रुद्रेपिपलको आठौं तीज मेला

बागलुङ, १७ भदौ – रुद्रेपिपल युवा क्लबले आयोजना गरेको आठौ तीज बिशेष मेला सोमबार सुरु भएको छ । मेला मंगलवार सम्म चल्नेछ । आठ बर्षदेखि निरन्तर चलेको मेलाले मौलिक कला र संस्कृतिको संरक्षण गर्ने लक्ष बनाएको छ । तीजलाई महोत्सवमय बनाउने र बजारमा रहने महिलालाई रमाउने स्थल बनाउन लागिएको क्लबकी कावा अध्यक्ष शकुन्तला थापा बोसेलले बताईन् ।
मेलामा पूर्ण परियार, सीता परियार सहित दर्जनबढी कलाकारले प्रस्तुतीकरण गर्दैछन् । मेलामा नृत्य प्रतियोगिता, कलाकारहरुको प्रस्तुती, हास्यव्यंग्य लगायतका क्रियाकलाप समावेश छन् । त्यस्तै महिलाहरुका लागि स्लो स्कुटी रेस, पुरुषका लागि स्लो बाईकरेस लगायतका खेल पनि समावेश छन् । त्यसैगरी छेलो प्रतियोगिता, घैटो फोर, खुला शान्ति दौड प्रतियोगिता र खुला महिला लठो तान्ने प्रतियोगिता संचालन हुने बताइएको छ । मेला सम्पन्न गर्न १८ लाख खर्च हुने अनुमान गरिएको छ । यसैबीच तिज पर्वकै अवसर पारेर बिहानी पोलिक्लिनिक बरेङले स्वास्थ्य शिविर संचालन गरेको छ । काठमाण्डौको बीर अस्पताल र ग्रिनसिटी अस्पतालका चिकित्सक मनोज खड्का सहितको टिमले शिविर संचालन गरेको हो । शिविरमा युरिक एसिड, बाथ, हाडजोर्नी लगायतका उपचार हुने बताइएको छ ।