त्यो दिन अनि उक्त निर्णय

तपाईहरुप्रति उच्च सम्मान छ । मित्र सज्जन कुमार सिंह तथा दिल निसानी मगर ज्यूलाई । दुवै जनाप्रति उती निकटको सम्बन्ध नरहेपनि असहजताको सम्बन्ध पक्कै छैन । सामाजिक सञ्जाल तथा विभिन्न पत्रपत्रिकामा हजुरहरुले उठान गर्नु हुने विविध विषयप्रति मैले सम्भव भएसम्म मेरो मथिङ्गल खियाउने प्रयत्न गर्दछु । केही समय अगाडी मात्रै आरक्षण विषयक मुद्दामा हजुरहरुको अभियानलाई पनि नजिकबाट नियालेको थिए । तर्क जे–जस्तो पेश गर्नुभयो म पनि आरक्षणको सन्दर्भमा राज्यले स्पष्ट धारणा आम जनमानसमा ल्याउनु पर्दछ भन्ने पक्षमा छु । यद्यपी हामी जो कोहीले मेरो तर्क नै सर्वश्रेष्ठ हो र मेरो बुझाई नै अन्तिम बुझाई हो भन्ने सोच राख्नु कसैलाई स्वीकार्य हुँदैन । हुनु पनि हुँदैन ।
    प्रसंग रह्यो जिल्ला प्रशासन कार्यालय, मानव सेवा आश्रम, कालिका भगवती गुठी, विभिन्न पत्रकार ज्यूहरु तथा सामाजिक अभियान्ताहरुको अगुवाईमा मन्दिर परिसरमा भिक्षा माग्ने कार्यलाई बन्द गरिएको सन्दर्भमा तपाईहरुको क्रियासंगै केही प्रतिक्रिया त नभनौ (म जाबो नाथेले हजुहरुको क्रियाप्रति प्रतिक्रिया जनाउने के ल्याकत राख्थे र !) आफ्नो बुझाई राख्ने अनुमति चाहान्छु ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा माथि उल्लेखित समूह वा संस्थाहरुद्वारा गरिएको निर्णय र कदम कमजोरी नै कमजोरीले भरिपूर्ण कदापी छैन भनेर म निर्धक्कताका साथ व्यक्त गर्न सक्दछु । साँच्चै भन्नु पर्दा हामी कर्म नगरेर जबर्जस्ती मागेर खान पाउनु पर्दछ, दिनभरि मागेर रात परेपछि मनपरि जाँडरक्सी सेवन गर्न पाउनु पर्दछ अथवा एक अवस्थाको समूहलाई गाँजा, भाङ जस्ता लागुपदार्थको व्यवस्था गर्न पाउनु पर्दछ, स्कुटर र ट्याक्सी चढेर एक ठाँउबाट अर्काे ठाँउमा गएर मागेर गुजारा चलाउन पाउनु पर्दछ भन्नेहरुका र यिनीहरुकै पक्षमा वकालत गर्नेहरुका लागि यो कदम पक्कै पनि अनैतिक भएको होला, अस्वभाविक भएको होला वा जबर्जस्ती तथा गैरकानुनी पनि भएको होला । अन्यथा एउटा साँच्चिकैको गरिब, बेसहारा वा असहाय जो बाँच्नकै लागि भिक्षा वा दानको विकल्प रोजेको छ उसका निम्ती यो भन्दा विशेष कदम अरु पनि हुन सक्लान तर यो कदमलाई मेरो सानो मस्तिष्कले अव्यवहारिक मान्न सक्दैन । त्यसो त साथीहरु सदैव एउटै पल हुँदैन, समय एकनाश हुँदैन । यिनै साधुसन्तहरु पनि एकदिन बिमारी हुन सक्लान्, प्राकृतिक प्रकोपको सिकार हुन सक्लान अनि त्यसको व्यवस्थापनको ठेक्का पक्कै पनि तपाई हामीले लिन जरुरत ठान्दैनौ । तसर्थ यो व्यवस्थापन दिर्घकालिन हो ।
   अस्ति मात्र ढोरपाटन राष्ट्रिय दैनिकमा मित्र दिल निशानी मगरले रचना गर्नुभएको, (पवित्र मन्दिरमा दक्षिणा माग्ने साधुसन्त हटाउन मिल्छ ?) शिर्षक सहितको लेख पढ्ने अवसर प्राप्त भयो । बढो रसिक तवरमा आफ्ना सिर्जनाहरुलाई जनमानसमा पु¥याउनु हुन्छ, बढो गजबको लेखन कला छ तपार्इंमा, अन्तरहृदय देखिको सम्मान छ मित्रलाई ।
