अबका कार्यक्रम गरिब लक्षित हुन्छन्

बागलुङको दुर्गम क्षेत्र भनेर चिनिने निसीखोला गाउँपालिकाका सबै वडा अहिले सडक संजालसंग जोडिएका छन् । मध्यपहाडी लोकमार्गले फन्को मारेको गाउँपालिकाको आर्थिक विकासको आधार सडक बन्न थालेको छ । निसीखोलामा जनप्रतिनिधि आएपछि सर्वसाधारणले सुबिधाभोग गर्नेगरी काम त भएका छैनन् तर आफ्ना दुखेसो र गुनासो बिसाउने चौतारी पाएका छन् । कृषि र पशुपालनका लागि उपयुक्त कयौं ठाउँ रहेको गाउँपालिकाले कर्मकाण्डी मात्रै होईन त्योभन्दा बाहिर निस्केर काम गर्ने प्रयास थालेको छ । प्रस्तुत छ जनप्रतिनिधि आएपछि निसीखोला गाउँपालिकामा आएको परिवर्तनको बिषयमा सहकर्मी तारानाथ आचार्यले निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलसँग गरेको छोटो कुराकानी ।

दुई बर्षको समयमा के के गर्नुभयो निसीको विकासका लागि ?

–शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा पूर्वाधार विकासका काम भएका छन्, कृषि लगायतका क्षेत्रमा काम गरिएको छ । कृषि क्षेत्रलाई तल्लो तहका नागरिकसम्म व्यवसायीक बनाउने प्रयासमा हामी लागेका छौं । सोही अनुसारका काम भएका छन् । शिक्षा स्वास्थ्यमा पूर्वाधार निर्माणदेखि रिक्त दरबन्दीमा पदपुर्ति गराउन पहलको काम भएका छन् ।

देखिने गरी केही काम भएनन् भन्ने छ नि ?

–होईन हामीले दुई बर्षमा स्वास्थ्य क्षेत्रमा धेरै काम देखिने गरी गरेका छौं । आधाभूत तहको स्वास्थ्य सेवा नपाएका ठाउँमा पुगेर हामीले स्वास्थ्य शिविर चलाएका छौं । विद्यालय छन्, दरबन्दी छैनन् । सरकारको लक्षपनि सबै बालबालिका विद्यालय जाउन भन्ने हो । त्यस्ता विद्यालयमा गाउँपालिकाको तहबाट शिक्षकको व्यवस्था गरेको भएपनि पठनपाठनमा सहजता प्रदान गरेका छौं । गाउँलेले खर्च उठाएर चलाएका विद्यालयमा रहेका समस्या समाधानका लागि देखिने गरी काम गरेका छौं । विद्यालय भवन, शौचालय निर्माण, खेलकुद मैदान, खानेपानी घेराबारको काम गरेका छौं । हाम्रो कार्यकालभित्र विद्यालयका सबै पूर्वाधारका काम सक्नेगरी लागिरहेका छौं ।

आधारभूत तहको खानेपानी दिन्छौं भन्नुभएको थियो खै त ?

–हाम्रो गाउँपालिकामा खानेपानीको त्यति ठुलो समस्या छैन् । आधारभुत तहको खानेपानी नै नभएका कारण समस्या भोगेको भन्ने मैले सुनेको छैन् । खानेपानीलाई व्यवस्थित गर्नका लागि नेपाल सरकार, नेवा र पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना सँगको सहकार्यमा काम भैरहेका छन् । पानी व्यवस्थित गर्नुपर्ने काम छ तर पानीनै नभएको भन्ने चाहिँ नहोला । केही पुराना योजनाको मुल सुक्यो भन्ने कुरा आएको छ । तिनलाई पनि व्यवस्थित गरेर आगामी एक बर्षभित्र सबैका घरमा आधारभूत तहको खानेपानी पु¥याउने लक्ष छ ।

जनतालाई सन्तुष्ट बनाउनुभएको छ ?

–सन्तुष्ट, असन्तुष्ट भन्ने बिषयमा हामीलाई जानकारी हुने कुरा भएन । किनभने हामीलाई अहिलेसम्म यो भएन, त्यो भएन भनेर आउनुभएको छैन् । जे होस हामीले अहिलेसम्म हामीसँग भएको सानो पूँजीलाई जनताको आकांक्षा अनुसार सबैकुरा पुरा नभएपनि अलिकती अगाडि बढ्ने गरी काम भएकाले जनताबाट त्यस्तो नराम्रो सुनेको छैन् ।

निर्वाचनका बेला गरेका प्रतिबद्धता बिर्सिनु भो, गाउँ फर्केरै जानुहुन्न भन्ने गुनासो रहेछ नि ?

