कालिका मन्दिर मगन्तेरहीत क्षेत्र १

सरकारले भिख माग्नेहरुलाई कानुनी रूपमा अपराध मानेपछि यसलाई ब्यवहारिक रूपमा हटाउने तयारी भइरहेको छ । यतिबेला भिख माग्ने, होहल्ला गर्ने मान्छेलाई साँच्चिकै नियन्त्रण गर्नुपर्ने माग चौतर्फी रूपमा बढेपछि बागलुङको प्रशिद्ध कालिका भगवती मन्दिर वरिपरि बसेर भिख माग्दै आएका मगन्तेहरूलाइ हटाउने काम गरिएको छ । मन्दिर परिसरमा रहँदै भिख माग्दै आएका जोगी–सन्यासी लगायतका ब्यक्तिहरूलाई हटाएपछि सकारात्मक र नकारात्मक प्रतिक्रिया आउन शुरू गरेको छ । समाजमा रहेका अधिकांश व्यक्तिहरूले यसलाई सकारात्मक कदम भनेर प्रशंसा गरेका छन् । यतिबेला कालिका मन्दिर परिसरमा नयाँ तरङ्ग छाएको छ । मन्दिरमा पूजा गर्न आउने भक्तजन, मन्दिर घुम्न आउने धार्मिक पर्यटकले अब भने ढुक्कसँग आवत जावत गर्न पाउने भएका छन् । साँच्चै मन्दिर भनेको पवित्र हुन्छ । मन्दिरमा त्यहीँ अनुसारको वातावरण भयो भने मात्रै यहाँ आउने भक्तजन खुशी भएर जानेछन् । नेपालकै प्रशिद्ध धार्मिक शक्तिपीठको रूपमा रहेको कालिका भगवती मन्दिरमा दैनिक रूपमा सयौंँ भक्तजन पूजा गर्न आउँछन् । जब पुजाको थाली लिएर गेटबाट प्रवेश गर्छन् तब शुरू हुन्थ्यो त्यहाँ मगन्तेहरूको खेल । शुरू गेटबाटै पूजा गर्न मन्दिरमा जाँदै गरेका भक्तजन संग माग्न शुरू गरिन्थ्यो । ‘मन्दिर परिसरमा कोही पनि मगन्ते बस्न दिन्नौँ’, उक्त मन्दिर गुठीका अध्यक्ष राजु खड्काले भन्नुभयो,‘नक्कली साधु बढी छन्, विकृति मौलाएको छ ।’,लागूऔषध सेवन गर्ने र भक्तजनलाई दुव्र्यवहार गर्नेजस्ता क्रियाकलाप बढेपछि मन्दिरबाट उनीहरूलाई हटाइएको हो ।

साँच्चै मन्दिरको शोभा भनेको सन्त–महन्त र जोगी सन्यासी हुन् नै । हिन्दु धर्म बुझेका मान्छेले यसरी नै लिने गरेका छन् । तर, कालिका मन्दिरमा केही समयदेखि विकृति ह्वात्तै बढेर गएको छ । कालिका भगवती गुठी ब्यवस्थापन समितिले आज जुन खालको साहस गरेको छ यसलाई सबैले स्वागत गर्न जरुरी छ जस्तो लाग्छ । कालिका भगवती गुठी व्यबस्थापन समिति, मानव सेवा आश्रम, बागलुङ प्रहरी प्रशासनको समझदारीमा वर्षाैँदेखि मन्दिर परिसरमा बसेर भिख माग्ने मगन्तेहरूलाई त्यहाँबाट हटाएर मानव सेवा आश्रममा ब्यवस्थित रूपमा राख्ने सहमति भएको छ । जुन स्वागतयोग्य काम हो भन्ने लाग्छ । कालिका भगवती गुठी ब्यबस्थापन समिति र स्थानीय प्रहरी प्रशासनले जुनखालको साहस गरेर देखाए, यसलाई निरन्तरता दिन जरुरी छ । जब हामीले कुनै अभियान थालनी गर्छौँ भने त्यसलाई निरन्तरता दिन जरुरी छ । जबसम्म हामीले त्यो काम गर्न सक्दैनौं तबसम्म केही परिवर्तन हुनेवाला छैन । बाहिर बाट हेर्दा खेरि मन्दिर परिसरमा पनि जोगी सन्यासी लाई प्रतिबन्ध लगाउन मिल्छ भनेर टीका टिप्पणी भइरहेको छ । साँच्चै मन्दिरमा अहिले भइरहेको उनीहरूले गर्ने व्यवहार सबैलाई हेर्ने हो भने यो काम आज भन्दा ५ बर्ष अगाडि गर्नुपर्ने रहेछ भन्ने लाग्छ । ढिलै भए पनि राम्रो कामको शुरूवात भएको छ । यसको लागि बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री कालिका भगवती गुठी ब्यबस्थापन समिति र मानव सेवा आश्रमलाई धन्यवाद दिनु पर्छ । नेपाल कै चर्चित धार्मिक गन्तव्यको रूपमा रहेको कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्न आउने भक्तजनलाई जबर्जस्ती रूपमा पैसा माग्ने नदिए मनपरि ढंगले प्रस्तुत भएको कारणले पनि हटाउन बाध्यता सृजना भएको हो । जोगी सन्यासीहरु आफ्नो आचरणमा बस्ने गरेको भए आज यो अबस्था आउने थिएन जस्तो लाग्छ ।मानव सेवा आश्रम समाजमा कोही पनि नभएका मान्छेलाई आश्रय दिने उदेश्यले स्थापना भएको हो अहिले सबैको सल्लाह सुझाव अनुसार आश्रममा राख्ने काम गरेको छ मानव सेवा आश्रम यसैको लागि स्थापना भएको संस्था हो ।

भगवती मन्दिर परिसरमा रहेका मगन्ते जसले माग्नुलाई पेशा बनाएका थिए, उनीहरु भने आश्रममा बस्न चाहेनन् । जसलाई बस्ने ब्यबस्थापनको लागि गुठीले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साँच्चै माग्ने नियन्त्रणको काम काठमाडौँको पशुपतिनाथ बाट शुरूवात गरियो ।त्यो राम्रो कामको अनुसरण बागलुङमा पनि गरियो यसलाई एक दुई दिन हैन निरन्तरता दिदै अगाडि बढ्नुपर्छ । तबमात्र हामीले खोजेको लक्ष पूरा गर्न सकिनेछ । साँच्चै मन्दिरलाई मन्दिर जस्तो पबित्र बनाउन सकेको खण्डमा मात्रै मन्दिरको आस्था बढ्ने छ । नेपाल सरकारले सडक बसेर भिख माग्नु कानुनी रूपमा अबैध घोषणा गरेको भए पनि बागलुङमा भने कतिपय मान्छेले माग्ने लाई पेशाको रूपमा लिदै आएका छन् । मन्दिर परिसरमा जोगी सन्यासीले मदिरा सेवन गरी हल्ला गर्ने ,त्रिशूल हानाहान गर्दा मन्दिरको वातावरण बिग्रेको थियोे । भक्तजनको सल्लाह सुझावलाई मध्यनजर गरेर नै प्रहरी प्रशासन मन्दिर ब्यबस्थापन समिति र मानव सेवा आश्रम मिलेर यो कदम उठाएका हो अब कदम बाट पछि हट्न हुँदैन । अहिले भएको कामलाई बागलुङबासीले सकारात्मक काम भनी प्रसंसा गरेका छन् ।