कामले भइन्छ लोकप्रिय

   प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले सोचेभन्दा बढी विकास गरेको जिकिर गरेका छन् । सरकार विकास र समृद्धिको यात्राम अगाडि बढेको पनि उनको प्रष्टोक्ती छ । उनले सरकारको ध्यान विकास निर्माणमा मात्रै केन्द्रित रहेको उल्लेख गरेका छन् । यसैगरी प्रधानमन्त्रीले आफ्नो करिब ४५ मिनेट लामो संवोधनमा जनचाहना अनुसार नै सरकार चल्ने र सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी पनि दिएका छन् । उनले सरकारको आयू पाँचवर्ष नै भएकोले यो सरकार पूरा समय नै टिक्ने बताउँदै सरकार फेरिने हल्लाको पनि खण्डन गरेका छन् । संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई जनताले कसरी लिन्छन् भन्ने फरक कुरा हो तर प्रधानमन्त्रीको भनाई हेर्दा लाग्छ, सरकार प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । भारतीय नाकाबन्दीको बेलाको राष्ट्रवादी छवि र समृद्धिको नारासहित सत्तामा पुगेका केपी शमर्न नेतृत्वको सरकारले अपेक्षानुरुप काम गर्न सकेको छैन । सरकार सुशासन कायम गराउन, विकास निर्माणका कामलाई अघि बढाउन र अन्तर्राष्ट्रिय मञ्चहरुम पनि कमजोर देखिएको छ । दुई तिहाईको शक्तिशाली सरकारले गरेका कतिपय निर्णयहरु विवादित बनेका छन् भने शान्ति सुरक्षाको सवालमा पनि सरकारले सोचेजस्तो काम गर्न सकेको छैन । निरासा चुलिँदै गर्दा प्रधानमन्त्री जनतालाई आश्वस्त बनाउन खोजेका छन् । सरकारका कामबारे सदनलाई जानकारी दिनु तथा जनतालाई आश्वस्त पार्नु उनको दायित्व पनि हो ।
भन्नै पर्ने हुन्छ,जनताका चुलिँदा आंकाक्षाहरु संवोधन नभएपछि जनता सरकारप्रति असन्तुष्ट बनेका छन् । उनीहरुले सरकारले सोचेजस्तो काम गर्न नसकेको अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन् । केही दिनयता सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का शीर्ष नेताहरु पूर्वराजाप्रति आक्रामक देखिएका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजालाई नागार्जुनबाट पनि निकाल्ने धम्की दिएसँगै प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले पनि संविधान बिरोधी गतिविधि नगर्न सचेत गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनाको नारा लगाएकै भरमा प्रधानमन्त्रीे पूर्वराजाप्रति आक्रामक भएका पक्कै होइनन् । राप्रपा सुरुदेखि नै राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा छ । त्यो दलसँग कुनै बेला प्रधानमन्त्री स्वंयले सरकारमा सहकार्य पनि गरेकै हुन् । आखिर किन सत्ताधारी दल पूर्वराजाप्रति आक्रामक बने भन्ने प्रष्ट त भएको छैन । बरु सरकारका कामप्रति जनतामा देखिएको निरासा र आक्रोसलाई विषयान्तर गर्न त खोजिएको छैन भन्ने संशय भने बढेको छ ।
एउटा शत्रु देखाउने र उसको बिरोध गर्ने नेपाली राजनीतिको पुरानै रोग हो । आफू काम गर्न असफल हुने र दोष अर्कालाई दिने प्रवृत्तिको यो रोगबाट नेपाली राजनीति मुक्त हुनुपर्छ । यतिबेला प्रतिपक्षी दल निरीह छ । उसले चाहेर पनि सरकारका निर्णयहरुलाई चुनौति दिन सकेको छैन । सरकार भने एकपछि अर्को गर्दै अलोकप्रिय निर्णयको भारले आफै थिचिएको छ । अर्कालाई दोष दिएर उम्कन सकिँदैन भन्ने प्रधानमन्त्रीलाई थाहै छ । लोकप्रिय हुन जनउत्तरदायी बन्नुपर्छ, लोकप्रिय निर्णय गर्नुपर्छ, सुशासन कायम गराउनु पर्छ र विकास निर्माणको गतिलाई बढाउनुपर्छ । अंक गणितीय रुपमा आर्थिक वृद्धिदरको दुहाई दिएर मात्रै जनताको निरासा निराकरण हुँदैन । जनतालाई देखिने र अनुभूति हुने गरी काम गरे कसैलाई गाली गर्नै पर्दैन । काम गरे आफै लोकप्रिय भइन्छ । प्रतिक्रियावादीहरु आफै तह लाग्छन् ।