कांग्रेसले गल्तीमा क्षमा माग्नुपर्छ, जनतामा उत्साह जगाउनुपर्छ : काफ्ले

ऋषि काफ्ले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पोखराको वडा नम्बर १५ का स्थायी बासिन्दा काफ्ले मृदुभाषी मात्रै छैनन्, बौद्धिकतामा पनि अब्बल छन् । वोटनीमा एमएस्सी गरेका उनी पार्टीमा निष्ठावान र दिएको काम फत्ते गर्ने व्यक्तित्वको रुपमा चिनिन्छन् । पछिल्लो संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार शारदा पौडेलको चुनावी कमाण्डका प्रमुख सदस्यको रुपमा उनले चुनावी अभियान कसरी संचालन गर्ने भन्ने अनुभव बटुलेका छन् । लो–प्रोफाइलमा बसेर काम गर्ने स्वभावका काफ्ले लामो समयदेखि कांग्रेसमै सक्रिय छन् । कास्कीको क्षेत्र नम्बर २ मा उपनिर्वाचन हु“दैगर्दा उनले आफूलाई पनि सो चुनावको प्रत्यासीको रुपमा उभ्याएका छन् । आफ्नो त्याग, समर्पण र व्यक्तित्वका कारण पार्टीले टिकट दिएमा चुनाव सजिलै जित्ने दावी गर्ने काफ्लेसंग उनको उम्मेदवारीभन्दा पनि कास्की कांग्रेसको राजनीतिक अवस्था र चुनावी अभियानबारे ढोरपाटनले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।

नेपाली कांग्रेसमा सधैँ निष्ठाको राजनीतिको कुरा हुन्छ तर व्यवहारमा कहिल्यै लागू हुँदैन । निष्ठाको राजनीति भनेको कस्तो हुनुपर्ने हो ?
– कहिलेकाहिँ सजिलो बेला जो पनि पार्टीमा आउन सक्छन् । तर, अप्ठेरो बेला चाहिने भनेको इमान्दार कार्यकर्ता नै हो । इमान्दारिता निष्ठा, सिद्धान्त र आस्थामा टिकेको हुन्छ । निष्ठावान व्यक्तिहरु कहिल्यै विचलित हुँदैनन् । पार्टी बचाउने भनेको त्यस्तै व्यक्तिहरुले हो । नेपाली कांग्रेस विभिन्न आरोह–अवरोहमा पनि अस्तित्वमा रहिरहेको तिनै निष्ठावान कार्यकर्ताको कारणले हो । निष्ठा भनेको इमान्दारिता पनि हो ।

राजनीति पेशा बनेको बेला निष्ठाको अर्थ रहला र ?
– राजनीतिलाई सेवाको रुपमा नै लिनुपर्छ । अहिले राजनीति पेशा भएकाले नै प्रजातन्त्रप्रति नै नकारात्मक धारणा बन्ने हो कि भन्ने चिन्ता छाएको छ । तर, निष्ठाको महत्व नै सकिएको भन्ने हैन । निष्ठाको सधैँ मूल्य हुन्छ । समाज चेतनशील बनेको छ । अब निष्ठाको मूल्याङ्कन हुन्छ नै । पार्टीले पनि त्यो कुरामा ध्यान दिनुपर्छ ।

उम्मेदवारले गर्नुपर्ने के हो ?
– तल्लो वर्ग र समुदायलाई नेपाली कांग्रेसको नीति र कार्ये कसरी माथि ल्याउँछ भन्ने बुझाउनुपर्छ । तल्लो तहलाई विश्वासमा लिन सकिएन भने त्यसको कुनै अर्थ रहँदैन । नेपाली कांग्रेसले विचार अनुसार तल्लो वर्गकाहरुलाई विश्वासमा लिनै सकेन । समस्या यहीँनेर छ । सबै व्यक्तिलाई कम्तिमा मध्यम वर्ग बनाउने र उपल्लो वर्गले दिएको करको सदुपयोग गर्दै राष्ट्र निर्माण गर्ने भन्ने हो । विपीले सोचेको समाजवाद नै त्यही हो । तल्लो वर्गको उत्थानबिना केही हुनै सक्दैन । यो कुरा जनतासम्म पु¥याउनुपर्छ । जनताले यो कुरा ढिलो बुझ्छन् र त्यो बेलासम्म बिग्रिसकेको हुन्छ ।

