पश्चिम बागलुङमा यातायात ठप्पै

बागलुङ, २३ साउन – तुरतुरे ताल खोलीएर सडक बगेपछि पश्चिम बागलुङमा यातायात पूर्ण ठप्प भएको छ । उक्त सडक खुलाउन मध्यपहाडी लोकमार्ग, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, प्रशासन र सुरक्षा निकायले संयुक्त पहल गरेका छन् । मंगलवारदेखिनै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्राविधिक र जनप्रतिनिधि समेतको टोलीले संभावित बिकल्प बारे छलफल गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताए । राजमार्ग बगेको स्थानमा भित्तैसम्म खोला बगेकोले तत्काल काम गर्न नसकिने अबस्था छ । उक्त स्थानमा पानीको बहाव कम भएपछि मात्र पर्खाल लगाएर सडक खुलाउन सकिन्छ । तर तत्काल पश्चिम बागलुङलाई सम्पर्कमा ल्याउने काम जटिल भएकोले पहरा फोडेर भएपछि अस्थायी र एकतर्फी ट्रयाक खोल्न लगाइएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।
          प्रजिअ लुकबहादुर क्षेत्री सहित प्रहरी नायव उपरिक्षक झबिन्द्र प्रसाद भट्टराई, प्रमुख सेनानी भुवनराज देवकोटा, मध्यपहाडी लोकमार्गका ईन्जिनियर किरण श्रेष्ठ समेतले अनुगमन गरेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा लगायतका प्रतिनिधिले निरन्तर घटनास्थलको अनुगमन गरिरहेका छन् । तत्काल एस्काभेटर लगाएर सडक खुलाउने प्रयास भएपनि उक्त बजेट कसले व्यहोर्ने भन्ने अन्यौल छ । नेपालीले भने मध्यपहाडी लोकमार्गले खर्च व्यहोर्नुपर्ने दावी गरेका छन् । इन्जिनियर श्रेष्ठले पनि राजमार्गको डाइभर्सनका लागि खर्च व्यहोर्न सकिने बताए ।
         पहरा फोड्ने काम सहज नभएपनि कम्तिमा १५ दिन भित्र एकतर्फी सडक खुलाउने तयारी भएको क्षेत्रीले ताए । सामान्य परिस्थिति भएमा १५ दिनमा सडक खुलाउने र दिर्घकालिन रुपमा खुलाउन भने हिउँद कुर्नुपर्ने श्रेष्ठको दावी छ । गत बर्ष खसेको ठूलो पहिरोले थुनिएको बडिगाड खोलाले बनाएको तुरतरे ताल फुटेपछि यहाँको २ सय मीटर लामो खण्ड राजमार्ग बगाएको छ । उक्त खण्डमा पहरा फोडेर नयाँ ट्रयाक खोल्नुपर्ने भएको हो । मध्यपहाडी लोकमार्गको बागलुङको अधिकांस स्थान निर्माणाधिन छ । बर्षात लागेपछि नै यो खण्डमा सवारी साधन जोखिम मोलेर गुडेका थिए ।

          सडक भासिएको थियो । पहिरो खसिरहेको थियो । गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ । तमानखोला, निसीखोला र बुर्तिवाङका मानिस सदरमुकाम आउन सास्ती खेप्न थालेका छन् । पहरो भएकोले सोचेजस्तो काम भने नभएको जनप्रतिनिधिले बताए । तत्काल ट्रयाक खोल्न नसके तीनवटै तहमा दैनिक उपभोग्य सामाग्री र खाद्यान्नको समस्या पर्नेछ । खोलाको बहाबले यहाँ पैदल यात्री समेत हिड्न नमिल्ने गरी पहिरो खसेको छ । अहिले पैदल यात्रीले दुइ घण्टा घुमाउरो बाटो यात्रा गरिरहेका छन् । गत बर्ष खसेको पहिरो झण्डै ५ सय मीटर लामो खण्ड अझै जोखिममै परेको छ । यहाँ एक महिना सम्म राजमार्ग अवरुद्ध भएको थियो । नुनतेल समेत खान नपाएर हैरानी खेपेका पश्चिम बागलुङबासीलाई फेरी सास्ती पर्न लागेकोले तत्कालै काम थालिएको बताए ।