बागलुङमा हुने उपनिर्वाचनमा मतदाता बढे

बागलुङ, ३१ साउन – बिभिन्न कारणले खाली भएका संसद र स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको घोषणा गरेको छ । यो घोषणाले बागलुङको निर्वाचन कार्यालयलाई पनि तातो लागेको छ । उपनिर्वाचनमा बागलुङको एक प्रदेश सभा सदस्य र एक वडा अध्यक्षको निर्वाचन हुने भएको छ । उक्त निर्वाचनका लागि राजनीतिक दलमा छलफल र जिल्ला निर्वाचन कार्यालयले तथ्यांक संकलनको काम थालेको छ । कलेजो सम्बन्धी गम्भिर प्रकृतिको रोग लागेर तत्कालिन प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि ठाउँ खाली भएको हो । ८ महिना अघि निधन भएपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को (२) खाली भएको थियो । बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष बिष्णुप्रसाद भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि दुइ बर्षदेखि पद खाली छ ।
    जिल्ला निर्वाचन अधिकारी बिकासराज शर्माका अनुसार बागलुङका दुवै निर्वाचन हुने स्थानमा मतदाता बढेका छन् । गत निर्वाचनपछि कार्यालयले संकलन गरेको तथ्यांकमा बढेको संख्या सार्वजनिक समेत गरेको छ । निर्वाचन क्षेत्र नं. २ को (२) मा ३५ हजार ६ सय ३४ मतदाता पुगेका छन् । अघिल्लो बर्षको निर्वाचनमा यहाँ ४२ वटा मतादन केन्द्रबाट मतदान गर्ने ३३ हजार २ सय ४० मतदाता थिए । निर्वाचन कार्यालयले गरेको अद्याबधिमा २ हजार ३ सय ९४ मतदाता थपिएका हुन् । त्यस्तै बडिगाड गाउँपालिका वडा नं. २ मा २ वटा केन्द्रबाट मतदान गर्ने १ हजार ७ सय ७५ मतदाता छन् । अघिल्लो निर्वाचनमा १ हजार ६ सय ७० रहेकोमा १ सय ५ जना थपिका हुन् । ‘यो तथ्यांक अन्तिम नहुन सक्छ, तर संख्या बढेको छ’ शर्माले भने, ‘साउन सम्मकै तथ्यांकलाई आधार मानेर निर्वाचनका लागि अन्तिम मतदाता नामाबली आनउने संभावना छ ।’ निर्वाचन आयोगले तोके बमोजिमकै मिति राखेर अन्तिम नामाबली प्रकाशित गर्ने उनले बताए । घर्तीको निधनले स्थानीयले जनप्रतिनिधि नभएको अनुभूति गरेका छन् । प्रदेशसभाबाट पहल भएर पर्ने बजेट नआएको उनीहरुले गुनसो गरे । ‘यो बर्ष प्रदेशको बजेट कत्ति पनि परेको छैन’ निसीखोलाका डम्बर बुढाले भने, ‘आफ्नो क्षेत्रको प्रतिनिधि नभएको असर हो ।’ स्थानीय तह मार्फत आउने योजना आएपनि प्रदेशमा माग भएकोमा सम्बोधन नभएको उनको भनाई छ । वडा अध्यक्ष भुषाल समन्वय समितिमा निर्वाचिन भएपछि हिमा खराल कार्यवहाक अध्यक्षमा छिन् । वडा सदस्य भएपनि उनले अध्यक्षको जिम्मेवारी बहन गरेकी हुन् ।   

    जिल्लामा बागलुङ नगरपालिका वडा नं.३ मा मात्र महिला अध्यक्ष छन् । लक्ष्मी बाँस्कोटा बाहेक निर्वाचित महिला अध्यक्ष थिएनन् । खरालले भने कावा भएपनि लगातार दुइ बर्षदेखि जिम्मेवारी कुशलतापूर्वक संहालेर आएकी छिन् । निर्वाचन आयोगले जिल्ला तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि भने राजनीतिक रुपमा समेत निर्वाचनको चहलपहल बढ्नेछ । अहिले मिति मात्र तोकिएकोले राजनीतिक वृत्तमा उमेदवार बारे सामान्य छलफल मात्र भैरहेको हो । कुनै घटनाले निर्वाचित सांसदको निधन हुँदाको उपनिर्वाचनमा अन्य नेताहरुले उमेदवारी दिने चासो धेरै नगर्ने गरेको पाइन्छ । बागलुङमा यस अघि संविधानसभा सदस्य हरि खड्काको पनि निधन भएपछि उप निर्वाचन भएको थियो । उक्त निर्वाचनमा खड्काकी श्रीमती चम्मा बिजयी भएकी थिइन् ।