अब हजुरको रचनाको शिर्षकबाट नै अगाडी बढौ । हजुरको शिर्षकले भनेजस्तो मन्दिर परिसरबाट साधुसन्तहरुलाई हटाइएको होइन, त्यो तपाईको निजी विचार हो र खास मलाई भन्नु केही छैन तर हाम्रो दृष्टिकोणबाट मुल्याङ्कन गर्ने हो भने त्यो कार्य दिर्घकालिन र पवित्र व्यवस्थापन हो । साधुसन्त, जोगी, भिक्षु, भिखारी जे भनेपनि प्रथमत उ मानिस हो र उसको निश्चित आयु हुन्छ । त्यो भन्दा अगाडी उ एकदिन अशक्त हुन सक्छ, बृद्ध अवस्थामा प्रवेश गर्नुपर्छ, शारीरिक अवस्था कमजोर हुन सक्ला अथवा हेरचाह गर्ने मानिसको आवश्यकता पर्न सक्ला । त्यो अवस्थाको उचित विकल्प के हुन सक्ला साथी ? त्यसरी नै सदैव भौतारिन दिने हो त ?
   अर्काे विषय रह्यो हजुरले उठान गरेको स्वतन्त्रताको । स्वतन्त्रताको नाममा विशेष परिस्थितिबाहेक कुनै पनि नागरिकलाई मागेर खाने छुट संविधानले उपलव्ध गराएको छैन । होइन संविधानले उपलव्ध गराउनु पर्दछ भन्ने हजुरको मत छभने कर्मलाई बिर्सेर मागेर खाने परिपाटीलाई प्रश्रय दिए भैगो नि त । यदि साँच्चै धर्मको रक्षा मागेरै गर्नुपर्ने हो भने एकपटक हजुरकै गृह जिल्लाको सदरमुकाम बागलुङ बजारमा अवस्थित स्कोन नेपाल, बागलुङ (हरे राम हरे कृष्ण) संस्थाको भ्रमण गर्नका निमित्त हार्दिक अनुरोध गर्दछु । सनातन धर्मको रक्षाकर्म गरेर पनि गर्न सकिन्छ भन्ने गतिलो पाठ सिक्न सकिन्छ । यदि साँच्चै धर्मको रक्षा गर्ने इच्छा भएको, पवित्र तवरले भिक्षा मागेर, अर्थि उपदेश दिएर, हिजोको सत्य युग अथवा दुईचार शताव्दी अगाडीका साधुसन्त, भिक्षु अथवा योगी जोगीको अवस्थालाई निरन्तरता दिने हिम्मत कसैले राख्दछ भने धेरै त नभनौ कालिका भगवती मन्दिरको वर्तमान व्यवस्थापन समितिले कम्तीमा ५० जना त्यस्ता त्यागी व्यक्तित्वहरुलाई व्यवस्थापन गर्ने हिम्मत राख्दछ । तर विकृति र विसंगतीको साक्षी बनेर कालिका भगवती गुठी व्यवस्थापन समिति कदापी बस्न सक्दैन । अन्यथा वास्तविक दिनदुःखी, गरिब जो असहाय छन्, काम गर्ने शारीरिक क्षमता छैन तथा शारीरिक अपाङ्गता भएकाहरु जो मागेरै आफ्नो जिविकोपार्जन गर्नुपर्ने बाध्यता छ उनीहरुको हकमा कालिका भगवती मन्दिरकै सहकार्यमा मानव सेवा आश्रममा व्यवस्थापन गर्ने पवित्र निर्णय गरिएरै यो कदम चालिएको हो ।
तपाईको लेखको अर्काे पक्ष अभियानमा ठुलाबडाको उपस्थिती रह्यो भन्नु थियो । कस्तो प्रकारको ठुलाबडाको कुरा गर्नुभएको हो मित्रले ? शारीरिक हिसाबले हो भने हजुर पनि कम्तिको हुनुहुन्न । बौद्धिक दृष्टिकोणले भन्न खोज्नु भाको हो भने हजुर आफै राष्ट्रिय तहको बौद्धिक सेलिबे्रटी होइबक्सन्छ र आर्थिक सोचले भन्नु भाको हो भने त्यो पवित्र उपस्थितीमा अजय सुमार्गी जस्ता बागलुङका व्यवसायिक घरानाका कुनै एक जनाको पनि उपस्थिती देखिएको छैन । यो विषय मलाई अलि प्रष्ट पारिदिनु होला मित्र, अनि मात्र आफ्नो विचार राखुला मैले पनि ।