कांग्रेसले त यो काम कहिल्यै गरेन कि क्या हो ?
– कांग्रेस विचार अनुसार हिँडेको भए त अरु पार्टी नै हुँदैनथे । घुम्दै फिर्दै सबै कांग्रेसको विचारमा सहमत भएका छन् तर कांग्रेस आफै कमजोर भएको छ । कांग्रेसले नगरेको भन्न पनि मिल्दैन । गरेका कुराहरु प्रचार गर्ने सवालमा पनि कांग्रेस चुक्यो । कांग्रेसले विचार अनुसार आफूलाई सांगठनिक संरचना बनाउने र सत्ता प्राप्त हुँदा आफ्नो घोषणापत्र अनुसार काम गर्नुपर्छ । कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी शैलीमा लैजान पनि सकेन । नेताहरुको जो शैली हो नि, त्यो त्यति राम्रो भएन । रुपान्तरण सकेनन् । सामन्तवादी शैली भयो । नेताहरु सामन्तवादको पर्यायजस्ता देखिए । संसारभर प्रजातान्त्रिक पार्टीहरु मजबूत हुँदा हामी कमजोर हुनुमा यो पनि कारण हो । नागरिकहरुमा गरिबी र अशिक्षा छ, त्यसको संवोधन गरिएन भने कमजोर भइन्छ नै ।

कास्कीले तारानाथ रानाभाटपछि केन्द्रीय नेता नै जन्माउन, सकेन किन हो ?
– यो (पोखरा) ट्रान्जिट प्वाइण्ट भएकोले पनि होला । सबै नेता यहाँ आउने । उनीहरुले एकजना व्यक्ति समात्ने कामले गर्दा सबैलाई आफू ठूलो भन्ने भयो । कांग्रेसको बिग्रहका बेला यहाँका नेताहरुलाई पनि केन्द्रकाले भजाँउन थाले । त्यसले गर्दा यहाँ आपसी मनोमालिन्य पनि सृजना भयो । पार्टी हैन, व्यक्ति मजबुत हुने संस्कार विकास भयो । पार्टी कमजोर हुँदा व्यक्ति बलियो हुँदैन भन्ने बुझिएन । तनहुँकै कुरा गरौँ न ! रामचन्द्र दाई हुनुभयो, गोविन्दराज जोशी हुनुभयो । त्यहाँ नेतृत्व विकास हुँदै गयो । नेवि संघको अध्यक्षमा पनि त्यहाँका दुई तीनजना बन्न पुगे । केन्द्रीय सदस्यमा पनि त्यहाँकाहरुले ४÷५ जनाले जित्दा कास्कीबाट एउटाले पनि नजित्ने अवस्था त्यही कारणले भएको हो । अघिल्लो महाधिवेशमै हेरौँ न, तारानाथ रानाभाटलाई जिताऔँ, अरु कोही मनोनित, कोही अन्य ठाउँमा व्यवस्थित होऊँ भनेको भए, मिलेको भए कास्कीले केन्द्रीय नेता पाउँथ्यो । यहाँबाट पनि नेता जन्मिन्थे । त्यो संस्कारको यहाँ विकास हुन सकेको छैन । नत्र त, २०३६ सालमै बहुदललाई भोट दिएको कास्की नेपाली कांग्रेसको लागि पनि उर्वरभूमि नै हो नि । २०५६ सालमा सबै जितेको हो । २०७० मा पनि त्यही अवस्था भएकै हो । पार्टीलाई संस्थागत, सबैलाई समेट्ने र मजबूत बनाउने किसिमले काम नहुँदा यो अवस्था आएको हो ।

