जलवायु परिवर्तनको प्रभाव कि कलियुगको लीला ?

   भदौको महिना, कत्ति साह्रै गर्मी, त्यसैमाथि लामखुट्टेको टोकाइले बित्यासै पारेको छ । जलवायु परिवर्तनले हो कि ? केले हो ? तराईको डेंगु पहाडमा छ्यापछ्याप्ति सरेको, अनि हिमालमा फल्ने स्याउ झापातिर पनि झरेको । यसको निष्कर्ष वैज्ञानिकहरुले नै निकाल्लान् । मेरा टोलका धर्मगुरुको भनाइमा भने कलियुगको लीला हो भन्ने ठोकुवा निष्कर्ष छ । डेंगु र स्याउका विषयमा अखबारले लेखेको लेख्यै छ र श्रव्य–दृश्य यन्त्रले बिहान बेलुका फुकेको फुक्केइ छन् तर यी दुई विषयको चुरो कुरो बुझ्न भने मेरो मथिङ्गलले भ्याएन । बिहानबिहान स्याउ र डेंगुको समाचार सुन्दै म मर्निंग वाकमा कालिका मन्दिरतर्फ जाँदै थिएँ । मन्दिरको नजिकै पुग्दा केही पर खाइलाग्दा ज्यान भएका चिटिक्क मयलपोसमा सजिएका भलादमी जस्तै मानिस देखेँ । उनका अघिपछि दर्जन मानिस थिए होलान् । अलि नजिकै पुग्दा त नभन्दै उनै मनसुन माननीय पो परेछन् । मलाई लाग्यो सँधै रिवन काट््न झुल्किरहने मनसुने अनुहारलाई के खान बिहान बिहान हेर्न नजिक पुग्नु । अझ शिर झुकाउँदै कत्ति फुलका गुच्छाले पुर्नु । “हुन त यिनले पो के नापेका छन् र फिल्ड घुमेको भन्दै भएभरको ढुकुटी हसुर्ने त हुन् । कहिले कुन फलानो टोलको उद्घाटन त कहिले के । तेत्रा विधि गाडी अनि चाकरीवाजहरुको लस्कर ।” भन्दै दुई अल्लारे ठिटा अगाडि बढ्दै थिए । मलाई बाटो मै चाकरी गर्न मनले मान्दै मानेन अनि रुखको छेल पारेर बसेँ । माननीय आफ्नो बाटो लागेपछि म पनि फुत्त निस्केर आप्mनो बाटो तताएँ । अलिमाथि पुगेपछि चोकमा गाइगुइ सुने “घुमौँ फिरौँ घुमाऔँ अनि रमाऔँ” भन्ने कार्यक्रमको उद्घाटनका लागि उनै मनसुन माननीय आएका रे । मनसुन माननीयको आप्mनै नयाँ योजना रहेछ । गाउँका कुनै चुचुरा टाकुरामा खाली नराखी जताजतै मठमन्दिर ठडाइदिएर भक्तहरुलाई डाँडाकाडाँ घुमाउने । देशमा नयाँ व्यवस्था आएकाले होला भए भरका पहाडका धुरीसम्म पुग्न डोजरलाई लगाउने र धुरीलाई सिमेन्ट र कंक्रिटले सजाउने रे । गाउँघरका युवा स्वदेशमै बसेर कृषि तथा पशुपालनमा लाग्ने होइन, डाँडाकाँडालाई कंक्रिट र डोजरले सुन्दर बनाएर विदेशी ल्याउने ध्याउन्न रहेछ उनको । कुन विदेशी कुन मन्दिरमा प्रवेश गर्छ भन्ने हेक्का भने उनलाई रहेन्छ । बरु विदेसमा धन कमाएर बजारमा बसेकाहरुले डाँडाकाडाँ नघुमेर त्यस्ता बस्ती र गाउँघरको विकास भएन भन्ने उनको ठम्माइ रहेछ ।