   त्यसैगरी मित्रले उठान गर्नु भएको संरचना निर्माण सन्दर्भमा पनि केही बुझाई राख्न मन लाग्यो । साँच्चै हाम्रा प्राचिन ऐतिहाँसिक धरोहरहरु, मठमन्दिरहरु र चैत्य गुम्बाहरुलाई यथास्थानमा छोडिदिएको भए चन्द्रागिरीमा अवस्थित केबुलकारले रौनकता प्रदान गरेको भालेश्वर महादेव मन्दिरको अस्तित्व के कति रहन्थ्यो होला ? गोरखा जिल्लामा अवस्थित पवित्र तिर्थस्थल मनकामना मन्दिरमा केबुलकारको नविनता नजोडिएको भए बर्तमान अवस्था कस्तो हुन्थ्यो होला ? त्यसैगरी तपाईकै गृह जिल्ला बागलुङ बजारको निकट स्थानमा निर्माणधिन अवस्थामा रहेको सर्वसिद्धीधाम पञ्चकोट स्थलको अवस्था कस्तो हुन्थ्यो होला ? यस्ता थुप्रै उदाहरणहरु हामी माझ जिवित छन् । त्यसैले बागलुङ कालिका मन्दिर वरपर भएका विविध नयाँपना सहितका निर्मित तथा निर्माणका क्रममा रहेका संरचनाहरु जनहितमै जारी छन् तसर्थ नविनता प्रदान गरेर दर्शनार्थीको सेवा र सुविधालाई मध्यनजर गर्दै निर्मित नयाँपनालाई मात्र नकारात्मक दृष्टिले नहेर्नका निमित्त पनि मित्रलाई सादर अनुरोध छ ।
झन् रोचक कुरा त भ्रष्टचारको प्रसङ्ग उठाउनु भएको छ मित्रले । साहित्यिक शव्द कलामार्फत सामाजिक सञ्जाल र पत्रपत्रिकामा उफ्रिन जति सजिलो छ नि मित्र कुनै पनि संस्था पारदर्शी ढंगले कानुनत निती नियमलाई आत्मसाथ गरी सञ्चालन गर्न उत्तिकै असहज छ, र पनि यसमा मज्जा छ । एकपटक सार्वजनिक संस्थामा आवद्धता जनाएर जिम्मेवारीको अनुभव लिइबक्सियोस् मित्र । कति सहज र असहज छ व्यवस्थापन गर्नका निमित्त मात्र भनेर । कालिका भगवती मन्दिरको प्रत्येक दिनको आम्दानीको रेकर्ड सुरक्षित छ अनि प्रत्येक खर्चको फस्र्याैट नेपाल सरकारको आधिकारिक निकाय जिल्ला मालपोत कार्यलयका प्रमुखको निगरानीमा मात्रै हुन्छ । एक रुपैया खर्च गर्दा पनि व्यवस्थापन समितिको बैठकले पारित गरेको छ । अझै पनि शंखाको घेराभित्र हुनुहुन्छ भने आउनुहोस् मित्र हिसाबकिताब ग्रहण गर्न । दिनदहाडै कालीगण्डकीको दोहन गर्नेहरु पनि सामाजिक सञ्जालमा कुर्लेका छन्, तपाइले आस्था राख्ने राजनैतिक दलका नेताहरुले करोडौको भ्रष्टाचार गरेको तथ्य अख्तियार अनुसन्धान आयोगसंग सुरक्षित छ । त्यसो त सरकारी कर्मचारीतन्त्र भ्रष्टाचारको दलदलमा फसेको छ । लेख्नुहोस् न मित्र यि विषयहरुमा । के कारणले बाध्य बनाएको होला मित्रलाई जहाँ २० जनाभन्दा बढी कर्मचारीहरुलाई रोजगारी दिएर तथा समाजिक सेवामा पवित्र ढंगले संचालित संस्थालाई भ्रष्टाचारीको पगरी थुपार्न । के खाएर हिम्मत आएको होला ? यार्सागुम्वाको सेवनले त पक्कै होइन होला नि मित्र ।
