हाम्रा नेताहरुको मरण मुगावेको जस्तो नहोस्

    आजकाल कसैसँग तुलना गर्दा तौलिएका मान्छेहरूको कद होंचो नहोस् भनेर सोच्नै पर्छ र एउटा मान्छेभित्र धेरै मान्छेहरू पनि हुने हुँदा धेरै मध्येको एउटासँग तुलना गर्दा फरक नपर्ला । हाम्रा नेताहरूको तुलना मुगावेसँग गर्ने भन्ने भनाई नआओस् जसरी केपी ओलीले प्रचण्डलाई सिके रावतसँग तुलना गरे झै अन्यथा अर्थ पनि नलाईयोस् । जिम्बाबेका रोवट मुगावे अर्थात् अफ्रिकामा कतिपयका तारा र कतिपयका हिटलर । यिनको बारे जीवन काहनी लेख्न भन्दा यहाँ उनका कारण देश र जनताले कति दुःख पाए त्यती नै काफी हुन्छ । सन् २०१७ मा सैनिकले सत्ता लिए पछि मात्र हटेका मुगावे त्यहाँ करीब चार दशक शासन गरे । बर्ष नै हिसाब गर्दा ३७ बर्ष एकछत्र शासन गरे । लामो समय शासन गर्दैमा देश उँभो लाग्छ भन्ने मलेसिया र सिङगारपुरको उज्यालो भनाई अफ्रीकाका यि मुगावेले भने अध्यारो बनाई दिए । उनको शासनकाल धेरै न बिरोधाभाषपुर्ण रह्यो । उनले राजनीति, सत्ता, यौन, महिला, नेतृत्व आदी विभिन्न क्षेत्रमा बोलेका कतिपय भनाई सर्वाधिक आलोचनामा रहे तर पनि सत्ता टिकाई रहे । बिकाउले टिकाउमा सहयोग गरी नै रहे ।
    अफ्रीकाका प्रायः जसो सबै देश प्राकृतिक रुपले सुन्दर र खानीहरू भएको देश हो । अधिकांश विश्वकै ठूला सफारीहरू यहीँ छन् । तर देशको हालत भने हाम्रै नेताहरूकै जस्तो रहनसहनले तहसनहस भएका छन् । अफ्रीकाका अधिकांश देशमा केही थोरै नेताहरू विकशित देशका नेताहरूको जस्तो सुविधायुक्त जीवन शैली छ । कतै भ्रमणमा जाँदा र आउँदा गाडीको लस्कर लामै हुन्छ जुन हाम्रा नेताहरूले पनि हरेक दिन देखाईरहेका छन् । जिम्माबेका यि शासकमा यति ठूलो दम्भ थियो कि उनी भन्थे । मलाई यो सत्तामा भगवानले पुर्याएका हुन अब हटाउने पनि केवल भगवान मात्रै हुन । आफ्नै जनतालाई समेत उनले उपेक्षा गर्थे । तर दम्भ २०१७ मा तोडियो । उनले आँफुलाई हिटलरै समेत भन्थे । म अझै हिटलरको समयको हुँ । हिटलरको एउटै उदेश्य थियो आफ्ना जनताको मात्रै न्याय, सार्वभौम र स्वतन्त्र । यदि त्यो हिटलर सोच हो भने मलाई पनि हिटलर हुन देउ । उनलाई राम्रो मान्ने पनि छन् जसरी सत्ताका वरीपरी हुनेले सत्ताको भजन गाए जस्तै । सन् २०१३ मा मुगावेले सेताजातीहरूको स्वामित्वमा रहेको जग्गा खोसेर काला जातीलाई दिए । यसका कारण उनलाई मंडेला भन्दा माथी राखेर हेर्ने पनि छन् । उनी आँफैले नेल्सन मण्डेलालाई ईंगित गरेर भन्थे मण्डेलाले कालाजीलाई भन्दा बढी सेताजातीका मान्छेलाई ठीक हुने गरी काम गरे । उनले भएको जमीन सबै सेताजातीको हुँदा समेत त्यती वास्ता गरेनन् भनेर । जसले सिङगो जीवन रङको बिभेदका लागी लडे उसलाई मुगावेको टिप्पणी केवल बाछिटा मात्रै हो । मुगावेको लामो शासनमा उनले आफ्नै मुद्रा चलाउने भनेर घोषणा गरेसँग आर्थिक रुपमा देश टाट पल्टने अवस्थाको नजीक पुग्यो । पश्चिमा देशको बिरोध गर्न भनेर लिएको कच्चा निर्णयले धेरैले दुख पाए । त्यो बेला बिदेशबाट गएर खोलेका कतिपय धेरै कम्पनीहरू बन्द भए । कतिपय आफ्नै देशमा फिर्ता भए । त्यो बेला सम्पुर्ण तलबले केवल तरकारी खान समेत नपुग्ने भनेर धेरै शिक्षक शिक्षिकाहरू सडकमै आएर बिरोध गरेका थिए । केएफसी जस्ता कम्पनीहरू बन्द भए । मुगावेको शासनबाट उनको परिवार, नातेदार र केही सिमित व्यक्तिहरू जो मुगावेको सत्तालाई राम्रो सत्ता भनेर भ्रम फैलाउने बाहेक कसैले भलो गरेन । गरीब चरम अवस्थामा पुग्यो । यति हुँदा पनि मुगावेलाई कुनै चिन्ता भएन । उनको हरेक बर्षको जन्म दिनमा देखिने तामझाम हेर्न लाज लाग्ने हुन्थ्यो । देश सुन्दर पाए पनि नेतृत्व गलत भयो भने कसरी देशको बेहाल हुन्छ भन्ने कुरा धेरै जसो अफ्रीकाका देशहरू हेरे पुग्छ । मुगावेले जिम्बाबेलाई आफ्नै पैतृक सम्पति जस्तो बनाए । उनी टोनी ब्यरलाई भन्थे तिमि आफ्नो देश बेलायतको चिन्ता गर मेरो देशको काम मलाई छोड । यसो सतही हेर्दा यो भनाई राष्ट्रबादी नै लाग्छ तर भनाई र गराईको खाडल भने निकै थियो । आजको दिनमा पनि जिम्बाबेमा सामान्य रोगको उपचार गर्न सक्ने हैसियत छैन । दुखाई कम गर्ने, सिटामोल जस्ता सामान्य औषधीका समेत छैन । सक्ने बिदेश जान्छन् नसक्ने घरमै मृत्यु कुरेर बस्ने हो । यो हाम्रो देशमा ठ्याक्कै लागु भएको छ । मुगावे केही दिनअघि मात्र सिङगारपुरको एक पाँचतारे अस्पतालमा ९४ बर्षको उमेरमा मरे । उनी मे महिनादेखी उतै थिए । उनी पटक पटक सिङगापुर गईराख्थे । उनी मात्र होईन परिवारको औषधी उपचार समेत उतै गर्थे । आँफुले देशमा लामो समय शासन गर्दा त्यहाँको स्वास्थ स्थितिमा कुनै सुधार गर्न सकेनन् । उनी आँफु र परिवारलाई बिदेशमा उपचार गराउन सक्ने गरी हैसियतमा पुगे तर अरु सर्वसाधारण भने जहाँको त्यही रहे । उनी फौजी स्वाभावका मात्र होईनन । मुक्तीका नाममा हजारौको ज्यान जाने गरी लडाई पनि भयो उनको शासनकालमा ।
    जो मुक्तिको नाममा लड्छन् आज उनीहरू नै अरू भन्दा बढी भ्रष्ट भएका छन् । हाम्रा देशका नेताहरू शुरुशुरुमा भारत जान्छ । देशमा ठूला ठूला परिवर्तन भएर होला गणतन्त्र आएपछि भारतबाट अब सिङगारपुरमा जान सक्ने हैसियत बनाए । एउटा नेतालाई मात्र नभनौं सत्तामा काँग्रेस पनि लामो समय बस्यो तर दुखका साथ भनौं । जति लामो शासन उति उद्योगधन्दा डुबे । अहिले सत्तामा भएका केपी र प्रचण्ड पनि लामो समय जेल र संर्घष बाट आएका हुन तर देशमा स्वास्थ अवस्था सप्रिनुको सट्टा माफियासँग मिलेको धेरैले भन्छन् ।
    गणतन्त्रका पहिलो राष्ट्रपति रामवरण यादव पनि उपचारको लागी जापान जानुभाथ्यो । त्यसपछि आउनु भएकी विद्यादेवी भण्डारी पनि पटक पटक विवादमा आउने निर्णय गर्नु भएको छ । भर्खर मात्र हेलिकप्टर लिएको समाचार आएको छ । यो राष्ट्रपतिको नाम जोडेर सेनाले लिएको हो वा सरकारले नै राष्ट्रपतिको लागी स्पष्ट धारणा आउन बाँकी छ । शासन लामो गर्दैमा, देशमा राजनीतिक फड्को भन्दा पटक पटक फेरेको तन्त्र आउँदैमा, छापामारा युद्ध गरेको भन्दैमा, जाहज अपहरण गरेको साहस भनेर गर्व गर्दैमा, राणा पल्टाईयो, पंचायत पल्टायो, गणतन्त्र ल्याईयो, राजा फालियो भन्दैमा गरीब जनताको मुखमा माड लागेन र गरीबीले एउटा मृगौला बेचेर जीवन गुजारा गर्दैछन् भने नेताहरूले जेलनेल गरेको आफ्नो त्यो त्याग केवल निजी हुन जान्छ र जनता भर्याङ मात्र हुनेछन् । यति मात्रै भनौं, जनताले काँग्रेसलाई पटक पटक सत्ता दिए तर काँग्रेसले दुरुपयोग गर्यो, अहिले कम्युनिष्टलाई दिएका छन् । यदि यो पनि दुरुपयोग भए जनतामा चरम गरीबी हुनेछ । यति कामना गरौं, देशमा लामो समय शासन गरेर मुगावेले जस्तै एउटा गतिलो अस्पताल बनाउन नसके तपाईहरूको मृत्य पनि विदेशी पाँचतारे अस्पतालमा नहोस् ताकी भोली खाडी गएको कामदारको रातो बाकस र अन्तेष्टीका लागी तपाईहरूको स्वदेश ल्याएको बाकसको चाङ एउटै भएर मृत लासले तपाईहरूलाई श्राप नदियोस् ।