सुत्केरीको स्याहार

    प्रशव वेदना भोग्नेहरुलाई थाहा हुन्छ । नवजात शिशुलाई संसार देखाउन आमाहरुले भोग्ने कष्ट र वेदना एकातिर हुन्छ, आमा र बच्चाको जीवन तलमाथि हुने सम्भावना अर्कोतिर रहन्छ । सुन्दर शिशुलाई मातृवात्सल्य प्रदान गर्ने कति आमाहरु आफै सोही उपक्रममा भगवानको प्यारो बन्न पुग्छन् । खासगरी सुरक्षित सुत्केरी हुने अवस्था नहुँदा, प्रसूतिका बेला उपचार नपाउँदा ज्यान गुमाउनु परेका दुखद घटनाहरु खोज्न टाढा जानै पर्दैन । हाम्रा वरपर नै यस्ता घटनाहरु बर्गेल्ती देखिन्छन् । सुरक्षित मातृत्वको अधिकारबाट आमाहरु बञ्चित भएकैले मातृशिशु मृत्युदर घट्न नसकेकोमा द्धिविधा छैन । तथ्याङ्क नै पल्टाउने हो भने पनि, नेपालमा ५ वर्ष मुनिका १ हजार शिशुमध्ये ३९ जनाको मृत्यु हुने गरेको र गण्डकीमा त्यो २७ रहेको प्रतिवेदनले औंल्याएको छ । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार जिवित बच्चा जन्माएका एक लाखमध्ये २३९ जना आमाहरुको मृत्यु हुने गरेको छ भने गण्डकीमा पनि यो दर उस्तै छ । उचित स्याहार–सुसार, औषधोपचार र दक्ष चिकित्सकीय सेवा नपाएकै कारण उनीहरुको मृत्यु भएको हो । मातृशिशु मृत्युदर घटाउनको लागि सरकारी तवरबाट भएका प्रयासहरुले सकारात्मक परिणाम दिए पनि अझै स्थिति भयावह छ भन्ने यो तथ्याङ्कले प्रुष्टी गर्छ ।
   नेपालमा २०६४ सालबाट निःशुल्क स्वास्थ्य कार्यक्रम सुरु भएको हो । २०६५ सालबाट निःशुल्क प्रसूति सेवा सुरु भयो । यही उपक्रममा ४ पटक गर्भ जाँच गराएबापत ४ सय र स्वास्थ्य संस्थाबाट प्रसूति गराएमा पहाडमा २ हजार, हिमाली क्षेत्रमा ३ हजार र तराईमा १ हजार यातायात भत्ताको व्यवस्था गरिएको थियो । यसले केही सकारात्मक परिणाम दिएको छ । अहिले स्थानीय तहलाई स्वास्थ्यसेवाको अधिकार दिइएको छ । स्थानीय सरकार बनेपछि विभिन्न सरकारहरुले बर्थिङ सेण्टरमा बच्चा जन्माउन प्रोत्साहन गर्नुका साथै नियमित गर्भ परीक्षण गर्नको लागि विभिन्न खाले प्रोत्साहनको व्यवस्था गरेका छन् । प्रदेश र संघीय सरकारले प्रसूतिको लागि शल्यक्रिया गर्नुपरेमा एयर लिफ्टिङ अर्थात हेलिकोप्टर भाडा प्रदान गर्ने निर्णय गरेको छ र यो नीति कार्यान्वयनमा पनि आएको छ । तर, प्रक्रियागत झण्झटका कारण सुविधा लिन भने कठिन देखिएको छ । सरकारले लागू गरेको यो नीतिलाई व्यवहारिक बनाउनेतर्फ सोच्नु पर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ जनचेतनाको कमीले पनि महिलाहरुले गर्भवती अवस्थामा आफ्नो समस्या लुकाउने गरेको पाइएको छ । गर्भवती हुनु गर्वको विषय हो भन्ने सन्देश प्रवाहित गर्न अझै सकिएको छैन । गर्भवती अवस्थामा थप पोषण, राम्रो हेरचाह र स्वास्थ्यकर्मीको रेखदेख चाहिन्छ भन्ने चेतना बढाउनु अझै जरुरी देखिएको छ । अहिले केही गाउँपालिकाहरुले बर्थिङ सेण्टरमा बच्चा जन्माउनेहरुलाई प्रोत्साहनस्वरुप नगद र पोसिला खानेकुरा दिने चलन चलाएका छन् । पर्वतको एक गाउँपालिकाले यो अभियान प्रयोगमा ल्याउँदा वाहवाही पनि बटुलेको छ ।
   यसैगरी पर्वतकै बर्थिङ सेण्टरहरु अहिले मातृशिशु मृत्युदर घटाउन प्रभावकारी देखिएको तथ्य पनि बाहिर आएको छ । यो सकारात्मक काम हो । तर, नेपालले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरु अझ पनि बाँकी छन् । खासगरी स्थानीय तहहरुमा स्वास्थ्थकर्मीको अभाव सबैभन्दा ठूलो समस्या बनेर खडा भएको छ । स्वास्थ्य संस्था हुने तर डाक्टर, उपकरण र ओखती नहुने अवस्थाले नागरिकले सोचेजस्तो सेवा पाउन सकेका छैनन् । दूरदराजका महिलाहरु अझ पनि प्रसूतिकै बेला मृत्यवरण गर्न बाध्य छन् । यो अवस्थाको अन्त्यको लागि गाउँगाउँमा स्वास्थ्यकर्मी पठाउने र स्वास्थ्यजस्तै संविधानप्रदत्त अधिकार प्रदान गर्न राज्यको भरमग्दुर प्रयास जरुरी छ । सुत्केरीको सुरक्षामा विशेष व्यवस्था गर्दै अकाल मृत्युवरण गर्नुपर्ने बाध्यताबाट बाहिर निकाल्नुपर्ने आवश्कता अहिले पनि ज्यूँकात्यूँ रहेको छ ।