कालिकामा सच्चा साधुसन्त र जोगी बसेन्न् ?

बागलुङ कालिका मन्दिरबाट माग्ने र सन्त जोगीहरु हटाएको कुरा अहिले सतहब्यापी आलोचना भएको छ । वास्तविकता के हो भन्ने विषयमा जान्न खोज्दा ब्यवस्थापन समितिका अध्यक्ष राजु खड्कासंग मेरो लामो कुराकानी भयो । आफ्नो ठाउँको एक धार्मिक र पर्यटकीय क्षेत्रका बारेमा भएको चर्चा परिचर्चाको बारेमा सबैले चासो राख्नु स्वाभाविक हो । यसैका बारेमा बुझ्न अध्यक्षसंग नै सम्पर्क गरे । कालिका मन्दिर ब्यवस्थापन समिति, स्थानीय प्रशासन र समाजका अगुवा समेतले अहिले मन्दिर क्षेत्रबाट माग्ने र साधुसन्त हटाएको बिषयमा मैले पनि विरोध गर्दै एउटा स्टाट्स लेखे । त्यसबाट धेरैको कुरा बुझ्ने मौका पनि पाएँ, मैले त्यहाँ एउटै कुरालाई इंगित गरेको थिए कि यदि त्यहाँ सच्चा साधुसन्त कोही छन् र उनीहरुलाई हटाइएको हो भने त्यो गलत भयो, त्यो चाहे मन्दिरका अध्यक्ष, चाहे सिडियो, चाहे एसपी वा समाजका अगुवा जसले गरेको भएपनि त्यसलाई सही मान्न सकिदैन । यसमा मेरो बिमती नै छ । तर पछि मलाई अध्यक्ष खड्काले बुझाएअनुसार त्यहाँ जति पनि साधुसन्त भनेर बस्दथे ती सबै अनैतिक क्रियाकलापमा संलग्न थिए । आपसी झगडामा लिप्त र दर्शनार्थीलाई छाडा ब्यवहार गर्ने मात्रै थिए । उनीहरु नामका मात्र ढोंगी जोगी थिए अरे ! त्यसकारण ती जोगीको भेषमा बसेका हातपाखुरा दरा भएर काम गर्न अल्छी मान्ने मनुष्य भएकाले निकालिएको हो रे ।
मेरो एक प्रश्नमा अध्यक्ष खड्काले यो भन्नुभयो, ‘भाइ मभित्र नि मानवता छ, मैले सच्चा साधुसन्तलाई त्यहाँबाट हटाएर मैले के पाउँछु र ? मैले उनीहरुको रोजीरोटी खोसेर के पाउँछु र ? ठिक छ मैले गलत गरें हुंँला तर यहाँका सिडियो, एसपी, अधिबक्ताहरु, सामाजिक ब्यक्तित्वहरु र अन्य भक्तजनको संयुक्त निर्णय र छलफलले यो भयो, के उहाँहरु सबैले गलत निर्णय गरे होलान त ? त्यहाँ बस्ने जोगीहरु कुनै वास्तविक ऋषिमुनिका रुप थिएनन्, खाली काम गर्न अल्छी लागेर जोगीको रुप धारण गरेको जमात थियो र यदि त्यहाँ कोही साँच्चिकै अपांग, दुःखी र असहाय थिएभने हामीले उनीहरुलाई मानव सेवा आश्रममा अझ उत्कृष्ट सेवामा साथ ब्यबस्थापन गरेका छौं । राम्रो गर्न खोजेको हो भाई । मलाई यसरी राजुले मन्दिरमा आफ्नो एकराज गर्न खोजेको भन्दा निकै चित्त दुखेको छ । तैपनि म आफ्नो काममा अडिग छु किनकी मैले गलत गरेको छैन । हो यही वार्तालापले मेरो मन शान्त भयो र लाग्यो कि सायद उहाँले भनेकै सत्य होला । तर खास के हो निर्णय मैले अझै लिइसकेको छैन, मैले यहिँ सोचे कि एउटा पवित्र मन्दिरमा किन एकजना पनि वास्तविक साधुसन्त र जोगी बसेनन् त ? यदि अध्यक्ष खड्काको कुरामा नै सत्यता देख्ने हो भने एउटा प्रश्न मज्जाले उब्जिन्छ, के मानिसमा जाँगर र कर्म भन्ने चीज हराएकै हो त ? जसले गर्दा काम गर्न सक्ने हुदाँहुँदै पनि जोगीको खोल ओडेर बस्छन मानिसहरु ?
म अहिले आफ्नो ठाउँबाट धेरै टाढा छु तर यस विषयले यतिबेला बाग्लुङ तातेको छ । म कसैको पक्ष र बिपक्षमा मत जाहेर गर्दिन । बस यत्ती भन्छु कि, सबै वास्तविक कुराको जगमा पुगौं । मन्दिरमा साँच्चिकै साधुसन्त र जोगी बस्दैनन् भने केही भन्नु छैन । तर यस्तो पवित्र मन्दिर पनि वास्तविक साधुसन्त र जोगी किन आएनन् भनेर एक पटक समिक्षा गरौं । यदि मन्दिर ब्यवस्थापन लगायत सम्बद्ध निकायले वास्तविक साधुसन्तलाई मन्दिर परिसरबाट हटाएकै हो भने यो गलत हो यसको विरोध गरौं । यो गलत नै हो र यस्तो निर्णय गर्ने मन्दिर ब्यवस्थापन समिति र अन्य निकायले आत्मालोचनाका साथ निर्णय फिर्ता लिएर साधुसन्तलाई त्यहाँ पुनः बस्ने ब्यवस्था गर्नुपर्दछ । त्यहाँ रहेका विकृती भित्राउने साधुको पहँलो खोल ओडेका र मन्दिरको गरिमालाई गिराउने मनसायका जोगी हुन् भने उनीहरुलाई त्यहाँबाट हटाउने मात्रै होइन, प्रशासनले कारवाही गरेर देखाउन सक्नु पर्दछ । वास्तविकता के हो सबै नागरिकले बुझ्नेगरी मन्दिर ब्यवस्थापन समितिले स्पष्ट पार्नु पर्दछ । बागलुङ कालिका हाम्रो गरिमा बोकेको पवित्र धार्मिक स्थल हो, यसलाई दुर्घन्धित बनाउने छुट कसैलाई पनि दिनु हुँदैन । अब यसका सबै काम, ब्यवहार पारदर्शी हुनुपर्दछ । जहाँसम्म अन्य ब्यक्तिहरु माग्न बसेका छन, उनीहरुलाई त राज्यले नै ब्यवस्था गरेर हटाउनु पर्दछ र सबैलाई काम गरेर खाने अवस्था सिर्जना गर्नु पर्दछ ।