बेनी बजारमा सावरीसाधन चापको कारण सर्वसाधारणलाई सकस

बागलुङ, २५ भदौ – साँघुरो बेनीबजारमा दैनिकजसो जाम हुन्छ । विद्यालय समयमा बजारक्षेत्रभित्र ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएपनि निजी विद्यालयका बस तथा पिअप र ट्याक्टरले बजार क्षेत्रको ट्राफिक ब्यवस्थापनमा झनै चुनौती थपिएको छ । बजारमा ठूला सवारीसाधनको जामसँगै ट्याक्टर आतंकले सवारीसाधनमा आवतजावत गर्नेदेखि पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ । विपरित दिशातर्फ हुईकिएर आएको ट्याक्टरबाट सर्वसाधारणदेखि सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई समेत सकस हुने गरेको छ । ट्राफिक प्रहरीले विद्यालय समयभित्र ठूला सवारीसाधनलाई बजारक्षेत्र भित्र प्रवेशमा रोक लगाएपछि ब्यस्त समयमा ट्याक्टरको गतिले समस्या भएको बजारबासीको भनाई छ । ‘ट्याक्टरको आतंक धेरै भयो, सबै सवारीसाधनको गति नियन्त्रण आवश्यक छ’ न्यूरोडका प्रकाश पौडेलले भने । उनका अनुसार मोटरसाईकलको स्वरुप परिवर्तन, विद्यालयका बसको प्रतिष्पर्धा तथा लाइसेन्स समेत नभएका ट्याक्टरका चालकले तिब्र गतिलाई नियन्णत्र गर्नुपर्ने बताए । साँधुरो सडक भएकाले कुनैपनि बेला दुर्घटनाको जोखिम रहेकाले दिउँसोको समयमा समेत ठूला सवारीसाधनको ब्यवस्थापन आवश्यक रहेको बजारबासीको भनाई छ ।

बजार क्षेत्रमा घण्टौसम्म ठूला सवारीसाधनहरु रोकेर राख्दा पैदल तथा साना सवारीसाधनलाई आवतजावतमा समस्या भएको अवस्थामा पछिल्लो समय ट्याक्टरको आतंकले समेत थप समस्या भएको स्थानीयको भनाई छ । गति नियन्त्रण गर्ने उपकरणको अभावका कारण लाइसेन्स विनाका ट्याक्टर चालकले हावामा उडेजस्तै गरी ट्याक्टर चलाउँदा समस्या भएको गुनासो आउन थालेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । ‘नियन्त्रणका लागि निर्देशन दिएको छु,ट्याक्टरको गति नियन्त्रण गर्नुपर्ने गुनासो धेरै छ’ उनले भने । ट्याक्टरको पछिल्लो भाग गति धेरै हुदाँ आसपासमा समेत पुग्न सक्ने सम्भावना भएकाले ट्याक्टरलाई सकेसम्म ब्यस्त समयमा बजार क्षेत्रमा प्रवेशमा रोक लगाउनुपर्ने सरोकारवाला निकायको भनाई छ । ठूला सवारीसाधनले ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने र बजारभित्र एकैपटक ठूला सवारीसाधन प्रवेश गर्दा, हुलाकचोक, न्यूरोड, संगमचोक, गणेशटोल लगाएतका क्षेत्रमा दैनिकजसो जाम हुने गरेको छ । ट्याक्टर ब्यवसायी संघ समेत निस्कृय अवस्थामा छ ।