दुई तहको समन्वय अभावले भ्रष्टाचार बढ्यो

एउटै सडकमा दोहोरा योजनाले भ्रष्टाचार

बागलुङ, २४ भदौ – प्रदेश र स्थानीय सरकार बिच समन्वयको अभाव हुँदा सुशासन कायम गर्न कठिन भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दुई सरकार बिचमा रहेको शुन्यताले बिकास निर्माणका काममा समेत प्रभाव देखिएको उनीहरुको भनाई थियो । सोमबार जिल्ला समन्वय समिती बागलुङको सभाहलमा सार्वजनिक लेखा समिती गण्डकी प्रदेशले आयोजना गरेको सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि  सरोकारवालाहरुसंग गरेकोअन्तरक्रिया कार्यक्रम सहभागीले दुवै सरकारले समन्वय र सहकार्यमा ध्यान दिनुपर्ने बताए । उनीहरुले स्थानीय तहमा आउने योजनाको काममा प्रदेश सरकार बिना जानकारी आउने र त्यस्ता योजनाको अनुगमन र नियमन नहुने गरेको बताए ।
   ‘प्रदेश सरकारले साझेदारीका कार्यक्रम आर्थिक बर्षको अन्तमा पठाउँदा समस्या भएको छ’ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवरले भने ‘अन्तिम समयमा साझेदारी गर्न हामीसँग बजेट हुँदैन्, जनता र प्रदेश सरकारले काम गर्न नसकेको जस्तो ठान्ने गरेका छन् ।’ साझेदारी कार्यक्रम आर्थिक बर्षको पहिलो तीन महिनाभित्रै जानकारीमा आउनुपर्ने उनको धारणा थियो ।
आर्थिक बर्षको अन्तमा आउने बजेटले योजना अनुसारको काम भन्दा भ्रष्टाचारलाई प्रश्रय दिने उनको भनाई थियो । कृषि, पशुपालन तथा भेटनरीमा अनुदान लिन आउने कृषकहरुले एउटै व्यक्तिले २–३ वटा फर्म सञ्चालन गर्ने र दोहोरो सुविधा लिने गरेको उनीहरुले गुनासो गरे । समन्वय नहुँदा स्थानीय तहबाट एकथरि र प्रदेशबाट अर्कोथरि गरेर दोहोरो सुबिधा लिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । सरोकारवालाले सबैभन्दा धेरै डुब्लीकेशन सडकमा रहेको औंल्याए । एउटै सडकमा दोहोरा योजनाका कारण भ्रष्टाचार बढेकोमा उनीहरुको चिन्ता थियो । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, गल्कोट नगरपालिकाका प्रमुख भरत गैरे, तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर कुँवर, काँठेखोला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर विश्वकर्मा लगायतले आफ्नो धारणा राखेका थिए ।
   कार्यक्रम सार्वजनिक लेखा समिती गण्डकी प्रदेश सदस्य गायत्री गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश सरकारद्धारा प्रचलित ऐन, नियम अनुरुप भए गरेका काम कारबाहीबारे छलफल गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने, विषयसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव र निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने सार्वजनिक लेखा समितीको गठन गरिएको थियो ।