लेकसाइडको २४ घण्टे रटान

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखराको पर्यटकीय क्षेत्र बैदाम २४ सै घण्टा खुल्ला राख्न प्रहरी तयार रहेको अभिव्यक्ति दिए । महानिरीक्षक खनालले पुरानै कुरा दोहो¥याउँदै काठमाण्डौको ठमेल र लेकसाइड रातभर खुल्ला रहनुपर्ने आफ्नो मत भएको प्रष्ट पारे । अदालतमा विचाराधीन यो मुद्दाको निरुपणअघि नै बैदामको सुरक्षाको लागि थप प्रहरी परिचालन गरिएको गण्डकी प्रदेशका डिआइजीले बताए ।
पोखरा आफैमा पर्यटकीय स्थल हो र बैदाम यसको मुटु । बैदामका भान्छामा विश्वका सबै कुनामा पाक्ने खाना पाक्छ । सबैतिरका मान्छेको आउजाउ हुन्छ अनि मनोरञ्जनमा झुल्ने एउटा झुण्ड नै हुन्छ । घर छाडेका विदेशी मात्र के कुरा, पोखराकै कुनै भागबाट बैदाम छिर्नेहरु पनि पर्यटक नै हुन्छन् । उनीहरुको आनीबानी बदलिन्छ । पर्यटकीय भेषमा रम्न चाहनेहरु रातभर जाग्राम बस्न खोज्छन् । रात्रीजीवनका सबै रमाइलोको अनुभव लिन खोज्छन् । त्यसैले हिजोको बैदाम र आजको लेकसाइड साँझ परेपछि मात्रै जाग्छ र मध्यरातसम्म जागै रहन्छ । तर,नेपालको वर्तमान कानूनी अवस्थाले यो सम्भव छैन । रातको ११ बजेपछि रेष्टराँहरु बन्द हुन थाल्छन् । त्यहाँबाट घचेटिएका र मदमस्त बनेकाहरु सडकमा ढलपलिन्छन् अनि अर्को मनोरञ्जनात्मक गन्तव्यको लागि भौँतारिन्छन् । तर, सजिलो छैन, उनीहरुका लागि । उनीहरुले सुरक्षाकर्मीको हप्की खानुपर्छ । पछिल्लो समय कानूनको सहारामा रात २ बजेसम्म खुल्ने डिस्को र केही लाउन्ज बारहरुले उनीहरुलाई थामे पनि त्यसपछि के हुन्छ ? भन्न सकिँदैन । असुरक्षामा हुने अधकल्चो मनोरञ्जनले अतिथीलाई सन्तुष्टी दिँदैन । उनीहरुको गोजीमा भएको पैसा झार्न सकिँदैन । पर्यटकहरुको यही चाहनामा पैसा कमाऊँ भन्ने चाहना मिसिएपछि लेकसाइड रातभर खोल्ने माग उठेको हो । यो माग उठेको धेरै भयो । तर, कार्यान्वयनमा आउन सकेको छैन । कार्यान्वयनमा ल्याउने प्रयत्नहरु निष्प्रभावी देखिएका छन् । केही डिस्को र बारहरुले अदालतको ढोका ढक्ढक्याएर २ बजेसम्मलाई खुल्ल पाउने बनाएका छन् तर त्यो पर्याप्त भएको छैन । अर्कोतर्फ २ बजेसम्म खुलेका डिस्को र बारबाट निस्केकाहरुको हल्लाले त्यहाँको वातावरण प्रदुषित भएको गुनासो पनि बढ्दै गएको छ । रातभर चर्को आवाजमा सवारी साधन हुँइक्याउने, हल्ला गर्ने, झगडा पर्ने र कतिपय अवस्थामा वेश्यावृत्तिको लागि सडकमै मोलमोलाई हुँदा त्यहाँका स्थानीयहरुले सुत्नै नपाएको गुनासो गरेका छन् ।
हिजो लेकसाइड सानो,शान्त र सुन्दर ग्रामीण बस्ती थियो । तालको पानी निर्धक्क पिउने उनीहरुको जीवन तालसँगै जोडिएको थियो । सन् १९६० पछि यहाँ एकाएक विदेशीहरु ओइरिए । गाउँका घरहरु गेष्टहाउस बने । चिया पसलहरु खुले । लेकसाइडले हरियो डलर चिन्न थाल्यो । अनि यहाँ भौतिक संरचनाहरु तयार भए । पर्यटकका लागि भौतिक संरचना बन्दै गर्दा त्यहाँ बाहिरका व्यायारी पनि ओइरिए । गाउँबाट लेकसाइड रात्रीकालीन सहर बन्यो । सहरको कोलाहलसँगै मौलिकता हरायो । रैथानेहरु हल्ला सहन बाध्य भए । सत्य यही भए पनि अब लेकसाइड पछाडि फर्कने अवस्थामा छैन । प्रमुख पर्यटकी गन्तव्यको चिनारी बनाएको यो ठाउँले रात्रीकालीन मनोरञ्जनस्थलको चाहना राखेको छ । पर्यटन व्यवसायमै संलग्नहरुले यो माग गरेका छन् । बाँकी रह्यो, सुरक्षा संवेदनशीलताको कुरो, त्यो स्थानीय प्रशासनसँग गएर जोडिएको छ ।
विश्वका धेरै पर्यटकीय सहरहरु रातभर जागा बस्छन् । पोखराले त्यसको चाहना राख्नु नौलो होइन । गण्डकी प्रदेश सरकारले चालु अंग्रेजी वर्षलाई आन्तरिक भ्रमण वर्ष र सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरिएको सन्दर्भमा नेपालमा रातभर जाग्ने पर्यटकीय स्थलहरु आवश्यक छन् । त्यो आवश्यकता पूर्ति गर्न सरकार नै तात्नुपर्छ । केही समयअघि गण्डकीका मुख्यमन्त्रीले रेडलाइट एरियाको कुरा उठाए, पर्यटनमन्त्रीले इन्जोयजोनको कुरा उप्काए । तर, भएको लेकसाइडलाई कसरी व्यवस्थापन गर्ने र त्यहाँका स्थानीयहरुलाई असर नपर्ने गरी रात्रीकालीन मनोरञ्जनको व्यवस्था गर्ने भन्ने सुझाएनन् । समस्या यहीँनेर छ । लेकसाइड मात्रै होइन, सिंगो पोखरा रातभर खुलोस् तर त्यसले अरुलाई असर नगरोस्, सुरक्षा अवस्था नबिग्रिइयोस् भन्नेतर्फ सोच्न अब ढिला भइसकेको छ । व्यवसायको नाममा साँस्कृतिक मूल्य र मान्यतामाथि धावा बोल्न पाइँदैन । मनोरञ्जनको नाममा छाडातन्त्र हावी हुनु पनि हुँदैन । तर, सभ्य र सुसंस्कृत पाराले पर्यटकहरुलाई मनोरञ्जन दिन कन्जुस्याईँ पनि सुहाउँदैन । अत ःअदालतमा विचाराधीन मुद्दाको किनारा लागेपछि लेकसाइडलाई कस्तो बनाउने भन्नेबारे अहिल्यैदेखि तयारी थाल्नुपर्छ । इन्जोयजोन नै बनाउने हो भने पनि मूल्य र मान्यता नभत्कने गरी त्यसको पनि तयारी बेलैमा थाल्नुपर्छ ।