एफएममा तीज गित प्रतियोगिता

बागलुङ, १५ भदौ – तीज पर्वको अवसर पारेर शनिबार बागलुङमा प्रसारणमा रहेको धौलागिरी एफ.एम ९८.६ मेगाहर्जले खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले सांस्कृतिक पर्वहरुको संरक्षणमा सबैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिए । देशको समग्र विकासका अन्य पाटाहरु जस्तै सांस्कृतिक पर्वहरुको संरक्षण र विकास पनि एउटा अंग भएको भन्दै उनले यस्ता पर्वहरुले सबैमा एकता, शान्ति र सद्भावको भावना विकास गराउने बताए । पर्वहरु मनाउँदा आईरहेका बिकृतिहरुलाई निरुत्साहित गर्दै सबैको साझा हुने गरी मनाउनु पर्ने उनको भनाई थियो । सञ्चारमाध्यामले तीज जस्तो पर्वको अवसरमा आयोजना गर्ने कार्यक्रमहरु सूचना र सन्देश प्रवाह हिसाबले महत्वपूर्ण हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले पर्वहरुको नममा पछिल्लो समय समाजमा फैलिएका बिकृतिको बिरुद्धमा लाग्नुपर्ने बेला आएको बताए । तीज जस्ता मौलिक पर्वहरुमानै मौलिकता हराएको भन्दै उनले त्यसको सुधारका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । तीज गितहरुमा आएको छाडापनप्रति संकेत गर्दै शिरिषले तीज गितको मैलिकता जोगाउने दायित्व सबैको भएको बताए । दश समुह रहेको प्रतियोगितमा सामाजिक बिकृति, कृषि, शिक्षा र देशको समसामयिक बिषयबस्तुको बारेमा तयार पारिएका गीतहरु प्रस्तुत भएका थिए । कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठान बागलुङ प्रथम, अमृत आदर्श बोर्डिङ स्कुल दोस्रो र जमुना रायमाझीको समुह तेस्रो भएका थिए । प्रतियोगीमध्ये प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रदेश सभा सदस्य सापकोटाले बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । तीज पर्वको महत्वको बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको एफएमका अध्यक्ष हरिनारायण गौतमले बताए । कार्यक्रम हरिनारायण गौतमको अध्यक्षता, नविन शिशिर, ताराप्रसाद शर्मा र आयशा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।