–हाम्रो गाउँपालिका त्यस्तो भए जस्तो लाग्दैन । निर्वाचनका बेला हामीले भनेका कुरा शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि उन्नतीका कुराहरु हुन् । कृषिमा पनि पूर्वाधारले बाटोघाटो नपुगेका कारण समस्या थियो । अबको कार्यक्रमहरु कृषि लक्षित हुन्छन् । छोटो समयमा निर्वाचनको कार्यक्रम सम्पन्न भएकाले मैले जुन पार्टीबाट उम्मेदवारी दिएको थिएँ, उहीँ पार्टीको केन्द्रिय कमिटीले बनाएको प्रतिबद्धता नै हामीले हाम्रो प्रतिवद्धता तथा घोषणा पत्रको रुपमा प्रस्तुत गरेका हौं । हामीले हाम्रो परिवेश अनुसारका कार्यक्रम बनाएर काम गरेका छौं । मध्यपहाडी लोकमार्गले हामीलाई सहज बनाएको छ । सडकको प्रतिवद्धता पुरा गर्न मध्यपहाडीले सघायो हामीलाई सजिलो भयो ।

निसीखोलामा बाह्रै महिना सवारी चल्ने वातावरण कहिले बन्छ ?

–केही टोलमा सडक पुग्न बाँकी छ । आगामी दिनमा पहिलो प्राथमिकता ती टोलमा सडक पु¥याउने हुन्छ । त्यसपछि हामीले तिनै सडकको स्तरोन्नती गरेर बाह्रै महिना सवारी चल्ने बनाउँछौं । मध्यपहाडी लोकमार्गको हामीलाई कुनै समस्या भएन । हाम्रा अधिकांश बस्तीलाई यहि राजमार्गले जोड्ने भएकाले केही सजिलो छ । गाउँघरका बाटोहरु त्यती धेरै छैनन् । टोल–टोलमा एक÷एक वटा बाटो पुगेको हुनाले त्यसको स्तरोन्नती गर्न पनि आगामी दिनमा हामीलाई सहजै हुन्छ भन्ने छ ।

पालिकाको कार्यालय भवन नभएर भाडाको घर पनि राम्रो नभएकाले सेवा प्रवाहमा समस्या रहेछ, कहिलेसम्म बन्छ भवन ?

–यो कुरा के हो भने सबैको सहजताका लागि सर्वदलिय बैठकबाट पालिकाको केन्द्र यहिँ भो । यहाँ पालिकाको केन्द्र बनाउँदा जे उपलव्ध थियो त्यसैमा काम चलाईयो । पालिकाको भवनका लागि हामी कसरतमै छौं । जग्गा खोज्ने क्रममा हामीले साढे दश रोपनी जग्गा पाएका छौं निशुल्क रुपमा । त्यहाँ भवन बनाउने काम सुरु भएको छ । पहिले पनि हामी दुर्गममा दुःख पाएर बसेका हौं । अहिले पनि कार्यालयलाई भवनको दुःख छ भनेर सेवा दिने क्रममा जनतालाई केही गुनासो गर्ने ठाउँ राखेका छैनौं । हिलो, धुलो खाएरै भएपनि हामीले जनतालाई सेवा दिएका छौं ।

उद्घाटन र तालिमले हजुरहरु व्यस्त हँुदा कार्यालयमा भेटिनुहुन्न भन्ने गुनासो रहेछ ?

–त्यो समस्या छ । हामी उद्घाटनमा लागेर हिँडेको अवस्था त छैन । तर यो प्रदेश, जिल्लाको कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत आउनु भन्ने गरेका कारण केही दिन तलमाथि भएको अवस्थाहरु त हुन् तर यसैका कारण जनताका काम भएका छैनन् भन्ने होईन् । नयाँ संरचना भएकाले प्रदेशले कार्यक्रम बनाउँदा गाउँमै आएर छलफल गर्ने अवस्था रहेन । उसले जिल्लामा बोलाउँछ । राम्रा कार्यक्रमको छलफलमा जाँदा तीनै जना हिँड्नु पर्ने भएकाले दुईचार दिनको तलमाथि भएको कुरालाई हामीले स्वीकार्नै पर्छ ।

अधिकार दिने तर कर्मचारीसम्म पनि नदिने काम भएको छ । अहिले पनि दुई÷दुई बर्षसम्म हामीले पालिकाको कार्यालयमा काम गर्ने कर्मचारी समेत पाएका छैनौं । पुर्ण रुपमा कर्मचारी हुँदाखेरीको सेवा सुविधा र सबै कर्मचारी नहुँदाको सेवा सुविधा त फरक पर्न जान्छ । एक÷दुई जनाले मात्रै काम गरेर पुरै गाउँपालिका चलाउनुपर्ने अवस्था छ । अनि स्वास्थ्य, शिक्षा, पशु, कृषि लगायतको जिम्मेबारी दिएको छ । विषयगत सबै शाखामा कर्मचारी नदिएर दुईवटा प्रशासनिक कर्मचारी अधिकृत, सुब्बा र दुई जना प्राविधिकले चलाउँदा कमीकमजोरी त भएकै छन् । तर हामीले यो गुनासो आउँदा–आउँदै पनि कार्यक्रमलाई रोकेर जनताको अधिकार कुण्ठित हुनेगरी हामी बसेको अवस्था चाहिँ छैन् ।

कर्मकाण्डीबाहेक नमुना योजना केही छ ?

