही र राज्य स्वयं पनि धर्म जोडिएको विषयसँग जोडिन चाहँदैन । अझ, राजनीतिक नेताहरु त धर्मकै आडमा शक्ति आर्जन गर्ने दौडमा रहेका हुन्छन् । यही कारण धर्मको आडमा कुकृत्य गर्ने पाखण्डीहरु खुलेआम आफ्नो धन्दा चलाउँछन् । यो संवेदनशील विषयमा राज्य अब चनाखो बन्नैपर्छ । धर्मको आडमा हुने हरेक गलत क्रियाकलापविरुद्ध राज्य कडा रुपले प्रस्तुत हुनैपर्छ ।