गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा

मुख्यमन्त्री ज्यु नमस्कार, म आँफु पनि यही प्रदेशको बासिन्दा भएका कारण एउटा सानो निवेदन गर्न चाहन्छु । देशमा संघियता आए पनि केन्द्रमा पहुँच भएका अधिकांश नेताहरू प्रदेशको मुख्यमन्त्री वा अरु पदमा आउन नचाहेका बेला तपाई केन्द्रमै बसे पनि पदका लागी जातिय जलपबाट चम्कन सक्ने भएता पनि प्रदेशमा आउँदा निकै खुशी लागेको थियो । तपाईलाई याद छ कि छैन मुख्यमन्त्री भए लगत्तै तपाई सगरमाथा टिभीको एसटिभी च्याट भन्ने कार्यक्रममा पत्रकार जीवराम भण्डारीसँग एउटा अन्तरवार्ता दिनुभएको थियो । त्यो मैले दोहोराएर हेरेको थिएँ । र आज तेहेराएर हेरें । त्यहाँ तपाई व्यक्त विचार, सोचे र कल्पना गरेका योजना सुनेर वाह हाम्रो मुख्यमन्त्री भनेको यस्तो पो भन्ने लागेको थियो । तपाईका कुरा सुन्दा कुनै योजनाविद् वा बिकासविद्को भन्दा कम थिएनन् र अधिकांश लागु गर्न सकिने खालका नै थिए । जुन अन्तरवार्ता हेरेपछि आफ्नो प्रदेशले राम्रो मुख्यमन्त्री पायो भन्ने लागेको थियो । तर आजसम्म आईपुग्दा एक पटक आफ्ना मुख्यमन्त्रीलाई सम्झन मन लाग्यो । ति सपना कता गए ? ति योजना कहाँ तुहे ? एक पटक समिक्षा गर्न मन लाग्यो । मुख्यमन्त्री भएपछि केन्द्रका अखबारमा पनि तपाईका अभिव्यक्तिले ठाउँ पाएकै छन् । अरू प्रदेशका तुलनामा तपाई चर्चामै हुनुहुन्छ । तर चर्चा भएकै भरमा ख्यातीप्राप्त भएको भन्ने भ्रम नपाल्नु होला मुख्यमन्त्री ज्यू । तपाईका केही चर्चित भनाईमध्ये पोखरालाई ईन्टरटेण्टमेण्ट सिटी बनाउने जसमा यौन पेशालाई व्यवस्थित गराउन थियो । केन्द्रले काम गर्न दिएन दादिगिरी गर्यो, कालीगण्डकी डाईभर्सन रोक्न कुनै ब्रम्हाले पनि सक्दैनन् आदी ईत्यादि ।
नेपालका हरेक प्रदेशमा प्रकृतिले दिएको उपहारको कुनै कमी छैन । हाम्रो प्रदेश चार पनि अति नै सौन्दर्यस्थल हो । पोखरामा मात्रै त्यति तालहरू छन् । बिदेशी पर्यटक पोखरा नआई प्रायः फर्किँदैनन् । यस बाहेक नदीहरू र धार्मिक स्थल मनग्य छन् । झर्नादेखी गहिरा गल्छीसम्म यसै प्रदेशमा छ । कृषिका अनुसन्धान केन्द्रदेखी बिजुलीका पावरहाउससम्म । सब छन् । तर काम किन भएन । आजै यो लेख लेखी राख्दा एउटा समाचारमा तपाईको महावाणी छापिएको रहेछ । जसमा भनिएको थियो । “थोत्रो गाडी दिएर अपमान गरेका कारण मैले ल्याडक्रुजर किनें’’ भनेर । तपाईमा आएको स्खलन यहाँभन्दा बढी देख्न नपरोस् । तपाईलाई सम्मान २ करोडका गाडीले दिन्छ ? कम्युनिष्ट पार्टीका नेता अझ केन्द्रिकृत प्रणालीले बिकास हुन सकेन भनेर प्रदेशमा आएका मान्छेको चाल यहि हो ? पोखराको पृथ्विनारायण क्याम्पस देशकै अधिकांश विद्यार्थीले पढ्ने थलो हो । त्यसको हालको स्तर हेर्नु भएकै होला । मिशन अस्पताल भनेको बिदेशका मान्छेहरू उपचारका लागी आउने ठाउँ हो हाल कुन अवस्थामा छ । गण्डकी अस्पताल दोस्रो वीर अस्पतालको अवस्था जस्तै छ । त्यहाँ बेड पाउन तपाईहरू जस्तै नेतालाई फोन हान्नु पर्ने तर पहुँच नभएका जनताले के गर्ने ?
