आन्तरिक पर्यटन बर्ष र बिदा पर्यटन

   गण्डकी प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । चालु अंग्रेजी वर्षलाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले २ सयवटा पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । होमस्टे संचालन भएका गाउँहरुमा पूर्वाधार निर्माणको लागि बजेट विनियोजन भएको छ । पर्यटन वर्षको उत्तरार्धतिर आइपुग्दा देखिने गरी भएका काम यिनै हुन् । त्यसबाहेक देखिने गरी कुनै काम भएको छैन । जुन गतिले आन्तरिक पर्यटन वर्षको प्रचार हुनुनर्पे हो, त्यो पनि हुन सकेको छैन । अब मात्रै ४ महिना बाँकी छ । चार महिनामा के गर्ने भन्नेमा यहाँको पर्यटन मन्त्रालय नै द्धिविधामा भएको जस्तो देखिएको छ । तर,पर्यटनमन्त्री र सम्बद्ध कर्मचारीहरु भने त्यो कुरा मान्न तयार छैनन् । मन्त्रालयले अहिले आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन कर्मचारीहरुलाई एक हप्ता भ्रमण बिदा कार्यान्वयनमा ल्याएको छ । कर्मचारीहरु व्यक्तिगत वा सामूहिक रुपले रुचाएको कुनै दुई गन्तव्यमा जानेछन् । यो अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा केही भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।
   बिदा पर्यटनको कार्यविधि पारित भएको छ । प्रदेश सरकारले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो महत्वकांक्षी लक्ष्य हो । लक्ष्य पूरा हुनेमा पर्यटनमन्त्री आशावादी रहेका छन् । पोखराले दैनिक २० हजारको हाराहारीमा पर्यटक धान्ने हैसियत राख्छ । पोखरा यो क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य पनि हो । तर, गण्डकी प्रदेश भनेको पोखरा मात्रै होइन । पोखरासहित यो क्षेत्रका सबै पर्यटकीय गन्तब्यहरुको विकासले मात्रै पर्यटनबाट यहाँका जनताले समुचित लाभ लिन सक्छन् । पर्यटनबाट हुने आम्दानी सीमान्तकृत वर्ग, दूरदराजका गाउँहरुमा पु¥याउन सकेमात्र पर्यटनबाट दीगो विकास लक्ष्यमा केही योगदान प्राप्त हुन्छ । त्यसको लागि सरकारले तत्काल र दीर्घकालको लागि रणनीतिक योजनाहरु बनाउनुपर्छ । यतिबेला गाउँगाउँमा पर्यटनप्रति जागरण आएको छ । गाउँलेहरुले ऋणधन गरेर होमस्टेमा लगानी गरेका छन् । लगानी गरेपछि प्रतिफलको आशा हुन्छ । त्यसको लागि गाउँमा पर्यटक पुग्नुपर्छ । सरकारले अब गाउँगाउँसम्म पर्यटक कसरी पु¥याउने भन्नेबारे योजनागत रुपले काम थाल्नुपर्छ । गाउँलेहरुले पर्यटनबाट लाभ लिन सके भने सहर झर्ने क्रम घट्छ । हुलका हुल युवाहरुको विदेश पलायन पनि रोकिन्छ । गाउँमै रोजगारी सृजना हुन्छ । यसको लागि गाउँसम्म पुग्ने पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्छ । गाउँसम्म पुग्ने पूर्वाधार, पदयात्रा मार्ग निर्माणलगायतका क्षेत्रमा सरकारले नै ध्यान दिनुपर्छ । मुख्य कुरा पर्यटकीय गन्तब्यहरुको पहिचानले मात्रै केही हुने हैन । ती गन्तब्यहरुको प्रचार हुनुपर्छ । प्रचारले पर्यटनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरालाई केन्द्रमा राखिनुपर्छ ।
   समय धेरै बाँकी छैन । घोषणा अनुसारको काम हुन सकेन भने सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा नहुन सक्छ । अतः बाँकी रहेको समयमा सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन तदारुकताका साथ काम गर्नुपर्छ । पर्यटन वर्षको लागि छुट्याइएको बजेटको सही सदुपयोग हुनुपर्छ । बिदा पर्यटनको अवधारणा सह्रानीय छ । अब यसलाई तत्काल कार्यान्वयमा लैजाने तदारुकता देखाउनुपर्छ । बजेट जथाभावी खर्च भयो भन्ने आलोचनाबाट पनि सरकार मुक्त हुन सक्नुपर्छ ।