सडकभित्र लुकेको स्वार्थको यो जालो

  नेपालको संविधान २०७२ जारी भएपछि कार्यान्वयनमा आएको संघियताका कारण अहिले टोल टोलमा सिंहदरवार र घरघरमा सरकारी सुविधा पुगेको रटान चलिरहेकै छ । संघियताको कार्यान्वयनले राजनीतिको खेती लगाएकाहरुलाई निकै फाईदा पुगेको छ । स्थानीय सरकार गठन भएपछि भुरे टाकुरे राजाकै शैलीमा भाषण गर्ने, आमसर्वसाधारणलाई सेवा सुबिधा दिएको भन्दै आधा दिन घोकेरै बितउनेहरुको ठुलो जमात छ । अझै भन्ने होभने हिजोको पुरानो संरचनामा रमाएकाहरु लामो समय स्थानीय तहमा निर्वाचन नभएका कारण राज्यको सम्पत्ति दोहन गर्नबाट बन्चित थिए । उनीहरुलाई अहिले दशैं आएको छ । चिल्लो गाडी, सुकिला कपडा, चम्किने जुत्ता लगाउन दशैं कुर्नुपरेको छैन् । हिजो राजनीतिक दलको प्रतिनिधि भएर गाउँसभामा जाँदा गाविस सचिवले दिने चार पाँच सय भत्तामा चित्त थामेकाहरुलाई अहिलेको राज्यव्यवस्थाले दिएको सुबिधाले मात्रै उठि खाउँकी बसीखाउँको अवस्था छ । त्यसमाथी पनि किसानको धानफल्ने खेतमा होली खेल्ने दाँते डोजरको कमिसनको कुरै नगरौं । खाए जस्तो नदेखिने तर खाएको छ भन्नेकुरा लवाई खुवाई र उठबसमा देखिने कमिसनको खेलले साँच्चै सिंहदरवार टोल टोल सम्मै आएको अनुभुती हुन थालेको छ ।
  पछिल्ला केही बर्षमा भएको भौतिक विकासलाई हेर्ने हो भने देशले धेरै फड्को मारेको छ । बाख्रा चर्न नसक्ने भीरमा खनिएको सडकले अहिले प्राय नेपालीको घर घरमा सडक पुगेको छ । नभए पनि नागरीकको पहुँचमा कच्चि सडक छ । कच्चि सडक भेटाउनका लागि दश पन्ध्र मिनेट भन्दा धेरै पैदल हिँड्नु पर्दैन् । यी सडक निर्माणको क्रममा गाउँमा धेरै ठुलाबढाको ऋण तिरीयो हामी सवै मिलेर । छोरा छोरीको बिहे गराईयो अनि कसैका घर पनि बनेका छन् । जे जसरी भएपनि कच्चि सडकको पहुँच पु¥याउन हामीले कुनै कसर बाँकी राखेनौं । पन्ध्र मुरी धान फल्ने खेत मासेर सडक बनायौं । बाउबाजेले बनाएका चौतारी पोखरी त हाम्रो निसाना नै थिए । किनभने चौतारी, पोखरी, सार्वजनिक जग्गा र परम्परागत पदमार्ग (डहर) हरु मासेर सडक बनाउँदा हाम्रो जमिन कम क्षति हुन्थ्यो । हामीले कहिलै सोचेनौ कि बाउबाजेले चौतारी पोखरी किन बनाएका होलान । बिबादरहित तवरले माटो कोट्याएर दुईको चार भन्दै बिल मिलाउन ठिक्क परेका ठुलाबढाले जे भने हामीले मानेको त्यही हो । त्यहाँ भित्रको स्वार्थ हामीले अहिले बुझेका छौं । जव पानीका मुहान सुके, चैतको गर्मीमा टाउको लुकाउने र हावा खाने ठाउँनै भेटेनौं, हिजो हामीलाई चौतारीहुँदै बाटो खनौं कम क्षति हुन्छ भन्नेहरु अहिले एयरकण्डिसनमा बसेको देख्यौं, बल्ल थाहा लाग्यो कि हामीले गलत काम गरिरहेका रहेछौं ।
    सडक बनाउनु नराम्रो काम हुँदै होईन । यो त बिकासको पहिलो शर्त हो । हामीले सडक बनाएर हाम्रो दैनिक जीवनमा परिवर्तन गर्न सक्यौ कि सकेनौं भन्ने हो । सडक बनाउँदा अरु कैयौं विकल्प हामीले छोड्यौं । खोजेनौं । जहाँ पुराना संरचना छन् उनै मास्यौं । प्राबिधिकले नाप जाँचनै नगरी कुनै डोजरको सिटमा बसेका इन्जिनियरले हाम्रो बाटोको डिजाइन गरे । त्यसको असरको बिषयमा हामी सबै जानकार छौं । जे जस्तो तरीकाले भएपनि अहिले बिरामी हुँदा एम्बुलेन्स ल्याउन सकिने सडक गाउँमा छन् । गाह्रो साह्रोमा हामीले बोलायो भने सानो गाडी घरमै लिन आउँछ । तर कच्ची सडक भएकाले सकस भने छ । फाईदा अनेक छन् । त्यो सँगै भएका बेफाईदाको भने सबै मिलेर खोजी गर्नु पर्छ । सडक बनाउँदा एक जना नेताले मैले पैसा हाल्दिएको छु । अव तपाईको गाउँमा बाटो आउँछ भनेको सुनेका हामीहरु तीनै नेताको पछिपछि दगु¥यौं र भन्यौं उहाँले बाटो बनाईदिनुभयो । हामीले सोचेनौं वडा सचिवले तिरो, घरधुरी र बिभिन्न शिर्षकमा लिएको पैसाले जम्मा भएको एकमुष्ठ कोषबाट आएको रकमले बनेको हो हाम्रो बाटो । बिहान चिया पिउने बेलादेखि साँझ सुत्ने बिस्तरा खरिद गर्दासम्म हामीले हाम्रो टोलमा बनेको बाटोका लागि कर तिरेका छौं । काम गर्ने सवैले सामाजिक कर पनि बुझाएकै छौ । त्यही हाम्रो पसिनामा वहेली खेल्न पल्केकाहरुले अहिले पनि हामीलाई कमजोर देखिरहेका छन् र भन्छन मैले यति दिएको उति दिएको छु । काम गर्नुहोला ।
