बिकासबादी समाचार लेखौं : मन्त्री बास्कोटा

ढोरपाटन राष्ट्रिय दैनिकको १६ औं बार्षिकउत्सव सम्पन्न

बागलुङ, १ भदौ – संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले सबै पत्रकारलाई बिकासवादी समाचार लेख्न आग्रह गरेका छन् । उनले पत्रकारलाई कानून र संविधान माथी गएर खेल्ने अधिकार नभएको बताए । ढोरपाटन राष्ट्रिय दैनिकको १६ औं बार्षिकोत्सवको अवसर पारेर उद्घाटनका लागि आएका मन्त्री बाँस्कोटाले सरकारले गर्न लागेका राम्रा कामको प्रचारमा पनि ध्यान दिन आग्रह गरे । सरकारले तीन बर्ष भित्र नेपालको आफ्नै स्याटलाईट बनाएर संचार माध्यमको बिकास गर्न लागेको कुरा समाचार नभएर अपराध र अनियमितता ढाकछोप गर्न आएको भीडको पछि लागेको आरोप लगाए । देशभर ४ जी चल्ने अबस्था सिर्जना गर्ने, सुखि नेपाली र समृद्ध नेपालको अभियानमा नेपाली पत्रकारितालाई हिडाउने अभियान पुरा गर्ने बताए । उनले सबै पत्रकारलाई त्यस दिशामा हिड्न र काम गर्न पनि आग्रह गरे । पत्रकारितालाई म¥र्यादित बनाएर देशको समृद्धिमा हिडाउँने चाहनालाई टिकाटिप्पणी बढी भएको समेत उनले बताए । ‘सत्यको पक्षमा र समाजलाई न्याय दिने पक्षमा पत्रकारिता लाग्नुपर्नेमा अहिले भीडतन्त्रमा हिडिरहेको छ’ मन्त्री बास्कोटाले भने, ‘जे पायो त्यही लेखिएको पत्रकारितालाई सही दिशामा हिडाउन कानूनी अभियान थालिएको हो ।’ कानून बनाएर नियमन गर्न खोज्दा पत्रकारले आँफूहरु संविधान र कानून भन्दा माथी भएको दावी गरेको उनले टिप्प्णी गरे । पत्रकारितामा हावी भएको भीडतन्त्र हटाएर बिकासबादी बनाउने उनले प्रतिवद्धता पनि जनाए ।

मन्त्री बास्कोटाले आम संचार कानून सहित १२ वटा कानून ल्याएर पत्रकारितामा उथलपुथल ल्याएर छाड्ने दावी गरे । त्यो उथलपुथल कस्तो खालको भन्ने उनले खुलाएनन् । ‘अब उथुल पुथल आने गरी काम गर्छु, भाषण गरेर हिड्ने मलाई फुर्सद छैन’ उनले भने, ‘देश बिकास गर्न खोज्दा पत्रकार पनि समृद्धिमा हिड्नुपर्छ ।’ पत्रकारिताले अपराध छोप्ने, सत्य लुकाउने जस्ता काम गर्न नपाईने समेत उनको भनाई छ । उनले नेपालका ठूला मिडिया र पत्रकार महासंघले साथ नदिएकोले सरकारका धेरै काममा टिकाटिप्पणी बढेको बताए । ठूला मिडियाले कति लगानी गर्न पाउने, कति संचार माध्यम संचालन गर्न पाउने भन्ने दायरा तोकिने पनि उनले बताए । ‘ठूला केही मिडिया बसेर समाचार मार्फत हान्ने प्रवृत्ती अन्त्य गरिनेछ’ उनले भने, ‘नेकपालाई हान्ने की कांग्रेसलाई हान्ने भनेर मिसन गरेकोले पत्रकारितामा व्यवसायिकता नआएको हो ।’ अपराध गरेकालाई ढाकछोप गर्न पत्रकारिता प्रयोग हुनु दुर्भाग्य भएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारितालाई म¥र्यादित बनाउन श्रम जिवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिए । उनले मन्त्रीले ल्याएको एजेण्डा ठिक भएपनि कार्यानवयन र प्रस्तुतीको शैलीले पत्रकार समेत भड्केको आरोप लगाए । बिष्टले ऐनलाई हुवहु भन्दा शक्तिपृथकीकरणको सिद्धान्त अनुसार चल्ने ठाउँ आवस्यक भएको बताए । कार्यक्रममा सांसद देवेन्द्र पौडेलले नेपालले आफ्नै पाराको संघियता ल्याएकोले आफ्नै पाराको बिकास गर्ने भन्दै सबैले अब संघियता सफल पार्ने र बिकासमा अगुवाई गर्ने वातावरण बनाउन आग्रह गरे । अर्का सांसद डा. सूर्य पाठकले संचार माध्यमहरु पनि बिकासका संवाहक बनेर आउनुपर्ने बताए । ढोरापटन दैनिकले त्यो अभियानमा पाईला चालेको भन्दै अझै अगाडि बढेर काम गर्न सुझाव दिए ।