डेंगुको संक्रमण विरुद्ध सचेतना फैलाउँदै स्थानीय सरकार

बागलुङ, २३ भदौ – देशभर फैलिएको डेंगुको संक्रमण बागलुङका केही व्यक्तीमा देखिएको छ । संक्रमणको त्रास फैलिएपछि बागलुङका बिभिन्न संघसंस्था र स्थानीय सरकारले जनचेतनामूुलक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । बागलुङ, गल्कोट र जैमिनी नगरपालिकाले आ–आफ्नै तरिकाले सर्वसाधारणलाई सचेत गराउने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याएका हुन् । सदमुकाममा रहेको बागलुङ नगर पालिकाका वडाहरुले डेंगुका बिषयमा जानकारीमूलक सूचना प्रवाह गर्दै यसका लक्षण र डेंगु लाग्ने लामखुट्टे उत्पादन हुनसक्ने सम्भावित क्षेत्रको बिषयमा जानकारी गराईरहेको छ । यो रोगको संक्रमण देखा पर्न थालेपछि शुक्रबार विहान मात्रै निजामती सेवा दिवस मुल समारोह समतिले बागलुङ बजारका बिभिन्न चोकहरुमा पुगेर डेंगु रोग विरुद्ध सचेतना काय्र्र्रक्रम ग¥यो । सडक आसपासमा जम्मा भएका फोहोर सरसफाई गरी स्थानीयवासीमा यसबारे जनचेतना अभियान संचालन गरिएको थियो ।
     धौलागिरी अस्पतालले डेंगु रोगको बारेमा अभिमुखीकरण कार्यक्रम नै सञ्चालन गरेको छ । जिल्लाको जैमिनी नगरपालिकाले सचेतना कार्यक्रम गर्न स्वास्थ्य शाखालाई आग्रह गरेको छ । केही दिन पहिला बसेको नगर कार्यपालिकाको बैठकले सबै वडाका घरघरमा यो रोगको बारेमा जानकारी पुग्नेगरी सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नगरभित्रका हरेक स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर नागरिकहरुको सहायतामा वडा स्तरमा सचेतना कार्यक्रम सुरु गरीएको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।
    गल्कोट नगरपालिकाले पनि हटिया बजारमा सरसफाई तथा डेंगु रोगबारे सचेतना र जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको थियो । बाँकी वडामा समेत सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकाले पनि डेंगुको बिषयमा सचेतना कार्यक्रमको तयारी भैरहेको बताए । ‘यो रोग लागेपछि उपचार भन्दा रोग लाग्न नदिने उपाया खोज्नुपर्छ’ जैमिनीका स्वास्थ्य शाखा प्रमुख आचार्यले भने ‘सरसफाईमा ध्यान मात्रै दिने हो भने जोखिम पुरै कम भएर जान्छ ।’ स्वास्थ्य कार्यालय बागलुङले जिल्लामा डेंगुको संक्रमण देखिए पछि सबै पालिकाहरुलाई पत्राचारनै गरेर यो रोगको बिषयमा सचेतना कार्यक्रम चलाउन र सरसफाईमा ध्यान दिन भनेको छ । कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाका अनुसार कार्यालयले तयार पारेको चेतनामूलक पर्चा पम्प्लेटहरु गाउँ तथा नगरपालिकाहरुलाई पठाईएको छ । बागलुङमा स्थायी घर भई देशका ठूला शहरमा बस्दै आएका दुई जना र जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराका एक जनमामा डेंगुको संक्रमण भेटीएको थियो । उनीहरुको उपचार भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।