तिजको अवसरमा विविध कार्यक्रम

बागलुङ, १४ भदौ – शुक्रबार बागलुङका बिभिन्न बिद्यालय तथा विद्यालयहरुसँग सम्बन्धित संघ संस्थाहरुले दरखाने कार्यक्रम सम्पन्न गरेका छन् । फ्युचर ब्राईटर बोर्डिङ स्कुल, युनिभर्सल सवलाईम एकेडेमी र न्यू एभरेष्ट एकेडेमी लगायतका विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावक तथा शुभचिन्तकलाई दर खुवाएका हुन् । नीजि तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याव्सन बागलुङ नगर कमिटस्ले पनि दरखाने कार्यक्रम सम्पन्न गरेको छ । आउँदै गरेको तीज पर्वको अवसर पारेर उनीहरुले दर खुवाएका हुन् । दरसँगै बिद्यालयहरुले विविध साँस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको फ्युचर ब्राईटर बोर्डिङ स्कुलका प्रिन्सिपल बालकृष्ण शर्माले बताए । फ्युचरले आयोजना गरेको तीज नृत्य प्रतियोगिता तथा दरखाने कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा बागलुङ इन्चार्ज बलावती शर्माले साँस्कृतिक पर्वहरु मनाउँदा भड्किलो बनाउन नहुनेमा जोड दिईन् । तीज पर्वले सबैमा सद्भाव कायम गर्नुपर्ने भन्दै उनले संस्कृतिको संरक्षण र अवसरको पर्वका रुपमा मनाउनुपर्ने बताईन् । कार्यक्रममा भीमापोखरा युवा क्लव बागलुङका कार्यवहाक अध्यक्ष मणिभद्र शर्मा, अभिभावक शोभा श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका सुनिता पुरीले गरेकी थिईन् । विद्यालयले आन्तरिक नृत्य प्रतियोगीता आयोजना गरेको थियो । तीस जना भन्दा धेरै विद्यार्थीले कार्यक्रममा सहभागीता जनाएका थिए ।

   त्यस्तै प्याव्सन बागलुङ नगर कमिटीले आयोजना गरेको तीज नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै जिल्ला वडा संघ बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिका ८ का वडा अध्यक्ष गणेश थापाले तीज जस्ता पर्वहरुलाई सद्भाव बाँड्ने पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्याव्सन बागलुङ नगरका सचिव गाणेश शर्मा लगायतले बोलेका थिए । कार्यक्रम प्याव्सन बागलुङ नगरका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षता, युएस एकेडेमीका प्रिन्सिपल दलबहादुर थापाको स्वागत र सञ्चालन शिक्षक शिव शर्मा र सरिता शर्माले गरेका थिए । नगरभित्रका विद्यालयहरुको बिचमा भएको प्रतिस्पर्धामा आठ समुह सहभागी थिए । यसैबिच मातृभूमि बहुउद्धेश्यीय सहकारी संस्थाले तीज बिशेष कार्यक्रममा लागू पदार्थ ओसारपसार बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । दरखाने कार्यक्रमलाई प्रभावकारी बनाउन सहकारीले आवद्ध शेयर सदस्यलाई अभिमूखिकरण समेत गराएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले किसोर अबस्थामा लागू पदार्थ दुव्र्यसनबाट जोगाउन सकियो भने सभ्य समाज निर्माण हुने बताए । लागूपदार्थको सेवन र ओसारपसारले व्यक्तिलाई मात्र नभई समाज र राष्ट्रलाई समेत घाटा हुने भन्दै बिकृत युवाबाट देश बिकासको आस गर्न पनि नसकिने बताए ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराई, प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्त लगायतले बोलेका थिए । सहकारीमा आवद्द शेयर सदस्यहरुले आफ्ना बालबालिकालाई सचेत बनाउँदा समाज सभ्य बन्ने भएकोले तीज बिशेष कार्यक्रममा अभिमूखिकरण राखिएको सहकारीका अध्यक्ष गुणराज पौडेलले बताए । सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, सचिव रामचन्द्र शर्माको स्वागत र रामप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।