विद्यालयमा सामाजिक व्यक्तिको परिचय

बागलुङ, २२ भदौ – कालीगण्डकी आवासीय माबिले व्यक्तित्व बिशेष कार्यक्रम सम्पन्न गरेको छ । शनिवार आयोजित कार्यक्रममा जिल्लाका दुइ व्यक्तित्वको परिचय सहितको कार्यक्रम सम्पन्न गरेको हो । बिद्यालय तहको शिक्षाको सामाजिक बिषयमा सामाजिक, राजनीतिक र अन्य क्षेत्रका व्यक्तित्वको परिचय, जीवनी पढ्ने गरिन्छ ।
तर अधिकांस व्यक्तिहरु अन्यत्रको भएकोले आफ्नै जिल्लाका बिशिष्ट व्यक्ति चिनाउने लक्षले यो कार्यक्रम राखिएको प्रधानाध्यापक निरन्जनलाल राजभण्डारीले बताए । पहिलो पटक आयोजित कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान दिएर राष्ट्रि तहमा समेत चर्चा बटुलेका प्रेम छोटा र राजनीतिक व्यक्ति रामजीप्रसाद शर्माको व्यक्तित्वबारे शनिवार चर्चा गरिएको थियो । कार्यक्रममा शिक्षक सिता थापाले छोटाको व्यक्तित्व चर्चा गरिन् । छोटा २००२ सालमा बागलुङमा जन्मेर साहित्यको क्षेत्रमा निरत्तर सक्रिय छन् । उनले दुइ दर्जनबढी पुस्तक आकारका कृति प्रकाशित गरेका छन् । उनका कृतिमा साहित्य, खोज र अनुसन्धानका कृति छन् ।
उनकै अगुवाईमा धौलागिरीको ६ दशकीय पत्रकारिताको ईतिहास पनि प्रकाशित छ । उक्त कृतिमा धौलागिरीमा प्रकाशित भएका सबै पत्रपत्रिकाको पहिलो अंक संग्रह गरिएको छ । छोटा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदमा पनि पुगेका थिए । त्यस्तै डिल्लीरमण रेग्मी कोषको अध्यक्ष समेत भैसकेका छोटाले नेपाली भाषा, नेपालका बिभिन्न जातीमा भएका कला र संस्कृतिको बारेमा पनि कृति प्रकाशित गरेका छन् । शिक्षक जिवननाथ शर्माले राजनीतिक व्यक्ति रामजीप्रसाद शर्मको जीवनी बारे प्रकाश पारेका थिए । शर्मा नेपालको संविधानसभाको सदस्य हुन् भने पूर्व उर्जा राज्य मन्त्री पनि हुन् । २०१४ सालमा जन्मेका शर्माले २० बर्ष सम्म शिक्षण पेशा अंगालेका थिए ।उनले उक्त समयमा राजनीतिक चेतना फैलाउने काममा लागेका थिए । राजनीतिमा तत्कालिन एमालेको जिल्ला सचिव समेत भएका शर्मा राजनीतिमा फरक मत राख्नेलाई पनि सम्मान गर्ने नेताको रुपमा चिनिन्छन् । उनले नेपालका सबै जिल्ला, सबै फरक प्रकारका बिकास निर्माण र योजनाहरुको संग्रह बनाएका छन् । उनको डायरीमा नेपाल सहित सबै जिल्ला र बागलुङको हरेक वडा तह सम्मको आवस्यकता, जनसंख्या लगायतको तथ्यांक राखेको भेट्न सकिन्छ ।
कार्यक्रममा छोटाको दैनिकी बारे धर्मपत्नि इन्द्र श्रेष्ठ र शर्माको बारेमा शर्माकै धर्मपत्नि सिता शर्माले थप प्रकास पारेकी थिइन् । बिद्यालय तहमा राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वको परिचयात्मक र सम्मान कार्यक्रम गरिएको यो पहिलो घटना हो ।