लोमान्थाङको उदाहरणीय काम

माटैमाटोको सहर हो, उपल्लो मुस्ताङको लोमान्थाङ । मोटर भर्खरै पुगेको छ । यही सहर छिचोलेर मात्रै बहुचर्चित कोरला नाका पुगिन्छ । लामो समय विदेशीको लागि नखुलेको लोमान्थाङ रहश्यमयी मात्रै छैन, सुन्दर पनि छ । मुस्ताङी राजाको छत्रछायाँमा बाँचेको यो सहरमा तिब्बती संस्कृतिको जिवन्तता भेटिन्छ । स्वेदशी र विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बनेको यहाँका घरहरु माटोले बनेका छन् । माटोको छानामाथि दाउरा राखिएका घरहरु मौलिकताका प्रतिक मात्रै हैनन्, उच्च हिमाली क्षेत्रको चिनारी पनि हो । यो सहरमा राष्ट्रिय प्रशारण लाइनको बिजुली पु¥याइँदै छ । गाउँमा भएको लघुजलविद्युतबाट बिजुली बले पनि त्यो पर्याप्त थिएन । अहिले चीन सरकारले ७० किलोवाटको सौर्य उर्जाको व्यवस्था गरेको छ । त्यहाँबाट उत्पादि बिजुलीले आवश्यकता पूरा त गर्दैन, तर तोकिएको समयमा उज्यालो भने दिन्छ । सौर्य उर्जाबाट बिजुली उत्पादनपछि लोमान्थाङमा बिजुलीका पोलहरु गाडियो । सुन्दर सहर बिजुलीको पोलका कारण कुरुप देखियो । फोटो खिच्न समस्या भयो । गाउँको मौलिकता हरायो ।
आफ्नो सहर कुरुप भएकोमा लोमान्थाङ–५, लोमान्थाङका वडाध्यक्ष रिञ्जेन दोर्जे विष्टको चित्त दुख्यो । सांसारिक सुख छाडेर लामा बनेका विष्टले वडाध्यक्ष हुनासाथ बिद्युत प्रशारण लाइनलाई भूमिगत बनाउने घोषणा गरे । लघुजलविद्युत हुँदा भूमिगत रहेको प्रशारण लाइन बिग्रेपछि गाडिएका पोलहरु बिस्थापन गर्ने घोषणा गरे । करिब १ करोड १० लाख बजेट सोही प्रयोजनको लागि छुट्याए । अहिले भूमिगत प्रशारण लाइनको काम धमाधम भइरहेको छ । अर्को वर्ष लोमान्थाङको आकासमा तार नै नदेखिने वातावरण बनेको छ । उनले लोमान्थाङको बाटोमा सौर्य उर्जाबाट चल्ने सडक बत्ती राख्ने योजना बनाएका छन् । ती बत्तीका पोलहरु बौद्ध संस्कृति झल्काउने खालका हुने छन् । एउटा जनप्रतिनिधिको रुपमा लामाले जे गरेका छन्, त्यो देशकै लागि उदाहरणीय बनेको छ । सम्भवत्, लोमान्थाङ भूमिगत विद्युत प्रशारण लाइन भएको देशकै पहिलो सहर हुनेछ ।
विद्युत उत्पादनमा नेपाल एसियाकै अग्रणी देश हो । फर्पिङमा जलविद्युत आयोजना बन्दा एसियाका धेरै देशमा बिजुली नै थिएन । विद्युत उत्पादन भएपछि पोलहरु बने, तार टाँगिए । यो उपक्रम अहिले पनि चलिरहेको छ । हामीले विद्युत प्रशारण लाईन भूमिगत बनाउनेबारे कहिल्यै सोचेनौँ । अझ, मुख्य सहरी क्षेत्रमा त बिजुलीका पोलहरु काल बनेर उभिएका छन् । पोखराकै कुरा गर्दा बिजुलीको तार चुँडिएर मान्छेको ज्यान समेत गएको छ । बिजुलीका पोलहरुमा गुडुल्किएका तारहरुले सहर कुरुप मात्र भएका छैनन, दुर्घटनाको कारण पनि बनेका छन् । पोखराकै कुरा गर्दा यहाँका मेयरले बिजुलीका तारहरुको व्यवस्थापन गर्ने कुरा गरे पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन । बिजुलीका तारहरुले सहरको सौन्दर्य खोसेको छ । यस्तो अवस्थामा यातायातको सहज पहुँज नभएको लोमान्थाङका एक जनप्रतिनिधिले जे गरे, त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ । लोमान्थाङमा बनाइएको भूमिगत प्रशारण लाइनले जनप्रतिनिधिहरुमा इच्छाशक्ति हुने हो भने उदाहरणीय काम गर्न सकिँदो रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । लोमान्थाङ गरिएको यो सकारात्मक कामको अन्य सहर र गाउँहरुले पनि सिको गर्नुपर्छ । राज्यले नै विद्युत बितरण पद्धतिमा सुधारको पहल गर्नुपर्छ ।