          भएभरका श्रव्यदृश्य संचारका साधनले हल्लीखल्खी गर्दा बजार र गाउँबस्तीबाट ठूलै जम्बु टोलीको धम्पुरे डाँडामा जमघट भयो । धुरीमा भव्य कार्यक्रम सम्पन्न भएको, आन्तरिक पर्यटकको ओइरो लागेको, अब विदेशी पर्यटकको पनि धुइरो लाग्ने रे, विदेशी डलरको मनसुन जस्तै भेल नै बग्ने रे, गाउँका युवाहरु विदेश जानै नपर्ने, गाउँका बुढाखाडाहरुको पनि मन्दिरमा पूजापाठ गर्नाले पाप मोचन हुने रे, केके हो केके भाषण भएछ कार्यक्रममा । बेलुका सबै श्रव्यदृष्य समाचार सुन्दा पो मलाई पनि पछुतो भयो कार्यक्रममा जान नपाएकोमा । मञ्चासीन वक्ता ३० जना रे चौरमा पलेटी मारेर बसेका स्रोता गण २० भएको रे । सबै वृतान्त घरमै बसीबसी सुन्न पाइयो । मेरो मनमा कुरा खेल्यो गाउँका युवाहरु विदेश, गाउँका वस्ती सबै खाली भएर सहरतिर, नेतादेखि सर्वसाधरण सबैको ध्यानाकर्षण होलीवाइनतर्फ तर मेरा आदरणीय मनसुन माननीयको कति राम्रो विचार पहाडका चुचुरैपिच्छे मन्दिर । अझ डलरको वर्षात् रे । अहिले देशमा दुई थरि माननीय छन् । एक थरि मनसुन र अर्काथरि भनसुन माननीय । जलवायु परिवर्तनले कहीँ अतिवृष्टि त कहीँ अनावृटि । मनसुन माननीय र भनसुन माननीय डुलेका क्षेत्रमा धनको खोलै बगेको त अन्यत्र सुख्खा खडेरी । माननीयहरु पुगेका ठाउँमा धनको खोलै बगेको रहेछ भन्ने प्रमाण वर्षातका खोलापहिराले पनि प्रमाणित गरिसकेका छन् । मनसुन माननीय चाँहि जलवायुको प्रभावले गर्दा नै होला मनसुनको वर्षा झैँ टोलटोल र गल्लीगल्लीमा छ्याप्छ्प्त भेटिने । अर्का भनसुन माननीय भने अनेक अनुरोध बिन्ती गरे मात्र गाउँमा झुल्कने । गाउँमा आउँदा सुन्डामुसुन्डादेखि नन्दीभिरिङ्गीसम्म, कर्मचारीदेखि बालबर्माचारीसम्म त चाटुकारदेखि पत्रकारसम्म पनि उनकै अघिपछि लर्को ।
मनसुन माननीय आएको लगत्तै केही दिनमा तीज पर्वले रौनक ल्यायो । तीजको रौनक बजारमा यति धेरै छायो कि बालकदेखि वृद्धवृद्धासम्म “हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा” भन्दै घरघर, टोलटोल र गाउँगाउँमा कानका जालि फुट्ने गरी म्युजिक बजाएर नाचगान गर्दै थिए । मेरै गाउँमा पनि महिला दिदीबहिनीको समूहले तीजे मेला नै राखेछ । गाउँटोलदेखि स्वदेश विदेश जहाँ सुकै बसोस तीजका दिन गाउँमा आउनै पर्ने, सक्नेले कार्यक्रमको प्रायोजन पनि गर्नुपर्ने र नसक्नेले ताली भए पनि ठोक्नै पर्ने उर्दीका साथ सबैलाई निमन्त्रणा भयो ।
         गाउँमा तीजे मेला हुने कुरा त पक्का भयो । अब विवाद मनसुन माननीयलाई ल्याउने कि ? भनसुन माननीयलाई ल्याउने ? क.पार्टीको नेता ल्याउने कि का.पार्टीको नेता ल्याउने विषयमा केही दिन चर्काचर्की र ठुलै रस्साकस्सी भयो । बहुमतले भनसुन माननीयलाई ल्याउने पनि पक्का भयो । अब अर्को समस्या आयो कार्यक्रमको सञ्चालन कसले गर्ने ? अध्यक्षता ग्रहण कसले ? बा समूहका नेताले गर्ने कि आमा समूहकी नेतृले गर्ने ? यसमा पनि सम्झौता भयो बाले योजना बनाउने आमाले अध्यक्षता र उद्घोषण गर्ने । अझै अर्को समस्या देखियो भनसुन मन्त्रीलाई प्रमुख अतिथि बनाएपछि मर्यादाक्रम कसरी निर्धारण गर्ने ? कार्यक्रममा वडा सदस्यदेखि माननीयसम्मका जनप्रतिनिधि, सहकारीदेखि सरकारी कार्यालयका प्रमुख तथा खटाइएका प्रतिनिधि, सरकारवादी र प्रतिवादी नेताकार्यकर्ता, सागपात केलाउनेदेखि झारपात संगठनका प्रमुखहरुको उपस्थिति थियो । नहोस् पनि किन ? आफैले विशिष्ट अतिथिको सम्बोधन गरेर निमन्त्रणा गरिएको थियो । अब घम्साघम्सी त बल्ल प¥यो । माननीयका साथमा कसलाई राख्ने । केही समय को ठूलो भन्ने चर्काचर्की पनि परेछ । निष्कर्षमा मन्त्रीको अघिपछि गर्ने र पार्टीलाई चन्दा दिएर समानुपातिकमा पर्ने जति सबैलाई विशिष्ट अतिथिको दज्र्यानी प्रदान गर्ने ।
