बागलुङ बहुद्देश्यीय १९ बर्षमा

बागलुङ, २२ भदौ – बागलुङ बहुद्देश्यीय सहकारी संस्थाको १८ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सहकारीको सुपरीवेक्षण, अध्ययन र अनुगमनको काम तत्काल थालिने बताएका छन् ।
सहकारीहरुलाई मजबुद बनाएर आर्थिक क्रियाकलाप सञ्चालन नगर्दासम्म आर्थिक समृद्धि हात नलाग्ने भन्दै पौडेलले त्यसका लागि अनुगमन र नियमनको खाँचो रहेको बताए । सदरमुकाममा रहेका कतिपय सहकारीको करोवार कुनै कर्मसियल बैंकको भन्दा धेरै रहेको भन्दै पौडेलले आर्थिक क्रियाकलापमा सम्यमता अपनाउनु पर्नेमा जोड दिए । तल्लो तहका उद्यमीहरुलाई सहकारी सघाएको भन्दै उनले बचत गर्ने बानीको बिकास गराउन सहकारीको ठुलो भूमिका रहेको उल्लेख गरे । पौडेले नगरमा सहकारी ऐन लागु भएको लामो समय बितिसक्दा समेत सहकारी अनुगमन तथा सुपरीवेक्षण गर्ने कुनै समिती गठन नहुँदा बेथिती मौलाएको टिप्पणी गरे । शोषणलाई कम गर्न र धनी–गरीव बीचको खाडल घटाउने माध्यम सहाकरी भएको भन्दै पौडेलले चर्को ब्याजदर र शोषणबाट मुत्तिको लागि सहकारी अवधारण अवलम्वन गरेको बताए ।
कार्यक्रममा सहकरी संघ बागलुङका अध्यक्ष दिपक गौतम, पूर्व राज्यमन्त्री ओमकार प्रसाद गौचन, समाजसेवी देव बहादुर श्रेष्ठ, एकता सहकारीका अध्यक्ष ध्रुव शर्मा, ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ लगाएतले बोलेका थिए । सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट अवधि बचतकर्ता, असल बचत कर्ताहरुलाई सम्मान गरेको थियो । २०५७ सालमा स्थापना भएको सहकारीमा कुल ६ सय १९ जना शेयर सदस्य र ५ करोड ७१ लाख ९७ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले जानकारी गराए । कार्यक्रम सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दुर्गादत्त शर्मा आचार्यको स्वागत र सचिव योगनाथ शर्मा कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।