रुपा हत्याकाण्ड र मौन प्रशासन

समाज भनेको बलेको आगो ताप्ने, जसको शक्ति उसको भक्ति नै हो भन्ने कुरा अब भनिरहन आबश्यक छैन । हिजो निर्मला पन्तको हत्याकाण्डको बारेमा देशभर आगो बल्यो । हाम्रै जिल्लामा समेत महिला दिदीबहिनीहरू आन्दोलनमा उत्रिए । हाम्रै चेली रूपा गौतमको हत्याकाण्डको बारेमा कसैले पनि खासै चासो लिएको पनि देखिएन । समाज कति स्वार्थी र निर्दयी छ भन्ने एउटा ज्वलन्त उदाहरण हो यो । बागलुङ बजारमा महिला दिदीबहिनीले तीजको रमझम मनाउन शुरू गरिसकेका छन् । साँच्चै तीजको आफैमा रमाइलो पर्व हो । बागलुङ जिल्लामा तीज पर्व भन्दासाथ आजभन्दा ४ बर्ष अगाडि तीजकै दिन माइतबाट घरतर्फ फर्कदै गर्दा बागलुङ नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्गकै बिच सडकमा रूपा गौतमको खुकुरी प्रहारबाट हत्या भएको थियोे ।
धेरैले यो घटना भुल्दै जान थालेको देखिन्छ । एकजना महिला जो तीजको दर खाएर घर फर्केको बेला बीच सडकमै मुला काटेझै काटिन्छ तर अहिलेसम्म हत्याको कुनै सुराक पाउन सकिदैन भने यो कस्तो बिडम्वना हो । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुखले पत्रकार सम्मेलन गर्दा तीजको कोसेली रूपाको हत्यारा सार्वजनिक गर्ने थियो, अहिले त्यो भनाई भनाईमै सिमित बनेको छ । अहिले दिनहुँजसो बालिका बलात्कार हुने, हत्या हुने घटनाले तिब्रता लिएको देखिन्छ । बलात्कारपछि हत्या गरेर छोडेको घटना एउटा पक्ष हो तर रूपा गौतमको सवालमा भने सडकमा हिडिरहेको समयमा बिनाकारण हतियार प्रयोग गरेर हत्या गरिएको छ । प्रहरी प्रशासनले हत्याकाण्डलाई राम्रोसँग नहेरी दिएकोले हत्यारा पत्ता नलागेको हो भनेर बागलुङका जनताको गुनासो छ । हुनतः रूपा हत्याकाण्ड पछि प्रहरीको सक्रियता निकै थियो । अहिले जसरी कंचनपुरमा १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरि उखु बारीमा फालियो । त्यो घटनाले अहिले पनि कंचनपुरमा आन्दोलनका बाँछिटा देखिन छाडेको छैन । सरकारले पटकपटक छानबिन समिति गठन गरेपनि अहिलेसम्म प्रहरी हत्याकाण्डको नजिक पुग्न सकेको छैन ।
हत्याको प्रमाण जुटाउनु पर्ने प्रहरीले स्वयम् प्रमाण नस्ट गर्ने काममा लागेका जुन ब्यक्तिमाथि छानबिन हुनुपर्ने, अनुसन्धान हुनुपर्ने भनेर जनताले आवाज उठाइरहेको समयमा प्रहरीले गलत काम गरेपछि हत्याकाण्डको छानबिन गरिरहेको प्रहरी र प्रशासन प्रमुखलाई गृह मन्त्रालयले काठमाडौ फिर्ता बोलाएको मात्रै छैन एसपीलाई घटनाको छानबिन नभए सम्मलाई निलम्बन गरेको छ । अहिले यो कुरा यहाँ उठाउन खोजेको किन हो भने हाम्रो प्रहरीको अनुसन्धान रूपा हत्याकाण्डमा पनि कहिँकतै चुकेको त छैन ? किन अहिलेसम्म एकजना सामान्य महिला जो स्वतन्त्र ब्यापार ब्यबसाय गरेर बागलुङको काँठेखोला गाउँ पालिकामा बस्दै आएकी थिइन् । जसलाई हत्या गर्नुपर्ने कुनै कारण देखिदैन । यस्तो घटनाको दोषी समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।