सहमति अनुसार नै कार्यक्रम सञ्चालन भयो । अटाउने मञ्चमा नअटाउने भुइमा गुन्द्री हालेरै भए पनि बोलाइएका सबैको नाम बेलुका चार बजेसम्म भए पनि उद्घोषण गरियो । माननीयले शिक्षा, स्वास्थ्य र संस्कृतिको संमृद्धिमा दिल खोलेरै सहयोग गर्ने आश्वासन पनि दिनुभयो र सबैलाई शिक्षामा अगाडि बढ्न निर्देशन पनि दिनुभयो । माननीयले एक घण्टा शिक्षाको महत्वलाई प्रकाश पार्नुभयो । मसँग मेरै छोटु फुच्चे भाइ पनि साथैमा थियो । मञ्चमा उद्घोषित सबै नामको हुलिया उसले सोधेको सोधी हुन्थ्यो । बेलुकी घरफर्की दिवा कार्यक्रमको पारिवारिक समीक्षा भयो । फेरी छोटुले उनै दिउँसोका प्रश्नहरुको जवाफ दोहो¥यायी ते¥यायी सोधी रहन्थ्यो । उसको प्रश्न एउटै हुन्थ्यो ‘मन्त्री हुन कति पढ्नुपर्छ ?, नेता हुन कति पढ्नुपर्छ ?, मञ्चमा बसेर पूmलको माला लगाउन कति पढ्नुपर्छ ?, कार्यक्रम चलाउने कोइली दिदीले कति पढेकी हुन् ?, कौवा दाइले कति पढेका हुन् ?, कति पढेपछि ठूलो मान्छे भइन्छ ?, त्यसो भए किन मन्त्रीले सबैलाई पढ्नुपर्छ भनेका त ?, बाबाले मलाई किन पढ्पढ् भन्नुहुन्छ त ? आदि आदि..’’। जाबो फुच्चेको जवाफ दिन नसकेर आफैलाई धिक्कार लाग्यो आप्mनो योग्यता र अध्ययनप्रति नै । मेरी हजुर आमा भन्दै हुनुहुन्थ्यो ‘पढेकाले गाउँ छोडे, नपढेकाले हलो छोडे, अब मान्छेले के खान्छ बाबु’ । धन्य मेरी हजूर आमा, हजूरको जति बुद्धि कसको ?
       गएको अघिल्लो हप्ता म ‘स्यालले कुखुरा चो¥यो’ गजल संग्रह विमोचन तथा जिल्लाव्यापी गजल प्रतियोगितामा पुगेको थिएँ । उक्त समारोहको उद्घाटनकर्ता देशकै वरिष्ठ नेता रहेछन् । उक्त समारोहमा वाचन गरिएका गजल सुनेर मेरो दिमाग नै पजल भयो । वरिष्ठ साहित्यकार झ्यामकुमारले संग्रहको सारांश र कार्यक्रम समापन गर्दै भने ‘स्याल झै बाठो र काग झै टाठो नभए हरेक क्षेत्रमा लाग्नेहरुको भविष्य अन्धकार छ’ । उनले समाजमा बाँच्न स्याल झै कुखुरा चोर्न सिपालु हुनुपर्नेतर्फ संकेत गरे । झ्यामकुमार आफै पनि बजारका काग र स्यालभन्दा टाठाबाठा साहित्यानुरागी रहेछन् । त्यसैले होला कुलो पतिदेखि कुलपतिसम्मका हातबाट दर्जनौ सम्मानपुरस्कार पाइसकेका रहेछन् । मेलै पनि साहित्यकार बन्न सकिन्छ कि ? एकदुईवटा पुरस्कार थाप्न पाइन्छ कि भन्ने अभिलाषाले महाकवीदेखि भूपिसम्मका कविता र भैरव अर्यालदेखि ताना शर्मासम्मका निबन्ध पढेँ तर दिमागमा केही फुरेन । सास रहेसम्म आश भनेर साहित्यकार बन्ने