निशर्त अनुदान हट्दा स्वास्थ्य सेवा प्रभावित

बागलुङ, ५ भदौ – कर्मचारी कटौतीको निहुँमा गत बर्षदेखि बागलुङ नगरपालिकाले करारमा राखिएका सहयोगी हटाउने अभियान ल्यायो । खर्च कम गर्नका लागि त्यो उपाय राम्रो थियो । यसरी सहयोगी हट्दा अन्य क्षेत्रमा खास असर नपरेपनि बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने काम भने प्रभावित भएको छ । यो कामले नगरको खर्चमा कटौती भएपनि रायडाँडा, तित्याङ, पैयुँपाटा, नारायणस्थान लगायतका स्वास्थ्य चौकीमा आउने गर्भवतीलाई परीक्षण गरेपछि जटिल अबस्था भएमा सदरमुकाम पठाउनुपर्ने बाध्यता भएको सिनियर अहेब सोमराज पाण्डेले बताए । ‘तालिम प्राप्त अनमी भएपनि साथ दिने व्यक्ति अभावमा गर्भवतीलाई सुत्केरी बनाउन सक्दैनन्’ पाण्डेले भने, ‘कुन प्रकारको सहयोगी हटाउने भन्ने तोकिनु पथ्र्यो ।’ सुरक्षित गर्भवती गराएपछि एक जना बराबर १ हजार रुपैयाँ संस्थाले पाउनु पर्छ । त्यो बजेटबाट ७ सयको सामाग्री किन्ने र ३ सय भत्ता दिने गरिन्छ । तर गत आर्थिक बर्षदेखिनै जिल्लाका अधिकांस स्थानीय तहमा त्यस्तो भत्ता जान छाडेको छ । जसको कारण जटिल काम गरेर पनि स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो गरे । बडिगाड गाउँपालिकामा गत बर्षदेखि नै बजेट अपुग भएको थियो । पहिलो चौमासिकलाई पुग्ने बजेट मात्र गएपछि काम गरेकाहरुले पनि पारिश्रमिक नपाएको गुनासो छ । सामाग्री किन्ने पैसा र प्रोत्साहन भत्ता पनि नभएपछि स्वास्थ्य क्षेत्रमा समस्या भएको हो । अत्यावस्यक सामाग्री आन्तरिक कोषबाट खरिद गरिएपनि स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता नपाएको निरन्जन यादवले बताए । राती र दिन नभनी काम गर्नेलाई यो सुविधा दिने गरिन्छ । जटिल अबस्थामा स्वास्थ्यकर्मीले साथ नदिए बिरामीको ज्यानै जाने खतरा हुने उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले कार्यपालिकाको बैठकमा उक्त एजेण्डा राखेर समस्या समाधान गर्ने बताए । यो समस्या जतासुकैको भएपनि स्थानीय तहबाटै सम्बोधन गर्ने योजना बनाएको सुवेदीले बताए । भूगोलको समस्याले रणसिंकिटेनी, जलजला, भिमगिठे र दर्लिङका सेवा ग्राहीले स्वास्थ्य संस्था आइपुग्न पनि सयौं खर्चनु पर्छ । आन्तरिक बजेट बाट अत्यावस्यक सामाग्री खरिद गरेर काम चलाइएको तमानखोला गाउँपालिकाकी स्वास्य शाखाकी अहेव गरिमा हर्मेलले बताईन् । बजेट अभावमा अनमीले प्रोत्साहन भत्ता नपाएको बताईन् । गलकोट, ढोरपाटन र जैमिनी नगरमा पनि यस्ता समस्या छन् । गाउँपालिका भएका स्थानमा यो समस्या झनै जटिल छ । भूगोलको कठिनाई र बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव हुँदा सेवाग्राही पहिलेदेखि सहरमा बसेर सेवा लिन बाध्य छन् । जिल्लामा अहिले ४७ बर्थिङ सेन्टर छन् । नेपाल सरकराले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गरेर सुत्केरी हुनेलाई भत्ता दिने गरेको छ । तर शसर्त र निशर्त अनुदान पर्याप्त नआएपछि त्यस्ता सुत्केरीलाई दिने बजेट पनि अभाव हुँदै गएको छ । बजेट पठाउँदा सशर्त शिर्षकमा पठाउनु पर्नेमा निशर्त पठाउँदा कतिपय बजेट गाउँपालिकाले बिकास निर्माणमा खर्चने गरेको समेत टिप्पणी भैरहेको छ । गत बर्ष निशर्त बजेट आएकै कारण पशुस्वास्थ्यको समेत समस्या भएको थियो । पशुले पाउने खोप, कृतिम गर्भाधानका लागि चाहिने नाइट्रोजन खरिद जस्ता काम अलपत्र भएर धेरै पशु प्रभावित भएका थिए । ‘पशु स्वास्थ्यमा त धेरै समस्या पर्छ भने मानव स्वास्थ्यमा नपर्ने कुरै भएन’ स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देबप्रकाश घिमिरेले भने, ‘औषधि खरिद समेत स्थानीय तहले गर्नु पर्ने हो, अझै व्यवस्था नभएकोले जिल्लाबाटै पठाउने गरिएको छ ।’ निशर्त बजेट आएर औषधि खरिद गरिएन भने बिरामी उपचार नपाएर मर्ने समस्या आउने उनले टिप्पणी गरे ।