कांग्रेसको जागरण अभियान र प्रजापरीषदको नियति

विरासत बोकेको पार्टी हो, नेपाली कांग्रेस । १०४ वर्षीय राणा शासन अन्त्यको लागि कांग्रेसले जे भूमिका निर्वाह ग¥यो, त्यो अविश्मरणीय छ । २०१५ सालमा दुई तिहाईसहित सत्तामा पुगेको कांग्रेसलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ मात्रै गरेनन्, प्रतिबन्ध नै लगाइदिए । प्रतिबन्धित अवस्थामा पनि कांगेस डग्मगाएन । केही पदाधिकारी र नेताहरु पञ्चायत प्रवेश गरे पनि कांग्रेसले प्रजातन्त्र, बहुलवाद र समावेशीताप्रतिको आफ्नो अडान फेरेन । त्यही कालखण्डमा उसले पञ्चायतविरुद्ध हतियार उठायो र असफलता भोग्यो । नेता– कार्यकर्ताको सर्वश्वहरण र निर्वासनले पनि उसको आस्था तिरोहित भएन । कांग्रेस सतिसालजस्तै उभिइरह्यो । २०३६ सालको तिकड्मपूर्ण निर्वाचनमा बहुदलीय व्यवस्थाको पराजयको १० वर्षपछि कांग्रेसकै नेतृत्वमा भएको जनआन्दोलनले देशमा संवैधानिक संवैधानिक बहुदलीय व्यवस्था स्थापित भयो । बहुदलीय व्यवस्था स्थापित हुनु भनेको कांग्रेस पनि स्थापित हुनु थियो । त्यो आन्दोलनमा सहभागि तत्कालीन वाममोर्चा पनि शक्तिमा स्थापित भयो । फरक विचार र दृष्टिकोण बोक्ने पार्टीहरु राजाको तानाशाहीविरुद्ध एकजुट भएकै कारण २०४६ सालको परिवर्तन सम्भव भएको हो । परिवर्तनपछिको कालखण्डमा नेपाली कांग्रेस लामो समयसम्म सत्ताको केन्द्रमा रह्यो । सत्तामा रहँदा कांग्रेसले केही जनप्रिय र दूरदर्शी कार्यक्रम लागु गरे पनि सत्तालिप्साले कांग्रेसलाई नराम्ररी गाँज्यो । नेताहरु सुविधाभोगी भए, भ्रष्टाचार बढ्यो । त्यागी नेता–कार्यकर्ताको मनोभावनालाई विपरित सत्तास्वार्थले प्रेरित कांग्रेसमा गुततन्त्रसँगै फुटतन्त्र हावी भयो ।
जनतामा देखिएको आशामा चिसो पानी खन्याएपछि कांग्रेस कमजोर भयो नै, त्यही कालखण्डमा देखिएको निराशामा टेकेर माओवादीले सशस्त्र युद्धको थालनी गर्न सक्यो । माओवादी युद्ध, राजा वीरेन्द्रको हत्या र त्यसपछि सत्तामा आएका ज्ञानेन्द्रको महत्वकांक्षाबीच देशले दुःख पाउनु पायो । कांग्रेसले पुन ः आन्दोलनको नेतृत्व गर्ने अवसर पायो । राजा फालियो, देशमा गणतन्त्र आयो र आफ्नै नेतृत्वमा सरकार निर्माण तथा संविधान बनाउने दायित्व उसैमाथि आइपुग्यो । कांग्रेसले संविधानसभामार्फत नै संविधान बनाउने सफलता प्राप्त ग¥यो तर उसले पाएका जनमत प्रतिपक्षीको लागि मात्रै सीमित थियो ।
अहिले कांग्रेस प्रतिपक्षमा छ । देशमा नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाईको सरकारहुँदा कांग्रेस प्रतिपक्षीको रुपमा पनि कमजोर देखिएको छ । सरकारले एकपछि अर्को निर्णयगर्दा कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निभाउन सकेको छैन । बरु, हिजोका गुटहरु अझ झांगिदा छन् र नयाँ गुट निर्माण हुने उपक्रम पनि बढिरहेको छ । कुनै बेलाका क्रान्तिकारी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस यतिबेला कुहिराको कागजस्तै बनेको छ । न संसदमा उसको भूमिका प्रभावकारी छ, न त उसले आफ्नो कार्यकर्तामा नै आशाको संचार गराउन सकेको छ । कांग्रेसका क्रियाशिल र आस्थावान कार्यकर्ताहरु निरास छन् । यो निराशा चिर्नेतर्फ पार्टी नेतृत्वका ध्यान गएकै छैन । बरु आउँदो महाधिवेशनलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने दौड अहिलेदेखि नै सुरु भएको छ । निर्धारित मितिमा नै महाधिवेशन भए सभापति देउवाको कार्यकाल लामो हुनेछैन । तर, देउवा विधानले दिएको अधिकार प्रयोग गरी एकवर्षे कार्यकाल बढाउने ध्याउन्नमा छन् । जनपक्षीय निर्णय गर्नुपर्ने, सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्ने कांग्रेसभित्र नै सत्ता र प्रतिपक्षीको अवस्था छ । वैचारिक धरातल उही रहे पनि कांग्रेस यति कमजोर पञ्चायती कालखण्डमा पनि थिएन । अहिले कार्यकर्ताको टाउको निहुरिएको छ । तर, कांग्रेसलाई त्यतातिर ध्यान छैन । केही गरेको हो कि भन्ने देखाउन कांग्रेसले जनजागरण अभियान चलाइरहेको छ । दोस्रो चरणको जनजागरण सुरुहुँदा पनि त्यो कर्मकाण्डी मात्रै देखिएको छ । कार्यकर्ता उत्साहित छैनन् भने जनताले अझ कांग्रेसमाथि भरोसा गर्ने अवस्था सृजना भएको छैन । यो कांग्रेसको लागि मात्रै नभएर लोकतन्त्रको लागि पनि निराशाजनक स्थिति हो ।
सत्तापक्षलाई आवश्यक परे सहयोग गर्ने र गलत काममा खवरदारी गर्ने दाियत्वबाट विमुखहुँदा कांग्रेस झण्डै उपादेयताविहीन पार्टी त बन्दै छैन ? भन्ने प्रश्न गर्ने अवस्था सृजना भएको छ । शक्तिशाली सरकारबाट निराश देखिएका जनतालाई आफ्नो पक्षमा खडा गर्न चुकेको अवस्थामा कांग्रेसले सुरु गरेको जनजागरणको उपादेयतामाथि नै प्रश्न खडा भएको छ । जनजागरणलाई प्रभावकारी बनाउने हो भने कांग्रेसले पहिला आफू बलियो बन्नुपर्छ । गुट उपगुटको अन्त्य गर्नुपर्छ र जनताका आवाजहरुलाई सदनमा जोडदार रुपले उठाउनुपर्छ । नाटकजस्तो लाग्ने जनजागरणले नेताहरुलाई भाषण गर्ने मञ्त त देला तर त्यसले वास्तविक अर्थमा जागरण ल्याउन सक्दैन । कम्तिमा पहिलो चरण सम्पन्नपछि थालिएको दोस्रो चरणको जागरण त्यो दिशामा निर्देशित हुनुपर्छ । हैन भने, कांग्रेस भन्ने पार्टी नेपालमा थियो र ? भन्ने दिन आउन बेर छैन । हामीसँग प्रजापरीषदको दुःखद अवशानको इतिहास भएको कांग्रेसले बिर्सनु हुँदैन ।