धुनमा लागिरहेँ । कवि साहित्यकार बन्न कसरी सकिन्छ भनेर अर्का नाम कमाएका बडा कविको घरमा पुगें । मलाई देख्न साथ उनले सम्मानका साथ ‘अस्ति गजल प्रतियोगितामा मेरै छेउँमा बस्ने भाइ होइन’ भनी बडो उत्सुकताका साथ सम्बोधन गरे । उनलाई कार्यक्रममा बोलाएर अन्तिममा नाम बोलाएकामा चित्त दुखेको रहेछ । उनले एक घण्टा त उनै भ्mयामकुमारका विषयमा पुरस्कार साट्ने संस्कृतिका बारेमा उर्दन्ती गरे । अर्को आधा घण्टा आप्mना सम्मानपुरस्कारका बोरमा बखान गरे । अर्को आधा घण्टा साहित्यकार बन्न सिर्जना कोर्नैपर्ने नभएर बरु आफै वा आफन्तलाई कोष राख्न लगाएर पनि पुरस्कार आदनप्रदान गर्नसकिने कुराको रह्स्योद्घाटन गरे । अर्को वर्ष कुनै मनकारी भेटिएमा भव्य रुपमा राष्ट्रिय स्तरको कवि सम्मेलन गर्ने आप्mनो योजना रहेको गुह्य कुरा पनि उनले मलाई बताए ।
        डेंगु र स्याउको समाचारले फेसबुकका भित्ता रंगिएको यो भाद्र महिनामा मलाई भने माननीय, साहित्यकार र मेरै हजुर आमाले भनेको भनाइले भित्रभित्रै तड्पाइ रह्यो । तराईको डेंगु पहाडमा लाग्नु र हिमालको स्याउ तराईमा फल्नु पक्कै पनि वातावरणीय प्रभाव हुनुपर्दछ । विश्वव्यापी उष्णीकरण बढिरहेको बेला जलवायु परिवर्तनले नेपालमा यी लक्ष्यणहरु देखिनु स्वभाविकै हो जस्तो लाग्यो । भयानक चिन्ताको विषय त मनसुन मनानीयले पहाडका चुचुरामा सिमेन्टको कंकृटाइज गर्नुपर्छ भन्नु, भनसुन मन्त्रीले धेरै पढ्नुपर्छ भन्नु तर कति पढेर के भइन्छ भन्न नसक्नु, पुरस्कार साटेर साहित्यकार भइन्छ भन्नु अनि वृद्ध हजूर आमाहरु पढेकाले गाउँ छोड्दा र नपढेकाले हलो छोड्दा चिन्ता मान्नु । नेपाली समाजमा के कुराले प्रभाव पारिरहेको छ भन्ने विषयमा सोंच्दा सोंच्दा रातभर निद्रा लाग्नै सकेन । फेरि सोंच्छु फोस्रो गफ चुट्ने नेता, गतिलो लेख लेख्न नसक्ने लेखक, पुरस्कार साट्ने साहित्यकार, पत्रिकामा गतिलो समाचार सम्प्रेषण गर्न नसक्ने पत्रकार, आप्mनो बुद्धिले आफै बाँच्न नसक्ने बुद्धिजीवी, दुई चार चुट्किला सुनाउँदैमा हास्यव्यङ्ग्यकार, घोक्रो फुलाउँदैमा कलाकार …., यी सबै प्रकारका अहंकार हामी नेपालीमा कहाँबाट आयो ?, मेरी हजुर आमाको जति सोंचाइ किन कसैमा आएन ?
फेरी प्रश्न आयो यी सामाजिक विकृतिका कारक के हुन् ? वातवरणीय प्रभाव वा कलियुगको सुरुआत, म केही ठम्याउनै सकिन । बाह्य राष्ट्रले उत्सर्जन गर्ने कार्बनले जलवायु परिवर्तन बढाएर प्रकृतिका साथै राजनीति, साहित्य, कला, शिक्षा र अन्य क्षेत्रलाई पनि प्रभाव पारेकै हो त ? यदि हो भने वैज्ञानिकहरुले समाजका यी हरेक क्षेत्रहरुमा जलवायु परिवर्तनले पारेको प्रभावको विषयमा अनुसन्धान गरुन् । यो अनुसन्धानले हाम्रो समाजमा भएका नकारात्मक प्रभावहरुलाई नियन्त्रण गर्छ कि ? यदि कली युगकै लीला हो भने कि मठमन्दिरमा पुजापाठ गरी ठीक पार्ने होला ? सबैमा चेतना भया ।