दुव्र्यसन बिरुद्ध आमाहरुसँग प्रहरी

बागलुङ, २९ साउन – दुव्र्यसन बिरुद्ध बागलुङका आमाहरुलाई सक्रिय बनाईने भएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा मंगलवारदेखि शुरु भएको बिशेष अभियानमा प्रहरी र आमाहरुको सक्रियताले दुव्र्यसनी अन्त्य गर्ने लक्ष राखिएको हो । किसोर किसोरी तथा युवाहरु दुव्र्यसनमा फस्दै गएको पाएपछि प्रहरीले आमाहरु मार्फत अभियान चलाउने निर्णय गरेको प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए । ‘आमाको काखमा हुर्केदेखिनै बानी व्यवहार थाहा पाउने भएकोले उहाँहरुकै सक्रियताले यो अभियान सफल हुन्छ’ भट्टले भने, ‘अब आमाहरुले आफ्ना छोराछोरीको व्यवहार निगरानी गर्नैपर्छ ।’ प्रहरीले पहिलो चरणमा आमाहरुले आफ्ना छोराहरुको व्यवहार निरिक्षण गरेर जानकारी दिने, शंकास्पद लागेमा प्रहरीलाई खवर गर्ने, उक्त खवर पाएका प्रहरीले अनौपचारिक रुपमा अनुगमन गरेर उनीहरुलाई दुव्र्यसनबाट छुटाउने प्रयास गर्ने भएको छ ।

पहिला घर परिवारबाटै सम्झाइ बुझाई गर्ने, नसके प्रहरी समेतको सक्रियतामा सम्झाउने काम गर्ने र प्रहरीको अनौपचारिक प्रयास असफल भएमा कार्यालयमा लगेर सम्झाउने, त्यो पनि असफल भएमा कानूनी कारवाहीको बाटो खोजिने भट्टको भनाई छ । लागू औषध सेवन तथा दुव्र्यसनमा फसे नफसेको थाहा पाउन प्रहरीले लागूपदार्थ सेवन गरे नगरेको जाँच गर्ने किट समेत ल्याएको छ । महंगो भएपनि बिभिन्न सहकारी र अन्य संघसंस्थाबाट सहयोग लिएर किट ल्याएको हो । उक्त किटमा पिशाप परीक्षण गरेपछि लागूपदार्थ सेवन गरे नगरेको पत्ता लाग्छ । साथै कुन कुन प्रकारको लागू पदार्थ सेवन गरेको हो भन्ने समेत उक्त किटले पत्ता लगाउनेछ । यसरी पत्ता लागेपछि उनीहरुलाई छुटाउने प्रयास गरिने, छुटाउन नसके कानूनी बाटो खोजिने प्रहरीको योजना छ । मंगलवार प्रहरीले बागलुङमा आयोजना गरेको सचेतना अभियानमा सदरमुकाम आसपासका झण्डै एक हजार आमाहरु सहभागि थिए । उनीहरुले प्रहरी प्रमुख भट्टको आग्रहलाई सकारात्मक रुपमा लिए । साथै यो अभियानमा साथ दिने भन्दै हात उठाएर समर्थन गरेका थिए । बजार क्षेत्रमा प्रहरीले झण्डै २ सय युवा लागूपदार्थ दुव्र्यसनमा फसिरहेको तथ्यांक भेटाएको छ । सामान्य सेवन गर्ने, पहिलो चरणमा थालनी गरेका लगायतका युवा धेरै भएको प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । यो अभियानले सार्थक रुप लिएमा युवाहरुको दुव्र्यसन अन्त्य गर्न सकिने उनले बताए ।


केही बर्ष अघि स्थानीय एक सहकारी संस्थाले पनि यो अभियान थालेको थियो । प्रहरीकै साथ लिएर थालिएको अभियानमा आमा समूहमा जागरण फैलिएको थियो । अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले देशको आर्थिक र सामाजिक क्षेत्रको बिकासमा लाग्नुपर्ने युवा दुव्र्यसनमा फस्नु दुर्भाग्य भएको बताए । उनले आमा, दिदी, बहिनी र छिमेकीको सहयोगमा दुव्र्यसन बिरुद्ध अभियान सफल बनाउन सकिने बताए । कार्यक्रममा प्रहरी उपरिक्षक नवराज भट्टले प्रहरी अव अगाडि बढीसकेको भन्दै दुव्र्यसन अन्त्यका लागि जागरणको अन्तिम चरणमा कानूनी कारवाहीमा जाने बताए । किटमा परीक्षण गर्दा खाएको देखिएमा खान छोड्यो भने एक महिना पछि नखाएको प्रष्ट हुन्छ । त्यसैले हरेक शंकास्पद युवालाई शुरुमा र छाड्न लगाएर एक महिनापछि किट प्रयोग गर्ने उनले बताए । त्यस्तो किट प्रयोग भएपछि युवाले छाडेको थाहा पाएमा कानूनी प्रकृया रोकिनेछ ।


उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रामबहादुर जिसी, महिला अधिकारकर्मी लीला खड्का लगायतले बोलेका थिए । पत्रकार सिर्जना पन्तले अभियानको कार्यक्रम संचालन गरेकी थिइन् । यो अभियानलाई सदरमुकाममा मात्र केन्द्रीत नगरी अन्य नगर र गाउँपालिका तहमा पनि संचालन गर्ने बताइएको छ । यस अघि बडिगाड गाउँपालिकालेपनि दुव्र्यसन बिरुद्ध अभियान संचालन गरिसकेको छ । उक्त गाउँपालिकामा लागूपदार्थ र मध्यपान गर्नेले उपभोक्ता समितिमा पनि बस्न नपाउने व्यवस्था गरिएको छ ।