शक्ति पुरस्कार श्रेष्ठलाई

बागलुङ, ७ भदौ – साहित्य क्षेत्रमा योगदान पु¥याएको भन्दै रण स्मृति पुरस्कार संस्था बागलुङले पोखराका साहित्यकार तीर्थ श्रेष्ठलाई शक्ती पुरस्कारबाट पुरस्कृत गरेको छ । आफ्नो २६ औ वार्षिकोत्सवका अवसर पारेर संस्थाले आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरे । उक्त अवसरमा नगर क्षेत्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । पुरस्कृत श्रेष्ठलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र संस्थाका अध्यक्ष काजी रोशनले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् । रणस्मृति पुरस्कारबाट बागलुङ नगरपालिका अन्तरगतका कक्षा ५ र ८ मा अध्यनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा कक्षा ५ मा अध्यनरत बालमन्दिर आधारभूत विद्यालयका कुशुम घर्ती मगर, गणेश थापा त्यसैगरी कक्षा ८ तर्फ गणेस माविका सिमा विक कुशुम विक, रुद्रेपिपल माविका अपेक्षा पौडेल र जनमत माविका किशोर लामिछाने रहेका छन् । पुरस्कृत सबैलाई नगद सहित प्रशंसापत्र दिइएको थियो । पुरस्कृत हुने सम्बन्धीत विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको रण स्मृति पुरस्कार संस्थाका सदस्य सचिव भोज बहादुर खड्काले जानकारी दिए । बागलुङ बजारका समाजसेवी एवं शिक्षासेवी शक्ति बहादुर खड्काले आफ्ना स्वर्गीय पिता रण बहादुर खड्काको स्मृतिमा २०५० सालमा रण स्मृति कोषको स्थापना गरेका थिए । कोषबाट सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ र ८ का विद्यार्थीलाई पुरस्कार प्रदान गरिदै आएको संस्थाले जनाएको छ । त्यसैगरी विगत २ वर्षदेखि संस्थाले शक्ती बहादुर खड्काको नाममा शक्ति पुरस्कार समेत वितरण गर्न शुरु गरेको थियो । सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले साहित्य मार्फत समाजमा रहेका विकृति विसंगतिको अन्त्य गर्नुपर्ने बताए । पछिल्लो समय बढ्दै गएको प्रविधिबाट टुक्रे ज्ञान मात्र सिक्न सकिने चर्चा गर्दै नगर प्रमुख पौडेलले–समाजलाई सही मार्गमा लैजानका लागि अग्रजहरुबाट शिक्षा लिनुपर्ने बताए । उनले रणस्मृति पुरस्कारले साहित्य एवं शैक्षिक क्षेत्रको विकासको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । पौडेलले साहित्य क्षेत्रको विकासका लागि बागलुङ नगरपालिकाले सक्दो सहयोग गर्ने धारणा व्यक्त गरे । त्यसैगरी पुरस्कृत व्याक्तित्व तीर्थ श्रेष्ठले साहित्य मार्फत समाजमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुपर्ने बताए । उनले रणस्मृति पुरस्कारले समाजमा राम्रो काम गरेको बताए । कार्यक्रममा पोखरेली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष जीवनसागर भण्डारी बालमन्दिर आधारभुत विद्यालय विद्यालयका शिक्षक उमाकान्त शर्मा र पुरस्कृत विद्यार्थी गणेश माविका सिमा विक लगायतले बोलेका थिए । कार्यक्रम रणस्मृति पुरस्कार संस्था बागलुङका अध्यक्ष काजी रोशनको अध्यक्षता सदस्य अमृत खड्काको स्वागत मन्तव्य र पत्रकार कोपीला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।