ताराखोलामा पाडापाडी प्रोत्साहनको कार्यक्रम प्रभावित

बागलुङ, २५ साउन – किसानले उत्पादन गरेको दुध बजार पु¥याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ । दुध बिक्रीको आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यबिधि कार्यान्वयनमा ल्याउन नसक्दा कार्यक्रम प्रभावित भएको हो । गाउँपालिकाले दुधमा आत्मनिर्भर बन्नका लागि ‘दुधमा आत्मनिर्भर गाउँपालिका’ बनाउने कार्यक्रम बनाएको थियो । जसअन्र्तगत किसान समुह गठन, घाँस विकास कार्यक्रम र थप केही कार्यक्रम सम्पन्न भएपनि पाडापाडी प्रोत्साहन कार्यक्रमको बजेटनै फ्रिज भएको हो । ‘महिनामा कम्तिमा ३० लिटर दुध बेच्ने किसानले मात्रै पाडापाडी प्रोत्साहन रकम पाउने कार्यबिधि बनाएका थियौं’ कृषि शाखा प्रमुख होमबहादुर थापाले भने ‘किसानको दुध बजारनै पु¥याउन नसक्दा रकम फ्रिज भयो ।’ कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट व्यवस्था गरेको थियो । तत्कालका लागि ताराखोला–२ का चार गाउँमा समुह बनाएर दुध उत्पादनको काम थालिएको थियो । दैनिक १ सय लिटर दुध उत्पादन हुने प्रारम्भिक अनुमान गरेको कृषि शाखाले र समुहले दुधको बजार खोजी गरेका थिए । स्थानीय स्तरमा दुधको बजार नरहेको, बाहिरी बजारमा पु¥याउन दुधको मुल्य बढी पर्ने भएकाले किसान समस्या परेका छन् । ‘हिउँद बर्षा बाह्रै महिना चल्नेगरी सडक बनेको छैन्’ थापाले भने ‘हामीले धेरै प्रयास गर्दा पनि ठुलो बजार क्षेत्रमा दुधको कारोबार गर्ने सहकारीहरुले हाम्रो दुध लिन मान्नु भएन् ।’

ताराखोलादेखि बागलुङ बजारमा दुध पु¥याउँदा पर्ने मुल्यभन्दा पोखरा लगायतका ठुला शहरबाट बागलुङ पुग्ने दुधको मुल्य कम हुने भएकाले पनि सहकारीले दुध लिन नमानेको थापाले बताए । गाउँमा भैँसीको संख्या वृद्धि गर्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम ल्याएको अध्यक्ष प्रकाश घर्तिले बताए । ‘बजार अभावका कारण अहिलेको कार्यबिधि अनुसार पाडापाडी संरक्षणको लागि प्रोत्साहन रकम वितरण गर्न सकेनौं’ अध्यक्ष घर्तीले भने ‘अब कार्यबिधिमा थप छलफल गरेर भएपनि यो कार्यक्रमलाई यस बर्ष निरन्तरता दिन्छौं ।’ गाउँका किसान एउटै भैँसीको दुधमा रमाउने परिपाटीको विकास भएपछि भैँसीको संख्या बढाउनकै लागि पाडापाडी प्रोत्साहन कार्यक्रम ल्याईएको थियो । गाउँमा पाडापाडी हुर्काउँदा दूध कम हुने भएकाले जन्मेका पाडापाडी तत्कालै फाल्ने चलन रहेको छ । पाडापाडीलाई संरक्षण गर्ने र हुर्काउने नगर्दा भैँसीको संख्या घट्दै गएको र मूल्य समेत बढ्दै गएको गाउँपालिकाले जनाएको छ । ‘गाउँमा पाडापाडी हुर्काउनै छोडे, भैँसीको संख्या घट्दो हुँदा मूल्य बढेको बढ्यै छ’ अध्यक्ष घर्तीले भने, ‘भैँसीको संख्या बढाउने र किसानलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो ।’ ताराखोला क्षेत्रमा पालिने लिमे पाराकोटी जातका भैँसीबाट राम्रो दूध उत्पादन लिन सकिने भए पनि स्थानीय किसान पाडापाडी पालनमा अग्रसर नभएकाले प्रोत्साहनको कार्यक्रम ल्याईएको घर्तीले बताए । ‘दुध बिक्रीको लागि विकल्पको खोजी गरेरै भएपनि हामी पशुपालनलाई आयआर्जनसँग जोड्छौं’ उनले भने ‘अहिले कार्यबिधि बनाउने एकथरी र कार्यान्वयन गर्ने अर्कोथरी भएका कारण किसानले पाउने सहायता गुम्यो ।’ गाउँपालिकाले कार्यक्रम घोषण गर्दा उत्साहित भएका किसान कार्यक्रम फ्रिज भएको सुन्दा निराश बनेका छन् । भकारो सुधार र समुहमा आधारित भैंसी संरक्षणको थालनी भएकोमा भने किसान उत्साहित छन् ।