महंगो गाडि नकिनौ : मन्त्री पंडित

बागलुङ, ३२ साउन – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले स्थानीय तहका प्रतिनिधिलाई महंगो गाडि नकिन्न आग्रह गरेका छन् । उनले जनताको पक्षमा काम गर्न आग्रह गरे । बागलुङमा आयोजित वडा संघको प्रारम्भिक भेलालाई सम्बोधन गर्दैै पंडितले गाडि किन्ने प्रतिष्पर्धा भन्दा बिकास गरेर अर्को पटक थप उचाईमा पुग्ने योजना बनाउन निर्देशन दिए । ‘अहिले देखि डोजरको मालिक भएका वडा अध्यक्षले माथिल्लो पदमा पुग्ने सपना नदेखे हुन्छ’ पंडितले भने, ‘जनताको सेवा नगर्ने जनप्रतिनिधिको यही कार्यकाल अन्तिम हुनेछ ।’ जनप्रतिनिधि बिरुद्ध कडा स्वभावमा देखिएका मन्त्री पंडितले ५ बर्षमा फेरी हात जोड्नुपर्छ भन्ने बिर्सन नहुने समेत बताए ।
   एक पटक बहुमत पाएको थिए भनेर दम्भ नदेखाउन पनि उनले जनप्रतिनिधिलाई आग्रह गरे । ‘कार्यकाल सकिंने बेला सम्म पदको दम्बले कतिजना अख्तियारको खोरमा पुग्छन् त्यतिबेला मन्त्री र नेताले तपाईहरुलाई चिन्दैनन्’ उनले भने, ‘जनमत कहिले पनि कसैलाई कुरेर बस्दैन भन्ने ख्याल गर्नुस् ।’ उनले सबै जनप्रतिनिधिलाई आफ्नो धरातल याद राख्न आग्रह पनि गरे । अख्तियारमा ठूलो हल बनाएर सबैलाई थुन्ने दिन आउन नदिन जनप्रतिनिधि सचेत रहनुपर्ने समेत उनले चेतावनी दिए ।

  जनप्रतिनिधि हरुलाई आफ्नो प्रतिद्वन्दीलाई सम्मान गरेर मात्र काम गर्न पनि आग्रह गरे । अल्पमतको सम्मान गर्न नसकेमा बहुमत निरन्तर नरहने पनि उनले बताए । राष्ट्रसेवकले जनप्रतिनिधिलाई कानूनी शासनको स्थापनामा सहयोग गर्न आग्रह गरे । साथै जनप्रतिनिधिलाई मिलेर कर्म गर्दा आउने परिणाम जनताको पक्षमा हुनुपर्ने उनको भनाई थियो । वर्तमान संघिय व्यवस्था कोही स्वतन्त्र र स्वच्छन्द हुने खालको नभई त्रिकोणात्मक सहयोगमा चल्ने पनि उनले बताए । संघले सहयोग नगरे स्थानीय चल्न सक्दैनन् त्यसैले भएको साधन श्रोत सदुपयोग गर्नुपर्ने उनले सुझाव दिए । जथाभावी कर्मचारी भर्ना गरेर राज्यकोष दोहन गर्न नपाईने उनले बताए । लोकसेवा आयोगले खुलाएको बिज्ञापनबाटै पर्याप्त कर्मचारी छनौट भएर सबै तहसम्म पुग्ने उनले प्रष्ट्याए ।
  जिल्लाका ८५ वटा वडाका अध्यक्ष र सदस्यले संघ गठन गर्नेछ । उक्त समितिले बिकास निर्माणमा सहजीकरण गर्ने र संविधान बमोजिम गठन भएका स्थानीय तहका वडालाई एकतावद्ध बनाएर गणतन्त्रको मर्म र मान्यता अनुसार अधिकार कार्यान्वयन गर्ने लक्ष राखिएको छ । संघका लागि १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र १ कोषाध्यक्ष तथा १३ सदस्य रहने व्यवस्था गरिएको छ । नेपालमै यो संघ पहिलो पटक गठन भएको हुनेछ ।