   सडक मात्रै हैन हाम्रा सबैखाले भौतिक पूर्वाधारको निर्माणका लागि आउने बजेटको बाटो त्यही हो । हिजो एक चरणको गल्ति गरेर हामीले हाम्रो भावी पुस्ताको लागि ठुलो मुल्य चुकाएका छौं । सडकको प्रसंग रहेकाले त्यो भन्दा बाहिर अहिले चर्चा नगरौं । हिजो कैयौं कष्टका साथ बनेका सडकको हालत अहिले पनि उस्तै छ । बिसौं बर्ष पहिले बनेका सडकदेखि गएको असार मसान्तसम्म खनेका सडकको अवस्था कहालीलाग्दो छ । पहिले डोजर छिराउने बाटो मात्रै गरेकाहरुले अहिले नयाँ काईदा अपनाउने गरेका छन् । सडक स्तरोन्नती । स्थानिय सरकारले पछिल्लो समय सबै भन्दा धेरै बजेट खर्चने शिर्षक हो सडक स्तरोन्नती । जुनकाम बर्षातको समयमा हुन्छ । नाली, ग्राभेल र पक्की बनाउने होईन हिजोको भन्दा एक दुई मिटर बढी कोट्याउने, माटो सडकभरी छिरोल्ने काम देखाउने रकम सकाउने । यहि प्रवृत्तिका कारण हाम्रो सडक दश बर्ष पहिला जस्तो थियो अहिले पनि उस्तै छ । थोरै भएपनि सडक राम्रो र दिर्घकालिन हुने बनाईयो भने हाम्रा ठुलाबढाको मागिखाने बाटो टुट्छ । हाम्रो आँखामा छारो हाल्ने बाटो टुट्छ । त्यसैले राम्रो होईन हाम्रो सडक बन्छ ।
   हामी कहिलै बोलेनौं । सडकका कारण बाढी आयो, घरबास उठायो भने पनि हामी बोलेनौं । किनभने भोली अहिले हाम्रो घरबास बनाउनेगरी सडक बनाउनेहरुलाई नै कुनै कामको लागि गुहार्नु छ । हामीले कहिलै सडक बनाउँदा खर्चेको रकम हाम्रो पनि हो भन्ने सोचेनौं । किनभने नेताले काठमाण्डौ बाट ल्याएको बजेटले हाम्रो बाटो बनीरहेको छ । हामी कहिलै बोलेनौ जतिसक्दो धेरै गाउँलेको पायक पर्ने ठाउँबाट सडक हुनुपर्छ भनेर किनभने नेताको आफ्नो घर र उसका आफन्तको पायक परेको छ । बोल्यो भने उसले भोली सहयोग गर्दैन् । हामीसँग जानकारीहरु हुँदा हुँदै पनि हामी सहजै भन्छौं । राज्यको धन हो जेसकै गरोस । हामीमा रहेको यहि कमजोरीको फाईदा उठाउँदै आज देशमा बनेका तीन तहका सरकारले तीन थरीका सडक बनाउन थालेका छन् । हिजो सार्वजनिक जग्गा, चौतारी पोखरी र पैदलमार्गहरु मासेर सडक बनाउँ भन्नेहरुले अहिले त्यही सडक पायक नभएको, घुमाउरो भएको बहाना गर्न थालेका छन् । कारण अव उनीहरुको गिद्धे नजर किसानको धान फल्ने खेतमा छ । उनीहरुको चाहना प्लाटिङ गरेर करोडौं कुम्याल्उने दाऊमा छ । त्यसैले पहिलेका बाटो स्तरोन्नती गरेर सवल बनाउनुको साटो फेरी पनि करोडौं खर्चेर नयाँ सडकका ट्रयाक खोल्ने काम स्थानीय सरकारले थालेका छन् ।
  तीन तहका सरकारका कारण सजिलो के छ भने पहिलेका सडक केन्द्र वा प्रदेशका जिम्मेबारीका भन्दै आफ्नो काम देखाउन अर्को सडकको अवश्यकता महशुस गराईने गरेको छ । टोलटोलमा पुगेका सडक हाम्रो उन्नतीका लागि हुन् । भएका सडकलाई व्यवस्थीत गरेर अघि बढ्नु जनताको नजिकको सरकारको जिम्मेबारी होईन र ? फेरी पनि बिभिन्न बहानामा गरीवको खेती मासेर, गरीवका घर बगाएर, गरीवका पसिनामा पहिरो हालेर कमिसनको खेलमा स्थानीय सरकारका ठेकेदारहरु लागे भने त्यसको मुल्याँकन गर्ने बेला नआउला भन्न सकिन्न । यसतर्फ समबन्धित सवैको ध्यान उत्तिकै जानु पर्दछ । त्यसैले सडक नागरिकको आवश्यकता र इन्जिनियरीङ डिजाइनमा बन्नु पर्दछ, कसैको स्वार्थ र सनकीको भरमा होइन ।