पारिश्रमिक कटाएर पहिरो पीडितलाई राहत

बागलुङ, २३ साउन – जिल्लाको तमानखोला गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको पारिश्रमीक कटाएर पहिरो पीडितलाई राहत दिने भएको छ । तमानखोला गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले लाम्मेला पहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो । पीडितको राहतको लागि जनप्रतिनिधिले एक महिनाको पारिश्रमिकबाट ५० प्रतिशत र कर्मचारीको पाँच दिन बराबरको तलब सहयोग गर्ने निर्णय गर्दै थप सहयोगको लागि आव्हान गरेको छ । गत सोमबार तमानखोला–४ लाम्मेलामा पहिरोले घर पुरिदा ज्यान गुमाएका तीन जनालाई प्रतिमृतक एक÷एक लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।
   पहिरोमा परी घाइते भई पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत तीन जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले र अन्य ४ जना घाइतेलाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । घाइतेको अवस्था र आर्थिक आवश्यकताका आधारमा आफुहरुले सहयोग गर्ने निर्णय गरेको अध्यक्ष मगरले बताए ।
   बैठकले एक बर्षभित्रै पीडितहरुको लागि पाँच वटा घर बनाईदिने समेत निर्णय गरेको छ । घर बनाउनको लागि तत्काल बजेट व्यवस्थापन गरेर, प्राविधिक स्टमेटको आधारमा भूकम्प प्रतिरोधी घर बनाउने निर्णय गरेको हो । पहिरोमा परि ४५ वर्षीया चन्द्र कुमारी सिर्पाली, ७० वर्षीय अन्सारी सिर्पाली र १२ वर्षीय प्रवीण सिर्पालीको मृत्यु भएकोे थियोभने ४४ वर्षीय ओमबहादुर सिर्पाली, ३४ वर्षीया सुनिता सिर्पाली, १६ वर्षीय अनिल सिर्पाली, ९ वर्षीय राम सिर्पाली, ५ वर्षीय कमल सिर्पाली, ४० वर्षीया चित्रादेवी श्रीपाली, ५० वर्षीया अमेसरा श्रीपाली घाइते भएका थिए ।
   घाइतेमध्ये ओमबहादुर श्रीपाली, अनिल श्रीपाली र राम श्रीपालीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । उपचार मणिपाल शिक्षण अस्पतालमा भईरहेको छ । ओमबहादुर सिर्पाली, शुभलाल सिर्पाली, गमबहादुर सिर्पाली, देवेन्द्र सिर्पाली र विर्ख सिर्पालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।