कांग्रेसले अघिल्लो चुनावमा नराम्रो परिणाम भोग्यो, अबको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पार्टी सभापतिले निर्देशन दिएर मात्रै चुनाव जित्छ त, कांग्रेसले ?
– २०४८ को आम निर्वाचनमा मा कांग्रेसले समग्र गण्डकी नै कांग्रेसले जित्यो । २०४९ सालको स्थानीयमा पनि सबै जित्यो । २०५१ सालमा बराबरीमा रोकियो कांग्रेस । २०५४ मा मनाङमा मात्र कांग्रेसको बहुमत थियो । त्यसपछि २०५६ मा फेरि कांग्रेस बौरियो । २०६४ सालमा माओवादी आयो । २०७० मा कांग्रेस फेरि ठूलो पार्टी बन्यो अनि २०७४ मा खुुम्चिन पुग्यो । चुनावी नतिजालाई हामीले हाम्रो सक्रियता, सांगठनिक स्वरुप र एजेण्डासँग पनि जोडेर हेर्नुपर्छ । अर्को कुरा हामीले हाम्रो सांगठनिक स्वरुप परिवर्तन गर्नुपर्छ । किनकि, संसारभर प्रजातान्त्रिक पार्टीहरुबीच प्रतिष्पर्धा हुन्छ , नेपालमा कुनै ‘वाद’मा अडेको अनि पूर्णकालीन कार्यकर्ता भएको पार्टीसँग प्रतिष्पर्धा गर्नुपर्छ । त्यसैले यहाँ कांग्रेस कमजोर छ । अहिले केपी ओलीले ५०÷६० प्रतिशत काम अध्यक्षको रुपमा आफै गर्नुहुन्छ । त्यो काममा प्रचण्डले सघाउनुहुन्छ । पोलिटब्यूरो, केन्द्रीय समितिले पनि त्यसरी नै काम गर्छन् । हाम्रो मासबेस पार्टीमा यो कुरा हुनै सक्दैन । अनि हाम्रो चुनावी क्याम्पेन पनि प्रभावित हुन्छ । अर्कोतर्फ हामीले आफ्नो कुरा बुझाउनै सकेका छैनौँ । हामी के हौँ भन्ने बुझाउन सक्ने हो भने, आफ्ना विचारलाई जनताकहाँ पु¥याउने हो भने कांग्रेसले नजित्ने कुरै छैन । पार्टी भनेको दर्शन हो । दर्शन र विचारबाट पार्टी परिचालित हुन्छ । पार्टीका नीति तथा कार्यक्रमहरु त्यहीँबाट बन्ने हुन् । नीति र कार्यक्रमहरु घोषणापत्रमा लेखिनुपर्छ । हामीले कतिपय अवस्थामा घोषणापत्रमा लेखेका कुरा कार्यान्वयन गर्नै सकेनौँ । हामीले एक वर्षमा कति काम गर्ने हो, दुई वर्षमा के गर्ने र पाँचवर्ष वा लामो समयपछि के गर्ने भन्ने स्पष्ट पार्नुपर्छ ।
अर्कोतर्फ, चुनावी रणनीतिमा अर्को पार्टीलाई गाली गर्नु एउटा कुरा होला तर आफ्ना कुरा नै भन्न नसक्नु कमजोरी नै हो । हिजो गरेका गल्तीहरुमा क्षमा माग्दै जनताका मागहरुलाई घोषणापत्रमा समेट्दै अघिबढ्नु नै चुनाव जित्ने आधार हुन् । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनकै कुरा गर्ने हो भने समानुपातिक मतमा कांग्रेस र तत्कालीन एमालेले प्राप्त गरेको मतमा खासै फरक छैन । २ हजार वरपरको मत त विचार र कार्यक्रमले पनि आफ्नो पक्षमा पार्न सकिन्छ नि । कार्यकर्ता परिचालन महत्वपूर्ण हो, पार्टी कार्यकर्तामा एकता अर्को कुरा हो ।

सांगठनिक सुधार भनेको के हो ?
– कम्तिमा अब प्रतिष्पर्धाको लागि सदस्यमा आधारित पार्टी बनाउनुपर्छ कांग्रेसलाई भन्ने मेरो कुरा हो । यसले हामीलाई प्रतिष्पर्धी बनाउँछ ।

अब जित्नको लागि कांग्रेसले के गर्नुपर्छ त ?
– पार्टीगत चुनावमा व्यक्ति चुनाव लड्ने हैन, त्यसको लागि तल्लो तहसम्म हाम्रो संगठन छ । तल्लो तहसम्मलाई परिचालन गर्ने काम पार्टीको हो । तल्लो तह, वर्ग र समुदायको उत्थानको लागि कार्यक्रम ल्याउनु पर्छ । तल्लो तहको लागि कार्यक्रम ल्याउन नसके विजयी हुन सकिँदैन, देशको विकास पनि हुँदैन । त्यसैले तल्लो वर्गको भावनालाई हामीले ध्यान दिनैपर्छ । मैले विभिन्न चुनावी अभियानमा लागेर पाएको शिक्षा के हो भने, ‘तल्लो वर्ग, तल्लो तह र उनीहरुका चाहनाको संवोधन ।’ उम्मेदवार पुगोस् कि नपुगोस् हरेक ११ वडामा कार्यकर्ता पुग्नुपर्छ । कार्यक्रम हुनुपर्छ । प्रजातन्त्र के हो ? हाम्रो एजेण्डा के हो भन्ने सन्देश प्रवाहित गर्नुपर्छ । मनमुटाव नगरौँ । सबै मिलेर चुनाव लड्नुपर्छ । चुनाव व्यक्तिले हैन पार्टीले लड्ने हो भन्ने कुरा सबैले मनन गरे, कांग्रेसले जित्नेमा द्धिविधा छैन । अरु पार्टीभन्दा हामी के कारणले फरक हौँ भन्ने बुझाऔँ ।

