आदर्श सञ्चार सहकारीको १३ औं साधारण सभा

सिर्जनशिल पत्रकारिता पुरस्कार थापालाई

बागलुङ, २२ भदौ – आदर्श सञ्चार सहकारी संस्था बागलुङको १३ औं साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । सहकारीको साधारण सभामा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीमार्फत चलेका सञ्चार माध्यामको भविश्य उज्वल रहेको बताए । पछिल्लो समय नेपालमा खलेका सहकारीहरुले उद्देश्य अनुरुप काम गर्न नसकिरहेको अवस्थामा आदर्श सञ्चार नमुना उद्देश्य अनुसारको काम गर्ने नमुना सहकारी भएको उनको तर्क थियो । आर्थिक क्रियाकलाप सञ्चालन गर्दा घाटा–नाफा मात्रै नभएर सामाजिक रुपान्तरण र उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्नेमा थापाले जोड दिए ।    संस्थाले गत आर्थिक बर्षमा २ करोड ४५ लाख ८२ हजार १८ रुपैयाँ मुनाफा गरेको जनाएको छ । झण्डै साढे १६ करोडको कारोवार गरेको संस्थाले उक्त मुनाफा निकालेको हो । मुनाफामध्ये २ करोड १८ लाख ३९ हजार २ सय ८४ रुपैयाँ खर्च भएको कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।

     सहकारीमार्फत पत्रिकाको प्रकाशन, बिभिन्न सञ्चारमाध्यममा लगानी र बचत तथा ऋणको कारोवार गर्दै आएको संस्थाले बर्षभरिको कारोवार सन्तोषजनक रहेको जनाएको छ । साधारणसभाका अवसरमा १८ जना जेष्ठ नागरिक, चार दर्जन बढी उत्कृष्ट कारोवार गर्ने बचतकर्तालाई सम्मान गरिएको थियो । त्यस्तै सहकारीका सदस्य बृद्धिमा सहयोग गर्ने शेयर सदस्य र आन्तरिक कर्मचारी तथा स्तम्भकारलाई सहकारीले सम्मान गरेको छ । यस बर्ष उत्कृष्ट कर्मचारीको रुपमा धौलागिरी जागरण साप्ताहिकका सह–सम्पादकद्वय सिर्जना पन्त र सुवास गौतम पुरस्कृत भएका छन् । उनीहरुलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो । त्यस्तै स्तम्भकारको रुपमा राजेशचन्द्र राजभण्डारी, कृषिता अधिकारी, जिवन कुमार शाक्य र तुलसीराम पाण्डे सम्मानित भए । उनीहरुलाई नगद २ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको पत्रिकाका कार्यकारी सम्पादक दिल शिरिषले बताए । सहकारीले शनिबारदेखि नै अनलाईन पत्रिका सञ्चालनमा ल्याएको छ । अनलाईन पत्रिकाको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले शुभारम्भ गरे । आदर्श सञ्चार डट कम नाम गरेको अनलाईन पत्रिका सञ्चालनमा आएको हो ।
सिर्जनशिल पत्रकारिता पुरस्कार थापालाई
पत्रकार महासंघ बागलुङका सचिव रामबहादुर थापा सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । आदर्श सञ्चार सहकारी संस्थाले शनिबार १३ औं साधारण सभामा थापालाई उक्त पुरस्कार प्रदान गरेको हो । सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष हुमकुमारी जिसी अञ्जुले बताईन् । सहकारीले प्रकाशन गर्दै आएको धौलागिरी जागरण दैनिकमा कार्यरत सह–सम्पादक सिर्जना पन्त र पूर्वसञ्चालक सन्तोष क्षेत्रीले बिबाह खर्च कटाएर स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष साविकको धौलागिरी अञ्चलका एक जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । थापाले पाचौं सिर्जनशिल पत्रकारिता पुरस्कार प्राप्त गरेका हुन् । पाँच हजार राशी रहेको पुरस्कार थापालाई प्रदान गरिएको हो ।
    उक्त पुरस्कारबाट पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, पर्वतका पत्रकार सन्तोष थापा, म्याग्दीका पत्रकार सन्तोष गौतम र बागलुङकै पत्रकार संगम घर्ति पुरस्कृत भएका थिए । सन्तोष र सिर्जनाले बिबाह खर्च कटाएर ५० हजार राशिको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषको व्याज रकमले सिर्जनशिल पत्रकारिता पुरस्कार प्रदान हुँदै आएको छ ।