–ठुलै योजना, यो मेरो योजना भन्ने त केही भएको छैन् । हामी आधारभूत तहको सुविधा दिन नै कार्यक्रम बनाएका छौं । शिक्षाको लागि यहाँ भएको कष्ट अन्त गरेका छौं । स्वास्थ्यमा दरबन्दी र औषधिको अभावलाई चिरेका छौं । ठुला रोगीलाई राहत दिएर सहायता प्रदान गरेका छौं । कृषिमा प्राबिधिक जनशक्ति अभाव छ । त्यसका लागि कृषि पढ्नेलाई छात्राबृत्ति प्रदान गर्ने गरेका छौं । सरकार सबै स्थानीय तहमा छ भन्ने तर बजेट नहुँदा समस्या छ । कृषिमा यान्त्रिकरण गर्ने, कृषकलाई प्रशिक्षण गर्ने र सामूहिक व्यवसायीक खेती गर्ने हाम्रो योजना हो । कृषिलाई उत्पादनमुखी र रोजगारीमुलक बनाउने योजनामा लागेका छौं ।

ठुला–ठुला भवन बनेका बिद्यालयमा बिद्यार्थीनै छैनन्, बसाईसराईको मारमा विद्यालय छन्, यो पक्षमा सुधारका लागि केही गर्नुभएको छ ?

–हाम्रोमा विद्यार्थी नै नभएर विद्यालय बन्द हुने अवस्थामा छैनन् । एक दुईवटा टोलमा बस्ती थोरै भएका ठाउँमा विद्यार्थी थोरै भएको अवस्था हो तर भयावह अवस्था छैन् ।

विद्युतमा के योजना छ ? अझै केही घरमा बिजुली छैन् ?

–हामीले तत्कालै यहाँ रहेका साना जलबिद्युत आयोजनालाई बिस्थापन गरेर केन्द्रिय प्रसारण लाईन जोड्ने पक्षमा छैनौं । यहाँका जनताको दुःख मेहनत परेका साना जलविद्युत आयोजनालाई बिस्तार गरेर ग्रिडसम्म लैजाने योजनामा हामी छौं । होला, केही घरमा भौगोलिक बिकटताका कारण बिजुली पुगेको छैन्, त्यस्तै ५०÷६० घर छन्, त्यहाँ सौर्य उर्जाको प्रयोग गरेरै भएपनि हामी उज्यालो गाउँपालिका बनाउँछौं । यहाँ उद्योगका लागि आवश्यक बिजुली साना जलबिद्युतबाट पुग्दैन भन्ने छ । त्यसैका लागि केन्द्रिय प्रसारण लाईन खोज्नुभन्दा भएका उत्पादनको क्षमता विकास गरेर उद्योगका लागि आवश्यक बिद्युतको प्रबन्ध गर्छौं । उद्योगले बिद्युत पाएकै छन् ।

आगामी योजना के छन्  ?

–अबका कार्यक्रम गरिब लक्षित हुन्छन् । बाँकी रहेका पुर्वाधारको काम सकेर हामी आर्थिक उन्नतीको बाटोमा लाग्छौं । कृषि र पर्यटनमा नै हामीले ध्यान दिन्छौं । कृषि उपज यहाँ उत्पादन गरेर बेच्ने वातावरण मिलाउँछौं । मासु निर्यात गर्ने योजनमा छौं । रोजगारीमुलक कार्यक्रम सिर्जना गर्नेमा हामी लाग्छौं, सल्लाह नै त्यही हिसाबले भएको छ । होमस्टे, पर्यटन र अर्गानिक उत्पादन हाम्रो प्राथमीकता हुने छ । केही ठाउँमा अझै पनि युरिया मलको प्रयोग भएपनि हाम्रोमा प्राङगारिक मलको प्रयोग राम्रो भएकाले अर्गानिक उत्पादन हाम्रो पहिचान हुने छ । पशुपालन, आलु उत्पादन, तरकारी उत्पादन हामीले रोजगारी सिर्जना गर्ने आधार हुनेछन् ।

विचार र समयका लागि धन्यवाद ।

–तपाईंको सञ्चारमाध्याममा आफ्ना बिचार राख्न दिनुभएको हाम्रो गाउँपालिकाको तर्फबाट पनि हजुर लगायत हजुरको सिंगो टिमप्रति आभारी छौं ।