हुनतः सबै काम भीड र आन्दोलनले छिनोफानो गर्न सक्दैन । कतिपय अवस्थामा भीड प्रतिपादक पनि हुन सक्ला, कतिपय भिड अनियन्त्रित हुन्छ यसले झन् गलत दिशातर्फ लैजान्छ भन्ने कुरालाई पनि मनन गर्न जरुरी छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा रूपा हत्याकाण्ड पछि ७ जना प्रहरी प्रमुख फेरिएका छन् । जब जिल्लामा नयाँ प्रहरी प्रमुख आएपछि पत्रकार भेटघाट हुने गर्छ तब बागलुङको पत्रकारको प्रश्न हुन्छ रूपा हत्याकाण्ड कहिले पत्ता लाग्छ ? प्रहरी प्रमुखको जवाफ पनि लगभग एउटै हुन्छ हामी अहिले पनि अनुसन्धानको अबस्थामा छौ, चाडै पत्ता लाग्छ भन्ने नै हुन्छ । हुनतः प्रहरी यो घटनालाई गम्भीरतापूर्वक नलिएको हैन तर किन अहिलेसम्म पत्ता लागेन बागलुङे जनताको प्रश्न यो हो ।
रूपा हत्याकाण्ड बागलुङ प्रहरीले पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिविआईलाई जिम्मेवारी दिएको कुरा बाहिर आएको पनि ३ बर्ष बित्न लागिसक्यो । तर अहिलेसम्म घटना २० बाट १९ भएको छैन । के कारणले रोकिएको छ अनुसन्धान, किन अहिलेसम्म हत्यारा पत्ता लागेर सार्वजनिक गर्न सक्दैन प्रहरीले । जतिसुकै बाहिरबाट दबाब दिएपनि केही काम भएको देखिदैन । अहिले रूपा हत्याकाण्ड पनि मात्रै तीज पर्व नजिक आएपछि मात्रै स्मरण हुने एकादेशको कथा जस्तो बन्न पुगेको छ । रूपा गौतमको हत्यापछि बागलुङ जिल्लामा थुप्रै घटना घटे त्यसलाई भने प्रहरीले अनुसन्धान गरेर पत्ता लगाई हत्यारालाई कानुन अनुसार सजाय दिलाउन पनि सफल भएको छ । अहिले पनि बागलुङ सदरमुकाममा दिनहुँजसो तीजको कार्यक्रम भइरहेको छ । महिला दिदीबहिनीलाई भ्याइनभ्याई छ तीजको दर खान तर कस‌‌ैको पनि एजेन्डा छैन रूपा हत्याकाण्डबारे छलफल गर्न । साँच्चै एकजना महिला अनाहकमा मृत्युको मुखमा पुगिन् तर दिनदहाडै हत्या हुँदा समेत हामी अहिलेसम्म चुपचाप छौ । दोषीलाई चाँडै खोज, हत्याकाण्डको निष्पक्ष छानबिन गर, हत्यारा जो कोही भए पनि सार्वजनिक गर र कानुनी कार्वाही गर भनेर अझै दबाब दिन नपुगेको हो कि ।
अहिले सरकारले नयाँ मुलुकी ऐन ल्याएको छ, अपराध गर्नेलाई कार्वाही गर्न यसै कानुनको बारेमा बहस चलिरहेको छ, जसले हिंसा गर्छ त्यसलाई फासी दिनुपर्ने माग भइरहेको छ । अपहरण, बलात्कार र हत्याका घटना कम हैन झन् बढी भइरहेको छ, यसलाई नियन्त्रण गर्ने दायित्व सबैको हो । हामीले पनि प्रहरी प्रशासनलाई सक्ने सहयोग गरेर समाजमा हुने अपराध नियन्त्रण गर्ने भुमिका खेल्न सक्छौ । रूपा गौतमको हत्याकाण्ड पत्ता लगाउन हामीले सक्ने सहयोग र भुमिका स्पष्ट रूपमा गर्न सक्यौं भने पनि सहज हुने देखिन्छ । बागलुङ जिल्लामा न्यायको लागि काम गर्छु भन्ने धेरै संघसंस्था छन्, महिला अधिकारबादी संस्था छन् सबैले आ–आफ्नो तर्फबाट भुमिका खेल्नु पर्छ । राजेशचन्द्र राजभण्डारी