के हो डेङ्गु ? कसरी बच्ने ?

विश्वले विकासको जतिनै धाक लगाएपनि दुषित पदार्थ र फोहोर ब्यबस्थापनमा भने धेरै देशहरू पछाडी नै छन् । जसको उपहार स्वरूप पृथ्वीबासीले बेला–बेलामा बिभिन्न भाईरस तथा बिबिध आर्थिक क्षतिको सामना गर्न बाध्य छन् । कहिले बर्डफ्लु, कहिले स्वाइन फ्लु त कहिले ईबाला अनि कहिले डेङ्गी । यि अनेक समस्यामध्ये आजको समस्या हो डेङ्गी । मानव जिवनको लापर्वाहीले गर्दा नै हो आजको समाजले यो समस्यालाई झेलिरहनु परेको छ । यदी समयमै उचित बिचार गरी समयानुकुल कार्ययोजनाको थालनी गर्ने हो भने यस्ता समस्याले गर्दा विश्वब्यापी रूपमा हुने मानविय तथा भौतिक क्षतिलाई न्युन गर्न सकिन्छ ।
डेङ्गु (भ्रमक रूपमा डेङ्गु पनि भनिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो । यो रोग डेङ्गु भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ । केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गु हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तस्राव हुने मात्र नभइ रगतमा प्लेटेलेट्स को मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप डेङ्गी सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।
डेङ्गु धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ । यो रोगका भाइरसहरू पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर जटिलताको खतरालाई बढावा दिन्छ । डेङ्गीको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ ।
केही देशहरूमा डेङ्गीको संक्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावस्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छभने मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुन सक्छ । यो रोगका कारण प्रत्येक वर्ष करीब पाँचलाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गी लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरु प्रयोग गर्नु हुँदैन ।
डेङ्गी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रुपमा फैलिएको समस्या हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड ५० लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । जसमध्ये करीब औसत १५ हजार मानिसहरूको मृत्यु हुने गरेको छ । यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको कुरा बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेको निर्मुल पार्न असम्भव जस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।
प्रभाव र चिह्नहरू
सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसहरूमा रोगका कुनै लक्षणहरू नदेखिम सक्छ वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन् । संक्रमितमध्ये करीब ५ प्रतिसत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्दछ भने ती मध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ । त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन । प्रायःजसो बालबालिकाहरूमा डेङ्गीको संक्रमण हुँदा सामान्य रुगा तथा संक्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्छ ।
क्लिनिकल कोर्स
डेङ्गीको पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने (साधारणतया आँखाको पछाडि दुख्ने) मांसपेसी तथा जोर्नी दुख्ने आदि हुन् । डेङ्गीका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो (अङ्ग्रेजीमा ब्रेकबोन फिबर) पनि भन्ने गरिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छः लक्षणहरू सुरु हुने अवस्था (फेब्राइल), गम्भीर अवस्था (क्रिटिकल) तथा निको हुने अवस्था (रिकभरी)।लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेन्हाइट) भन्दा पनि उच्च ज्वरो आउने, शरीरमा पीडा महशुस हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । यो अवस्था प्राय जसो दुईदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्छ । डेङ्गीको संक्रमण भएका ५०–८०५ बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्ने गर्दछ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो ससाना फोकाहरू देखा पर्छन । रातोको बिचमा सेतो हुने फोकाहरू पनि देखिन सक्छ । यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा ‘आइस्ल्यान्ड अफ ह्वाइट इन अ सी अफ रेड’ ( रातो समुद्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने केशिकाहरू फुटेर छालामा ससाना राता थोप्लाहरू (अङ्ग्रेजीमा पिटिकी भनिने) देखा पर्ने र मुख तथा नाकका म्युकस मेम्ब्रेनबाट सामान्य रक्तस्राव हुने जस्ता लक्षणहरू पनि देखापर्न सक्छ ।
डेङ्गु रोग लाग्दा के खाने ?