कालिगण्डकी डाईभर्सन गर्न नदिने कुरा ठीक छ तर के कालीगण्डीले छोएर बग्ने जिल्लाबासीले मलालीमा जाँदा मात्रै चाख्ने हो त्यो पनि ? यसलाई प्रत्येक जिल्ला जुन जुन छोएर बगेको छ त्यहाँ पुर्याउने तागत छ ? तपाईले त ठूला ठूला ड्याम बनाएर एकातिर बिजुली अर्कोतिर त्यही पानीले सिँचाई गर्नेसम्म भन्नु भाथ्यो ? पुग्यो त वा कुनै दिन फेरी त्यो कुरा दिमाखमा आयो त ? तपाईले पस्केका योजनामा सराङकोटमा केवुलकार पुग्छ समेत भन्नु भाथ्यो । यसमा बरू नपुगेर केही भा’छैन । चन्द्रगिरिका चन्द्र ढकालले नै देशमा प्राकृतिक दोहोन कसरी गर्ने सिकाई सके त्यो आवश्यक छैन तर त्यहाँ पुग्नेका लागी केही घण्टा बस्ने स्थान छ ? के आकर्षण छ ? यसबारे तपाईले भनेका कुरा कहाँ पुगे । अझै भनौं अन्नपुर्ण सर्किटलाई यसरी यहाँबाट त्यहाँ जोड्ने त्यहाँबाट यहाँ जोड्ने भन्ने योजना अब दुई करोडका गाडीका तारमा गएर जोडिएकै हुन ? दुनियाँ पुग्ने फेवातालका छेउमा सरकारी जग्गा किनबेच गरेर घर बनाई रहेका छन् । के तपाईलाई सर्वोच्चले आदेश दिएपछि पनि त्यो ठाउँ खाली गर्न केले रोकेको छ ? आफ्नै दुई तिहाईको सरकार हुँदा समेत फेवाताल जोगिए भने ढोरपाटनका जनताले हाम्रो मुख्यमन्त्रीबाट के आशा राख्ने ? बिचारधाराका हिसाबले राजसंस्था भनेको सामन्ती बर्गको प्रतिनिधित्व गर्छ भन्छौं र राजा फालेर गणतन्त्र आयो तर तपाईँकै बेला–बेलामा रातो कार्पेटमा एक हात अग्लो चौकोसमा उभिएर सलामी खाएको तस्वीर संजालमा आउँछ ? सामन्ती प्रथा सकियो कि जोगाउँदै छौं अझै हामी ?
