प्रहरी पत्रकारिताले निम्त्याएको संकट

केही दिन पहिला म एक दैनिक पत्रिकाको अफिसमा गएको थिएँ । म जाँदा त्यस समाचारपत्रका संवाददाता टेलिफोनमा कसैसँग कुरा गर्दै थिएँ । उनी टेलिफोनमा भन्दै थिएँ ‘मैले समाचार लेखें, तपाईंले कारबाही कहिले गर्नुहुन्छ ?’ उनी धम्कीको शैलीमा भन्दै थिएँ, ‘तपाईं कारबाही गर्नुहुन्न भने म तपाईंका विरुद्ध समाचार लेख्छु ।’ आफूले लेखेको समाचारको विषयलाई लिएर सम्बन्धित निकायले कारबाही गरोस् भन्ने उनको आशय थियो । उनी आफूले लेखेको समाचारका आधारमा कारबाही गराउन खोज्दै थिए । धेरै ‘फलोअप’ दिइने समाचारहरु प्रायशः प्रहरी पत्रकारितामा आधारित हुन्छन् ।
त्यसो त प्रहरी पत्रकारिता नेपालका ठूला साना सबैजसो सञ्चार माध्यमहरुको शैली हो । सञ्चार माध्यमहरु एउटा विषय उठाउँछन् । त्यो विषय उठाए पछि कारबाही गर्ने निकायलाई बारम्बार घच्घचाउँछ र कारबाही गर्ने हदसम्म लैजान चाहन्छन् । त्यहाँ नपुग्दासम्म उनीहरुले जतिसुकै महत्वपूर्ण विषय आइपुगे पनि त्यस्तो विषयलाई स्थान दिदैनन् । नेपाली पत्रकारिताको स्कुलले यही सिकाइरहेको छ, अहिले । सही के हो गलत के हो ? पत्रकारिताको दायित्व के हो ? सत्यतथ्य र सन्तुलन आवश्यक पर्छ कि पर्दैन ? पत्रकारिता आवेगका भरमा चल्ने कि विवेक र बुद्धिमा भरमा ? शायद यतिबेला नेपाली पत्रकारिताले निक्र्यौल गर्न सक्ने हैसियतमा पुगिसकेको अवस्था छैन । सुषुप्त रहेको यही प्रहरी शैलीलाई न्युज ट्वान्टी फोरमा रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत सतहमा ल्याए । यसरी उनी अभियोग लगाउने, पक्राऊ र फैलसा तुरुन्तातुरुन्तै गर्दा चर्चित पनि भए । चर्चित हुनु र सफल हुनु फरक कुरा हुन् भन्ने शायद उनले लोकप्रियताको उन्मादको क्षणमा नबुझे पनि बिस्तारै अवश्य पनि बुझ्लान । इटहरीका मेयर द्वारिकालाल चौधरीले रविलाई अलिकति सचेत गराएका पनि हुन् । चौधरीका सन्दर्भमा आफ्नो भनाइबाट थौरे पछि हटेका रवीले आफ्नो शैलीलाई भने परिमार्जन गरेनन् । शायद समयमै त्यो उनले बुझेको भए उनलाई यो विपत्ति आइलाग्ने थिएन कि ? नेपाली पत्रकारिताको कही न कही कतै न कतैबाट दुरुपयोग पनि भइरहेको छ । गालामा माला, उच्च आसनमा बस्ने व्यवस्था, सम्बोधनमा आदर शायद यही कारण नेपालका पत्रकारहरुले पाएका छन् ।
शालिकराम पुडासैनीको मृत्युको घटनामा कसरी प्रहरी पत्रकारिता भयो भन्ने पाठकलाई लाग्न सक्छ । यहाँनेर अस्मिताले अदालतमा दिएको यो बयानलाई सम्झनुपर्ने हुन्छ । ‘…वारदातभन्दा करिब सात–आठ दिन पहिले मैले उनी पहिले नै विवाहित हुन् भन्ने थाहा पाएँ । झुठो बोलिरहेका छन् भन्ने प्रष्ट भएपछि तिमीले मलाई फसायौ भनेर गाली गरें । मेरो पिछा गर्न छाडिदेऊ पनि भनेँ । तर मलाई पटकपटक फोन गरी, बाटोसमेत छेकी दुःख र हैरानी दिन नछाडेकाले मैले सो कुराको जानकारी उनले पहिले काम गर्ने न्युज २४ टिभीको ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा काम गर्ने रवि लामिछाने, युवराज कँडेलसमेतलाई भनेमा उनीहरुले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाइदेलान् भन्ने सोचें । त्यसैले घटना हुनुभन्दा चार पाँच दिन पहिले सो टेलिभिजनका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरेर भेटी रवि लामिछानेसमेतलाई सो कुराको जानकारी गराइदिनु भनी म र मृतक शालिकरामबीच भएका म्यासेजहरुका केही स्क्रिन सर्टहरुसमेत दिएकी थिएँ । उनैले भनेअनुसार मैले न्युज २४ को कार्यालयअगाडि उभिएको फोटो खिची शालिकराम पुडासैनीलाई पठाएकी थिएँ ।’ सायद यो कुरा त्यहाँ नभनेर प्रहरी अफिसमा गएर भनेको भए परिस्थिति फरक हुने मात्रै होइन कि शालिकरामको समेत ज्यान जोगिन सक्थ्यो । टेलिभिजनका सञ्चारकर्मीहरुले पनि त्यसको समाधान ‘सीधा कुरा जनतासँग’ कार्यक्रम मार्फत नखोजेको भए उनीहरुले पनि दुःख पाउनुपर्ने थिएन होला । हो, हाम्रो राज्य संयन्त्रमा व्यापक भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता छ । राजनीतिक नेतृत्व असफल प्रायः छ । राजसंस्थाको बर्हिगमनपछिको शुन्यतालाई परिपूर्ति गर्ने संस्था नहुँदा जनतामा चरम निराशा व्याप्त छ । तर त्यसो भए के सबै कुराको समाधान सञ्चार माध्यमबाटै हुन्छ त ? हुँदैन । उदाहरणका लागि विद्युत प्राधिकरणलाई लिन सकिन्छ । विद्युत प्राधिकरणको नेतृत्व गतिशील हुँदा उसका सबै तल्ला निकायहरु ठीक ठाउँमा आए । तसर्थ राज्यसंयन्त्रले गर्ने काम अरु कसैले गर्न सक्दैन । राज्य संयन्त्रमै सुधार आउनु आवश्यक छ । खबरदारी सञ्चार माध्यमले गर्नैपर्छ । गल्ती कहाँकहाँ गरेको छ भनेर देखाइदिनै पर्छ । तर आफै अगाडि सरेर प्रहरी बन्न मिल्दैन ।
यहाँ तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को कदम पछिको परिवेशलाई पनि स्मरण गर्नुपर्ने हुन्छ । त्यतिबेला ‘समय’ साप्ताहिक जस्ता एकाध मिडियाले बाहेक अन्य मिडियाले वास्तविक समाचार सम्प्रेषण गर्नै सकेनन् । नेपाली पत्रकारिताले ‘ताक परे तिवारी नत्र गोतामे’ गरेको कारणले गर्दा राजाका विरुद्ध सुरुसुरुमा एक लाइन पनि लेख्न सकेनन् । फलतः विपक्षीहरुका समाचारहरु लेखिएनन् । राजाकै जी हजुरी सञ्चार माध्यममा कैद भए । हालैको उदाहरण हेर्ने हो भने पनि अझै पनि नेपाली पत्रकारिता पूर्वाग्राही छ । रवी प्रहरी नियन्त्रणमा परेपछि मूलधार र ठूलाठूला सञ्चार माध्यमहरुले उनका पक्षमा भएका ठूल्ठूला प्रर्दशनका कुनै पनि समाचारहरुलाई स्थान नै दिएनन् । नेपाली सञ्चार माध्यममा सिन्डिकेटको यो तितो यर्थाथ पनि छ । काठमाडौँमा जम्मा भएका प्रर्दशनकारीहरुलाई सञ्चार माध्यमहरुले देख्दै देखेनन् ।
तसर्थ सञ्चार माध्यमहरु आफै प्रहरी बन्न मिल्दैन, पैरवी गर्न मिल्छ । नेपाली पत्रकारिताको आजको यो बाटो नसिच्चएमा भोलिका दिनमा यो क्षेत्रले अझ विवाद झेल्ने निश्चित छ ।