बागलुङमा दुई वृद्ध दम्पत्तिको हत्या

बागलुङ, २७ साउन – जिल्लाको  ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पत्तिको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीय श्रीमती बिमा कामीको शनिबार राती अपरिचत व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भानबहादुरको शव घर नजिकै मकै बारीमा र बिमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै बुर्तिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको शरीरका विभिन्न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने प्रहरीले जनाएको छ । ढोरपाटन नगरपालिकाकै वडा नं. –९ नवीगाउँ र बोबाङमा उनीहरु घुम्ती बसाई गर्दै आएका थिए । मृतक विकका छोराबुहारी ढोरपाटनमा बस्दै आएको बताईएको छ । घटनाको बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी निरिक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको छ । अनुसन्धानका लागि पठाईएको टोली बाटोमै रहेकाले घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।