फेवातालको जलकुम्भी सफा गर्न केन्द्रिय नेताले साधन पठाएर त्यसैको लखेटो समेत गर्न नसकेर बीचैमा फर्केन परेको नेतृत्वले अझ थप आँफैले थालेको कुन एउटा काम छ ? पोखरालाई छोडेर पर्वत बागलुङतीर आँखा कहिले पुग्लान् । बर्षमा करीब ४० हजार मान्छे हेर्न पुग्ने गुप्तेश्वर गुफाले मुख्यमन्त्रीलाई आमन्त्रण कहिले गर्छ होला ? गण्डकी प्रदेशका प्रत्येक जिल्ला खेतीयोग्य जमिन भएका जिल्ला पनि हुन् । तराईमा झै नफले पनि पहाडमा किसानी गरेर बाँचेको ठूलो संख्या थियो । अझ बिदेश जाने गए पनि कृषक नै बनेर बसेकाले समेत पानी पाएका छैनन् । मुस्ताङका शालिग्राम बिदेश पठाएर पैसा कमाउन सकिने कृष्णहरी बाँस्कोटाका जस्ता योजना नभए पनि त्यहाँका बाटोमा अलिकति ग्राबेल गरे ति शालिग्राम बरू त्यही सडकले पचाउँथ्यो होला । गण्डकी प्रदेशका मुख्यमन्त्री खास गरेर पोखराका मुख्यमन्त्री जस्तै हुनु भाछ । पोखरामै विकास भए पनि राम्रै हुन्थ्यो । तपाई र तपाईको टीमको बिकासको सोच पोखराको पहेंलो ढुङगाको चटकबाटै थाहा लाग्छ । काठमाण्डौमा ट्याक्सीको लुट समाचारमा आए पनि पोखराको लुटबारे कसैको चासो छैन । खाली तपाई केन्द्रले पैसा दिएन, केन्द्रले पावर दिएन, केन्द्रले हेप्यो, केन्द्रले हरेन यस्तै कुरामा छन् । संघियता भएपछि प्रदेशले आफ्नै हिसाबले राजश्व उठाउन सक्ने परियोजना वा काम गर्नु पथ्र्याे तर केन्द्रले दिएको थाप्न कुनै उच्च मगन्ते प्रदेश त पक्कै खोजेको होईन संघियताले ।
कर्णालीमा जस्तो चीज छ भन्ने थाहा भएको तर त्यसलाई निकाल्न वा चिनाउन समय लाग्ने जडीबुटी जस्ता गण्डक प्रदेशमा दुःख छैन । यहाँ पानीको मात्र सदुपयोग गर्न सके अरू थप केही चाहिँदैन तर मुख्यमन्त्री ज्युको सम्पुर्ण ध्यान कसरी हुन्छ एटेण्सन सिक गर्ने त्यसैमा छन् । जब नेतृत्व नै गफडी हुन्छन् त्यस मातहातका मन्त्रीहरूमा पक्कै आलिकति प्रभाव पर्छ । गण्डकी प्रदेशका दुई साँसदले एउटाले हेलिकप्टरमा चडेर गएर नालाको पानीको टुटी खोलेको र अर्काकाले ब्युटी पार्लर उद्याटन गरेको समाचार पनि पढ्यौं । मुख्यमन्त्री ज्युले पनि त्यहीँ रबिन्द्र अधिकारीका जोडबलले थालनी भएको पोखरा विमानस्थलको विवाद पनि मिलाउन नसकेर भर्खर सुल्झिएको थाहा लागेको छ । आत्मबल नेतृत्वमा छैन भने अरूलाई ढाडस दिने अवस्था रहँदैन । मुख्यमन्त्री ज्यु, ईमान्दार साथ भन्ने होभने तपाईले पार्टीको मात्र होईन भोटरको पनि चित्ता दुखाउनु भएको छ । यतिका बेलासम्म कुनै योजना नहुने तपाईले राजिनामा दिँदा पनि फरक पर्दैन । नेकपाले मात्रै होईन तपाईले व्यक्तिगत रुपमा धेरै बाचा गर्नु भएको थियो । अतः संधै केन्द्रलाई सरापेर आफ्नो आसक्षता देखाएर बसी राख्न भन्दा बाटो खाली गर्दा बेस ।
अझ एउटा कुरा भनि हालौं । एक ताका बिदेशी दातासँगको सहकार्यमा काम गर्न लगानी गर्ने डोनर खोज्दै हुनुहुनथ्यो । प्रदेशलाई कुनै बिदेशीसँग आर्थिक रुपमा डिल गर्नै हैसियत दिएको पनि छैन । अझ दूताबासहरूसँग एम्बुलेन्सका लागि हात फैलाउने यो जस्तो गिरेको आत्मबल अरू कुनै हुँदैन । जनताले गाउँ–गाउँमा आँफै पैसा उठाएर एम्बुलेनस चलाएका छन् । बरू ति गाउँका मान्छेमा हिम्मत देखियो तर तपाईमा काम गर्न सक्ने क्षमता देखिएन । लाग्छ होला मुख्यमन्त्रीलाई मान्छेहरू किन सिकाउँछन् तर आजका जनता भोली तपाईहरूलाई सडकमा ल्याएर राजनीति छोड्नु पर्ने गरी भोट नदिन सक्छन् । अझै काम गर्ने समय छ । केही गर्नुस् बिलासी जीवनमा नरमाउनुस् कमरेड ।