तपाई आफू पनि आकांक्षी, पटक–पटक एउटैले अवसर पाउने अवस्था छ नि कांगेसमा ? टिकट पुरानाले पाउने कि नयाँले, कि पैसावालले ?
– नयाँ पुरानो भन्दा पनि विचारको कुरा हो । पार्टीप्रति निष्ठाको कुरा हो । नयाँ पनि आएकै छन् । पुरानाले पनि पाएकै हुन् । जो जागरुक छ, जसले संगठनमा काम गरेको छ, लोकप्रिय छ, त्यसले टिकट पाउनुपर्छ भन्ने मेरो कुरा हो । पैसावालको कुरा त म गर्दैगर्दिन । पैसामा टिकट बाँड्ने हो भने पार्टी विघटन गरे पनि हुन्छ ।

कास्कीमा नयाँ र पुराना पुस्ता जोडिन नसकेको हो, कांग्रेसमा ?
– स्थानीय निकायको चुनाव नहुँदा नेतृत्व विकास हुन पाएन । सबै नेताहरुको व्यवस्थापन हुन्थ्यो । स्थानीय निकायमा चुनाव नहुँदा नयाँ मान्छेले काम गर्न पाएनन् । यो अरु पार्टीको हकमा पनि लागु हुन्छ । जो पुराना नेता छन्, उनीहरु नै चर्चामा आएको कुरा हो तर नयाँले काम गरेको छैन भन्ने हैन । म ८० वर्ष पुगेर पाउनुपर्छ वा पाउनुहुन्न भन्ने पक्षमा छैन । जाँगर भए ८० वर्षमा पनि काम गर्न सकिन्छ, जाँगर नभए तन्नेरीले पनि केही गर्न सक्दैन । त्यसैले काम गर्न सक्नेलाई टिकट दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

फरक प्रसङ्ग, जनप्रतिनिधिहरुले लिँदै आएको तलब–भत्ताप्रति जनअसन्तुष्टी व्यापक छ, यसले संघीयता नै असफल बनाउने त हैन ?
– हो, यो कुरा सुनिएको छ । अहिले जति राजश्व उठेको छ, त्यो तलब भत्तामै खर्च भएको छ । राजश्व बाँडफाँड गर्दा चालु खर्च, वित्तीय व्यवस्थापन खर्च र विकास खर्चलाई हेरिन्छ । अस्तीकै बजेट हेरौँ न । सबै पैसा तलबमा गएको छ । राजश्व बाँडफाँड हुँदा ठूलो रकम चालू खर्चमा गएपछि विकास सम्भव हुँदैन । विकास नभए जनतामा निरासा आउँछ । यो स्वभाविक हो ।  चालु खर्च १३ अर्ब १५ अर्ब बजेटमा ८ खर्बभन्दा माथि चालु खर्च छ । हाम्रो करबाट ८ खर्ब ३२ अर्ब राजश्वबाट जम्मा हुने देखिन्छ । करबाट जम्मा हुने पैसाले राज्यको चालु खर्च पनि चल्दैन । वित्तीय व्यवस्थापन भनेको अघिल्लो पटक लिएका ऋणहरुको व्याज र साँवा तिर्ने हो । नियति के छ भने, त्यो पनि ऋणमै निर्भर छ । अब विकास कहाँबाट गर्ने ? त्यसैले राजनीतिक रुपले निर्वाचित व्यक्तिले तलब भत्ता कम लिनुपर्छ । अहिले संघीयता कार्यान्वयनमा खर्च ठूलो भएको छ । यसले विकासको लक्ष्य पच्छ्याउन सकिँदैन भन्ने सबैले बुझ्नुपर्छ । संघीयता ल्याउनुमा नेपाली कांग्रेससहित सबै राजनीतिक दलको योगदान छ । यसको संरक्षणमा पनि कांग्रेससहितका दलहरुले काम गर्नुपर्छ ।