रुद्रेपिपलमा आठौ तीज मेला हुने

बागलुङ, ७ भदौ – रुद्रेपिपल युवा क्लबले तीजको अवसर पारेर तीज मेला गर्ने भएको छ । भदौको १५ देखि १७ गते सम्म आयोजना हुने तीज मेला क्लबको आठौ संस्करण हो ।
गीत संगीत, बिभिन्न खेलकुँद प्रतियोगिता र मनोरञ्जनका लागि मेला आयोजना गरिएको क्लबकी उपाध्यक्ष सकुन्तला थापा बोसेलले बताईन् । मेलामा वडा स्तरीय खुला तीज गीत प्रतियोगिता, वडा स्तरीय तीज नृत्य प्रतियोगिता, स्वलो बाईक र स्कुटर प्रतियोगिता, छेलो प्रतियोगिता, घैटो फोर, खुला शान्ति दौड प्रतियोगिता र खुला महिला लठो तान्ने प्रतियोगिता संचालन हुने बताइएको छ । शनिवार पत्रकार सम्मेलन गरेर क्लबले ती प्रतियोगिताका लागि दर्ता शुल्क पुरस्कार राशी समेतको जानकारी गराएको हो ।
     मेलामा राष्ट्रिय रुपमा चर्च बटुलेका जिल्लाका कलाकारहरुको सहभागिता गराउने तयारी समेत गरिएको आयोजकले बताए । सबै क्रियाकलाप गर्नका लागि १८ लाख रुपैयाँ लाग्ने गरी क्लबले खर्चको अनुमान गरेर आर्थिक संकलन अभियान पनि थालेको छ । यो अभियानमा चन्दा, क्लबका सदस्यहरुको सहयोग र बिदेशमा बस्नेहरुको साथ पाउने आयोजकले बताए । यस अघिका बर्षमा गरेको मेलाबाट बचेको केही रकम कोषको रुपमा राखेकोले यो बर्षपनि बचाएर कोषमा थप्ने योजना पनि राखिएको छ । सकुन्तला थापाको अध्यक्षता, कमल बोहराको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार बीरबहादुर किसानले मेलाका सबै पक्षबारे जानकारी गराएका थिए ।