आत्महत्या दुरुत्साहनः बहस आवश्यक

एउटा आत्महत्या प्रकरणले देश तरंगित छ । आत्महत्याले उब्जाएका प्रश्नहरुमा नागरिकको मत विभाजित छ । तर, आत्महत्याअघि अभिव्यक्त विचार र त्यसकै सेरोफेरोमा घुमेको काण्डसँगै आत्महत्या र आत्महत्या दुरुत्साहनका विविध पक्षहरुबारे पनि बहसको थालनी भएको छ । प्रहरीका अनुसार, आर्थिक वर्ष २०७५÷०७६ मा ३ हजार २२ जनाले आत्महत्या गरे । तीमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या २ हजार २ सय १९ रहेको थियो । प्रहरीले पारिवारिक कलह, नैराश्यता, मानसिक रोग, गरिवी, लेनदेन, प्रेममा धोका, व्यवसायिक तनावका कारण आवेशमा आएर आत्महत्या भएको निष्कर्ष निकालेको छ । आत्महत्याको दर नेपालमा बढ्दो छ । आत्महत्या कमजोर मानसिकताको उपज हो । धर्मशास्त्र र कानूनले आत्महत्यालाई निषेध गरेको छ । आत्महत्याको लागि मानसिक अवस्था र सामाजिक परिवेशले प्रोत्साहन गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।
नकारात्मक सोचले नैराश्यता बढाउँछ र आत्महत्याको लागि प्रोत्साहित गर्छ । अर्कोतर्फ नेपाली समाज बदलिँदै गएको छ । यहाँ माया हराएको छ । माया, स्नेह र प्रेम हराउँदा स–साना कुरामा पनि पारिवारिक बिग्रह निम्तने गरेको छ । अध्यात्ममा विश्वास गर्नेहरुले यसको दोष भौतिकतालाई दिँदै आएका छन् । एक हदसम्म यो सही पनि छ । भौतिकवादी समाजमा स्नेहको ठाउँमा स्वार्थले ठाउँ बनाउँछ । सम्बन्धहरु स्वार्थमा अडेका हुन्छन् । त्यस्ता सम्बन्धहरु चीरस्थायी हुने कुरै भएनन् । ती सम्बन्धको जटिलताले निम्त्याउने पनि नैराश्यता नै हो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगैको दुरुपयोग, अर्कोको जीवनसँग आफ्नो दैनिकीको तुलना अनि जीवनप्रति बढ्दै जाने असन्तुष्टीहरु पनि आत्महत्याको कारक हुन् भन्नेमा मनोवैज्ञानिकहरु सहमत देखिएका छन् । त्यसलै बढ्दो आत्महत्या रोक्नको लागि परिवर्तित नेपाली समाजको शुष्म अध्ययन जरुरी देखिएको छ । एकात्मक सोच बढ्दै जानुको कारण पत्ता लगाउनु परेको छ र नैराश्यताबाट मुक्तिको लागि मनोसामाजिक परामर्श र तालीमहरुको व्यवस्था जरुरी देखिएको छ । मनोगत आवेश होस् वा दुरुत्साहन नै किन नहोस्, आत्महत्याको बढ्दो ग्राफलाई कम गर्न प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।
आत्महत्याको दर बढ्दै गर्दा आत्महत्या दुरुत्साहन गर्नेलाई पनि सजायँको व्यवस्था गरिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धि कसूरको दफा १७७ मा ‘ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने । कसैले कसैको ज्यान मार्ने नियतपूर्वक ज्यान मार्ने वा ज्यान मार्न कुनै काम गर्न वा गराउन हुँदैन’ भनिएको छ । यो दफाको स्पष्टिकरण पनि दिइएको छ र ज्यान मार्ने नियतबाट गरिएको कार्यबाट कुनै व्यक्तिको पछि मृत्यु भए पनि कसूर मानिने उल्लेख छ । कसूरको सजायँ माग दाबीको लागि दफा १८५ को उपदफा २ को व्यवस्था छ । जसमा आत्महत्या दुरुत्साहन गर्ने व्यक्तिलाई बढीमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । आत्महत्याको लागि कस्तो अवस्थामा दुरुत्साहन गरेको मानिन्छ भन्ने व्याख्या आ–आफ्नै कोणबाट होलान्् । अदालतले यसको स्पष्ट व्याख्या पनि गर्ला तर कसैले मर्नुअघि दिएका अभिव्यक्ति, लिखतकै आधारमा कसैलाई सजायँको भागिदार बनाउँदा निर्दोषले सजायँ पाउने अवस्था रहने त हैन ? यो प्रश्न गम्भीर बनेको छ । त्यसो त, आत्महत्याको लागि दुरुत्साहन हुँदैन भन्ने पनि छैन । तर, यो विषयमा अब गम्भीर बहस थाल्नैपर्छ ।