   अब अर्काे प्रसंग, केही मित्रहरु जो अमेरीका, बेलायत, अष्ट्रेलिया तथा विभिन्न खाडी मुलुकहरुमा विदेशिएका छन् । सामाजिक सञ्जालमा आफ्ना निजी विचारहरु हामी सबैले व्यक्त गर्दछौ तर यो पवित्र अभियानको सन्दर्भमा केही साथीहरुको तर्क बढो गजबको लागेको छ । क्रिस्चियन कलेजमा अध्ययन गर्ने, क्रिस्चियन र मुसलमानहरुको गुलामी गरेर उनीहरुले प्रदान गरेको डलरले नेपालका चार ठाँउमा घर र घडेरी जोड्ने अनि उनीहरुले नै नेपालमा जोगी, भिक्षु र भिकारीको संख्या घट्दै छ, धर्म रक्षा हुन सकेन, यो त बर्बाद भयो भनेर खेद व्यक्त गर्दा कति विवेक प्रयोग गरेका होलान ? (मैले यहाँ कुनै धर्म विशेषप्रति नकरात्मक धारणा व्यक्त गर्न खोजेको होइन नकि उदाहरण मात्र पेश गर्न खोजेको हुँ । सबै धर्मप्रति समान सम्मान छ) धर्मको रक्षाकर्म गरेर, त्यसैगरी धर्ममा भएका कमीकमजोरीको सुधार गरेर र पवित्र जिवनयापन गरेर पनि सम्भव छ मित्रहरु नकि प्राचिन समयमा रचित धर्म र धर्म संग सम्बन्धित कार्यलाई हुबहु सदैव निरन्तरता दिएर । त्यसो हो भने त धर्मसंगै जोडिएका सतिप्रथा, दासप्रथा, घुम्टोप्रथा र छाउपडी प्रथा जस्ता परम्पराहरुलाई किन निरन्तरता नदिने त ।
   मित्रहरुले साधुसन्तको विषय ज्ञानको भण्डारसंग पनि जोड्नु भएको छ । यसमा मेरो दुई मत छैन । प्राचिन समयमा निश्चित व्यक्तिहरु संघर्षरत तपस्या र त्यागको माध्यमले ज्ञान हाँसिल गर्दथे र उनीहरुलाई ज्ञानी, ऋषिमुनि तथा महर्षिका नामले चिनिने गरिन्थ्यो । उनीहरु बनजंगल वरपर कुटी निर्माण गरी बस्दथे र ज्ञानको ज्योती फैलाउने काम गर्दथे तर वर्तमान परिवेश परिवर्तन भैसकेको छ र यो यतिमै सिमित रहने छैन । अहिले ज्ञान हाँसिल गर्नका निमित्त प्राचिन समयमा जस्तो त्याग र तपस्याको आवश्यकता छैन । ज्ञान हासिल गर्नका निमित्त विभिन्न माध्यमहरु छन् । ज्ञान हासिलका निमित्त नविनतम प्रयोगको निरन्तरता जारी छ । ठुला–ठुला संरचनामा ठेलीका ठेली पुस्तक र अत्याधुनिक प्रविधिको प्रयोगले प्राचिन समयमा जस्तो कुटीमा गएर ज्ञान हाँसिल गर्नुपर्ने बाध्यता अहिलेको पुस्तालाई पर्दैन मित्रहरु । तसर्थ परिवर्तित विश्व परिवेशलाई आत्मसाथ गर्दै पवित्र मानव सेवाप्रति लक्षित यो अभियानलाई मात्र व्यक्तिगत चर्चा र परिचर्चाका लागि प्रहार गर्न आवश्यक देखिदैन भन्ने बुझाई व्यक्तिगत रुपमा मेरो रहेको छ ।
    त्यसैगरी मित्रहरुले व्यवस्थापन समितिको दादागिरीको विषयमा पनि प्रसंग उठाउनु भएको छ । यो विषयप्रति पनि व्यवस्थापन समितिको तथा व्यक्तिगत रुपमा यो स्तम्भकारको ध्यानाकर्षण भएको छ । वर्तमान अवस्थामा प्रतिकेजी ४०० रुपैयाँमा उपलव्ध हुने बोकाको मुढ (टाउको) हिजोका दिनमा प्रतिकेजी १००० रुपैया बराबर पार्न नपाएका, मनपरी रकममा परेवाका जोडीलाई बिक्रीवितरण गर्न नपाएका सिमित कथित ठेकेदारहरु तथा