बैंक सुरक्षाको प्रश्न

नेपालका बैंकका एटिएमको पिन नम्बर ह्याक गरेर मोटो रकम चोर्ने चिनियाँ ह्याकरहरुलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । भारतमा पनि विभिन्न बैंकमा करोडौं रुपैंया बैंकबाट चोरेर नेपाल छिरेको गिरोहले यो काण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त गिरोहले बैंकका एटिएमको डाटा ह्याक गरी एक करोड ५० लाख भन्दा बढी रकम चोरेको प्रहरीले सार्वजनिक गरेको छ । नेपाल ईलेक्ट्रोनिक पेमेण्ट सिस्टम (नेप्स) ले यसलाई हाईटेक ‘फ्रड’ को ंसंज्ञा दिएको छ । प्रबिधिको उच्चतम विकाससँगै सोही स्तरको अपराधकर्मको विकास पनि सँगसँगै भएको पाइन्छ । केही समयअघि विक्लिक्स नामक वेभसाइटले अमेरिकाका संवेदनशील सूचनाहरु चोरेर सार्वजनिक गरेको घटना बाहिर आएको थियो । घटनासँगै त्यसका सञ्चालक जुलियन असाञ्जेलाई आप्रावासी बनाएर राखियो ।
ठीक त्यस्तै अपराध नेपालतर्फ पनि बढ्दैछ । पहिले नेपाल टेलिकमका कल बाईपासका अपराधीहरु सलबलाएका थिए । पछिल्लो समय बैंकका एटिएम ह्याक गर्ने अपराधीहरुको थलो बन्दैछ, नेपाल । नेपालमा पछिल्ला ठुल्ठुला अपराधमा चिनियाँ अपराधीहरु पनि भेटिएका छन् । नक्कली बिबाहको नाममा मानव तस्करीमा पनि चिनियाँहरु संलग्न भएको पाइएको छ । ताजा घटनाको रुपमा बैंकका एटिएम ह्याक गरेर पैसा चोर्ने अपराधमा पनि उनीहरु नै देखापरे । सरकारले यसतर्फ विषेश निगरानी बढाउन जरुरी देखिन्छ ।
साथै बैंक सञ्चालकहरुले आफ्नो बैंकको सुरक्षा प्रणाली अझै मजवुद बनाउनुपर्छ । बैंकमा सामान्य रोजगारी गरेर संकलन गरेको रकम निक्षेपको रुपमा बचत गरिएको हुन्छ । यसका साथै बैंकको कारोवारका कारण समग्र मुलुकको आर्थिक गतिबिधि सञ्चालन भएको हुन्छ । उच्च कारोवार गरिरहेका बैंकबाट एक्कासी ठुलो रकम चोरी हुँदा देशको अर्थतन्त्र नै खल्बलिने अवस्था हुन्छ । बजारमा अभाव सिर्जना हुन थाल्छ । त्यसैले बैंकलाई आफ्नै रफ्तारमा काम गर्नुपर्ने हुन्छ । यसकारण अहिलेको प्रश्न बैंकको सुरक्षाको प्रश्न हो ।
बाहिरी अपराधीहरुबाट बैंकलाई जोगाउनु प्रमुख पक्ष हो । यसैगरी बैंक भित्रकै कर्मचारीको मिलेमतोमा पनि कयौं अपराधहरु भईरहेका हुन्छन् । बैंकले यस्ता अपराधलाई निस्तेज पार्र्न सक्नुपर्छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालको डाटा कहाँबाट कसरी ह्याक भईरहेको छ त्यो हेर्ने प्रबिधि जडान भइसक्यो भन्दै गर्दा काठमाडौंका बिभिन्न बैंकका डाटा ह्याक भईरहँदा बैंकको सुरक्षाको सवाल सरकारतर्फ पनि फर्किएको छ । त्यसैले नेपालका बैंकहरुलाई हाईटेक फ्रडबाट बचाउन सरकार तथा बैंकर्सहरुले ठोस योजना ल्याउनुपर्ने देखिन्छ । भनिन्छ, ‘बूढी मरी भनेर नरुनू, काल पल्क्यो भनेर रुनू’। अहिलेको यो घटनाले हामीलाई यही सन्देश दिएको छ । नेपाल अन्तर्राष्ट्रिय आपराधिक गिरोहको थलो बन्न लागेकोमा चिन्तित हुनु परेको छ । चीन र भारतजस्ता ठूला मूलुकबीचको यो देशमा फैलने आपराधिक गतिबिधिले छिमेकीलाई पनि प्रभाव पार्ने र त्यसपछि उत्पन्न परिस्थितिले देशको सार्वभौमिकतामा पनि आँच आउनेतर्फ पनि बेलैमा सचेत हुनुपर्छ ।