‘जोगी हटाईएको होइन व्यवस्थापन’

बागलुङ, २७ साउन – कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काले मानवीय काम गर्दासमेत आलोचना भएको भन्दै जोगी हटाउने निर्णयको बचाउ गरेका छन् । धौलागिरि संचार क्लब बागलुङले आईतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले मन्दिरबाट जोगी हटाउने काम आँफुले मात्रै नभए स्थानीय प्रशासन समेतको सहयोगमा गरिएको बताए । ‘बजारमा हल्ला भएजस्तो हटाउन खोजिएको होईन’ खड्काले भने ‘हामीले त व्यवस्थापन पो गर्न खोजेका हौं ।’ सरकारले समेत सार्वजनिक ठाउँमा भिख माग्ने नपाउने कानुन बनाएकाले मन्दिरमा देखिएको समस्या समाधानका लागि जोगी सन्यासीको व्यवस्थापनमा आँफु लाग्दा आलोचना भएको उनको तर्क थियो । ‘सच्चा जोगी भए कालिका भगवती गुठी ब्यबस्थापन समितिले खाना बस्नको लागि सहयोग गर्न तयार भएको हो ।’ खड्काले भने ‘नक्कली जोगीका कारण भक्तजनहरु आजित हुने वातावरण बन्न नदिउँ भन्ने लागेको हो ।’ कार्यक्रम क्लबका अध्यक्ष राजेश चन्द्र राजभण्डारीको अध्यक्षता, कोषाध्यक्ष कोपिला कँडेलको स्वागत र सचिव प्रदिप पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।