उनीहरुका आसेपासेलाई बर्तमान व्यवस्थापन समितिको व्यवस्थापनप्रति दादागिरीको अनुभुती हुनु स्वाभाविक होला । अन्यथा हामीसंग स्पष्ट रुपमा दैनिक तथ्याङ्क सुरक्षित छ जसले आम बजारबासी तथा विभिन्न क्षेत्रबाट पाल्नु हुने दर्शनाभिलाषीहरुलाई मन्दिरप्रति अपनत्वको विकास भएको छ । तसर्थ जुन मन्दिर परिसरका सटर भाडाका विषय छन् ती पनि नेपाल सरकारको प्रचलित कानुन अनुरुप खुल्ला टेण्डरको प्रक्रियाबाट मात्रै रकम संकलित छन् । यसमा कुनै पनि किसिमको दादागिरी भएको अवस्थामा व्यवस्थापन समिति क्षमाप्रार्थी छ ।
केही मित्रहरु बागलुङ कलिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्षप्रति लक्षित देखिनुहुन्छ । मित्रहरुलाई स्मरण रहोस् यो निर्णय सर्वपक्षिय निर्णय हो जहाँ एउटा व्यक्ति विशेष वा संस्थाप्रति लक्षित हुनु बेकार छ । स्वभाविक हो, एउटा चरित्रवान, निष्ठावान, उर्जाशिल र नीतिलाई अवलम्बन गरेर निरन्तर अगाडी बढ्ने युवाप्रति सङ्कुचित सोच भएकाहरुले असफल प्रहार गर्न खोज्नु । हिजो कुनै हैसियत नभएको, कहिँकतैबाट आर्थिक स्रोत जुटाउन नसक्ने, मात्र राजनीति गरेको भरमा बागलुङ बजारमा घर र घडेरी जोडेका नेताहरुको गुद्धारलाई हरिद्वार देख्ने हनुमानहरु कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काप्रति खनिनु के नै नौलो कुरा रह्यो र ? यसले राजु खड्का जस्ता हजारौ सपुतलाई निराशा होइन कि थप उर्जा प्रदान गर्नेछ । व्यक्तिगत स्वार्थ पुरा गर्न सकिएन भनेर मानव सेवासंग जोडिएको संस्थागत निर्णयप्रति यति क्रुर हुन लाज नलागेको किन होला कुन्नी हनुमानहरुलाई ।
   वास्तवमा भन्नुपर्दा स्टाटस कोर्न पत्रपत्रिकामा लेख छाप्न अथवा तर्क वितर्क गर्न जति सहज छ यो निर्णयको व्यवस्थापन गर्न कालिका भगवती गुठी व्यवस्थापन समिति, मानव सेवा आश्रम तथा सम्बन्धित निकायहरुलाई उत्तिकै चुनौती छ । प्रारम्भमा नै विभिन्न व्यक्ति विशेषको अनेक प्रहार त छदै छ आन्तरिक आर्थिक व्यवस्थापन ज्यादै कठिन छ र पनि यो सञ्जाल निर्धक्कताका साथ सुनौलो सपना देखेर अगाडि बढेको छ । म स्तम्भकार पनि यो अभियानको एउटा सानो अंश भएको नाताले आफ्नो तवरले यो पवित्र कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु र सहयोगी हातहरुको अपेक्षा पनि राख्दछु । अन्त्यमा म आफु उति अध्ययनशिल परिन । आफ्नो बुझाइलाई अभिव्यक्त गर्दा कैयौ त्रुटीहरु सिर्जित भएका होलान । विषयबस्तुमा पनि घनिभुत तर्क पेश गर्न नसकेको हुँला । म सदैव सिक्न खोज्ने सिकारुलाई हजुरहरुको शाव्दिक बाणीले सिंचित गराई दिनुहोला । बहसमा नश्लबादी सोच र साम्प्रादायीक गन्धको प्रयोग नहोस् । यही लेखलाई आधार मानेर चियागफ र आपसी सम्बन्धलाई नै धरापमा पार्ने पाप कसैले नगरौं । विशुद्ध र पवित्र बहसको भयङ्कर अपेक्षा राख्दछु । साधुबाद ।