आन्तरिक भ्रमण वर्ष र हाम्रो जिम्मेवारी

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्षको रुपमा मनाईरहेको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेर २० लाख पर्यटक भित्राउने तयारी थालिसकेको छ । गण्डकी प्रदेशका बिभिन्न स्थानीय तहहरुले पनि चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुतीमा भ्रमण बर्षको कुरा उल्लेख गरेका छन् । कसैले गाउँपालिका भ्रमण बर्ष त कसैले नगरपालिका भ्रमण बर्षको नाम दिएर नीति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्थापन समेत गरेका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा कृषि पछिको दोस्रोमा योगदान रहेको क्षेत्र हो पर्यटन । अपवादमा रेमिट्यान्स बाहेक आर्थिक कारोवार धेरै हुने क्षेत्र भएकाले पनि पर्यटनमा केन्द्रदेखि स्थानीय सरकार सम्मको चासो रहेको हुनुपर्छ । प्रदेश र केन्द्र तहमा पर्यटनको बिकास तथा त्यस क्षेत्रसँग सम्बन्धित सबै काम गर्नको लागि मन्त्रालयनै खडा छन् । स्थानीय तहमा पनि यो वा त्यो ढंगबाट पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने काम भैरहेकै छ ।
स्वभाविक रुपमा देशको आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने पर्यटन क्षेत्रको विकासका बिषयमा यतिका धेरै चर्चा हुनु स्वभाविक बिषय हो । विश्वका सिंगापुर, दुवै, थाईल्याण्ड जस्ता देशहरुको उदाहरण हेर्ने हो भने पर्यटन क्षेत्रबाट उनीहरुले फड्को मारेका छन् । जुन हाम्रो देशका लागि उदाहरणीय बन्न सक्छ । हिजो समुन्द्र मुनिबाट कच्चा तेल निकालेर रातारात धनी बनेको खाडी मुलुक दुवै अहिले तेल सकिँदै गर्दा त्यसको विकल्पमा पर्यटनलाई अघि सारेको छ । माटो समेत नरहेको सुख्खा मरुभूमीलाई हराभरा मनाएर सबै संरचना निर्माण भैसकेका छन् । त्यहाँ पर्यटन कसरी सम्भव होला । सामुन्द्रीक पर्यटनबाहेक केही पनि नभएको देशले कसरी पर्यटकीय देश बन्ने प्रयास गरिरहेको छ । पर्यटनमार्फत विकास चाहने देशले त्यो खोज्नुपर्ने कुरा हो । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले त्यस्ता मुलुकबाट सिक्नुपर्ने कुरा के हो भने पर्यटक आउनका लागि सबै खालका संरचनागत सुधारदेखि सुविधा र पूर्वाधारमा पनि ध्यान दिन जरुरी छ । हामीले पर्यटन बर्ष घोषणा गरेर रटान लगाए पनि यदि अहिलेकै अवस्थामा हाम्रो प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार, प्रबद्र्धन र त्यस्ता क्षेत्रहरुमा पूर्वाधारको विकास रहने हो भने हामीले सोचेको जस्तो उपलव्धी हाँसिल गर्न सकिँदैन । हाम्रो देश प्राकृतिक र धार्मिक हिसाबले बहुआयामिक देश हो । देशभरिकै प्राकृतिक सौन्दर्यता भन्दा अझै बढी सौन्दर्य भएको प्रदेशको रुपमा गण्डकी प्रदेशलाई मान्निछ । देशकै पर्यटकीय शहरको रुपमा पोखरा शहरलाई लिईने गरेको छ । जुन शहर गण्डकी प्रदेशका स्थायी राजधानी पनि हो ।
हामीले लिएको लक्ष पहिल्याउनका लागि प्रकृतीले हामिलाई भरपुर साथ दिएको छ । बिभिन्न धर्म र बिचारमा चल्ने संसारका मानिसलाई अटाउन सक्ने हाम्रो सहिष्णुता छ । तर त्यसको प्रयोगमा अझै पनि हामी चुकीरहेका छौं । चार जना बिदेशी घुमे भने त्यसलाई अद्भुत सम्भावना बोकेको क्षेत्र मान्ने र हजारौं आन्तरिक पर्यटकको गन्तव्यलाई हामीले परम्परागत शैलीको भ्रमण मान्ने परम्पराकै कारण हामी आँफु आँफैमा चुकीरहेका छौं । देशीबिदेशी पर्यटक आउँदा जाँदा उनीहरुले खोज्ने वातावरण हामीले कागजमा मात्रै बनाएका छौं जुन कुरा व्यवहारमा अवश्यक छ । पर्यटकले रुचाउने प्रकृतीको छटामा हामी दोहन गरिरहेका छौं र सुन्दरता लुटीरहेका छौं । धार्मिक सम्पदा मासेर माटोको मक्कल बनाउनमा तल्लीन छौं । यि सबै अवस्थाको सुधार गरेर पर्यटकको रोजाई अनुसारको यात्रा, उनीहरुकै चाहना अनुसारको खाना बस्न र उनीहरुकै चाहना अनुसारको प्रकृतीको उपहार देखाउन सकियो भने मात्रै हामी लक्षमा पुग्ने छौं । यी सबै बिषय बस्तुमा राज्यको उपल्लो तहबाट भन्दा तल्लो तहबाट भैरहेका प्रयास र थालिएको पहल सकरात्मक पक्ष हो ।