बागलुङका ४ वटा स्नोकर हाउसमा छापा

१ जना युवा थुनामा

बागलुङ, २४ भदौ – लागुपदार्थ सेवन गरिरहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्ला सदरमुकाममा रहेका चारवटै ‘स्नोकर हाउस’हरुमा छापा मारेको छ । प्रहरीले सोमबारनै चार स्नोकर हाउसबाट १६ जना युवाहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएकामध्ये १४ जनालाई सोमबारनै समान्य सोधपुछ पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । बाँकी दुई जनाले लागुपदार्थ सेवन गरेको आशंकामा ‘किट’द्वारा परिक्षण गरीएको थियो । परिक्षण गरीएका एक जनाले लागुपदार्थ सेवन गरेको भेटीएको उनले बताए । अर्का एक जनाले भने सेवन नगरेको भेटिएपछि छोडिएको छ । लागुपदार्थ सेवन गरेका युवाको बिषयमा मंगलवार परिवार सँग छलफल गरेर आवश्यक कानुनी प्रकृयामा जाने भट्टराईले बताए ।