मेवाको पात डेङ्गु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा platelets को संख्या बढ्न गई डेङ्गुको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।
सुन्तलाको रसः सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक antibodies बढाउँछ जसले डेङ्गुसँग लड्ने क्षमता पैदा गर्दछ । –हर्बल चियाः हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर प्रयोग गर्दा उत्तम हुन्छ । –नरिवलको पानीः डेङ्गुको कारण शरीरमा पानीको कमी हुन्छ । नरिवलको पानी को सेवनले शरीरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ । –सुपः काँक्रो, गाजर, च्याउ, गेडगुडी र अन्य तरकारीको रसको सेवनबाट शरिरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ । –कागतीको रसः कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसावको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेङ्गुको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित भएको छ ।
लामखुट्टे कसरी भगाउने ? लामखुट्टेबाट बच्ने उपाय
लामखुट्टे कसरी भगाउने ?
लामखुट्टेको टोकाइबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने । भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने । झ्याल र ढोकाहरुमा जाली लगाउने । झुलको प्रयोगगरि सुत्ने । लामखुट्टेले जमिरहेको पानीमा फूल पार्दछ । लामखुट्टेको फूलबाट बच्चा कोरल्न करिब ७ दिन लाग्दछ । तसर्थ जमिरहेको पानीबाट मुक्ति पाउने, साताको एकचोटी सरसफाई गर्नुपर्दछ र पानीलाई जम्न नदिई बग्ने बनाउनु पर्दछ । यसले लामखुट्टेको प्रजनन् दरलाई बाधा पुर्याउँदछ जसले गर्दा लामखुट्टेको वृद्धिमा रोकावट आउनुको साथै रोगहरू पनि फैलिन पाउँदैन । लामखुट्टे प्रायःजसो ओसिलो र झाडीमा बस्ने भएकाले मानव बस्ती वरपर नियमित सफाइ गर्नुपर्छ जसले गर्दा समुदायबाट नै लामखुट्टे भगाउन सकिन्छ ।
लामखुट्टेको प्रजनन् रोकथाम गर्ने तरीकाहरू
लामखुट्टे बस्न मन पराउने ठाउँहरू जस्तैः जमेको पानी, गाडीका पुराना पांग्राहरू राखेको ठाउँ, गमला, तेलको भाँडो, खाल्टोहरू, नछोपिएको पानीको भाँडो र घरभित्र जमिरहेको पानी भएकाले यस्ता चिज वस्तु घर वरपर नराख्ने । जमीनलाई पानी नजम्ने ढङ्गले व्यवस्थापन गर्नुपर्दछ जसले गर्दा सबै पानी सोसेर जान्छ र जम्न पाउँदैन । जलाधार क्षेत्र संरक्षित बनाउनु पर्दछ, जसले गर्दा पानी सधैँभरी बगिरहने गर्दछ ।
सामुदायिक रूपमा लामखुट्टेको रोकथाम कसरी गर्ने
जमेको पानीमा लामखुट्टेलाई खाने माछा पाल्ने । मध्य अमेरिकी लामखुट्टे माछा, दक्षिणी अमेरिकी गुपिज, अफ्रिकन तिलापीया, कार्प र अन्य माछाको प्रयोग गरी लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । यी माछाहरूको विभिन्न ठाउँमा विभिन्न सामान्य नामहरू छन् तर प्राय लामखुट्टे माछा भनेर जानिन्छ ।
पानी बगिरहेने तथा खेत राम्ररी पानी सोस्ने बनाउने
प्राकृतिक पानीलाई व्यवस्थित, गल्छी बनाएर पानीलाई बग्ने बनाउने र काम नलाग्ने सिचाइँका कुलो एवं पोखरीहरूलाई पुरेर धानको खेतबाट समय समयमा पानी बगाएर लामखुट्टेको नयाँ फूल एवं बच्चाहरूलाई मार्नु पर्दछ र साथै कुनै किसिमको वातावरणीय तथा धानको उत्पादनमा पनि ह्रास आउँदैन ।
वृक्षारोपण गरेरः
लामखुट्टेको नियन्त्रणमा सहयोगी हुने चरा, चमेरो तथा अन्य प्राकृतिक सहयोगीहरूको बासस्थान उपलब्ध गराउन वृक्षारोपण गरिनु पर्दछ । नेपाल, इण्डिया र अफ्रिकामा पाइने निमको रुखले लामखुट्टे धपाउन र यसको पातलाई औषधीको रूपमा उपयोग गर्ने गरिन्छ ।