मध्यपहाडी लोकमार्गमा काम धमाधम

बागलुङ, २७ भदौ – सदरमुकामदेखि पश्चिम गलकोटतर्फ यात्रा गर्दा धेरै स्थानमा लोकमार्गको काम भैरहेको देख्न सकिन्छ । पटक पटक लगाइएका ठेक्का तोडिएर अलपत्र परेको मध्यपहाडी लोकमार्गको काम अब भने सकिएलाझै देखिएको स्थानीयले बताए । बर्षौदेखि जीर्ण सडकले सास्ती खेपेका यात्रीको आलोचना बढेपछि आयोजना प्रमुख आशिष थापा मगर आँफै यो खण्डमा बसेर काम सक्ने योजनामा पुगेका हुन् । आयोजना प्रमुख थापाले आउन माघ मसान्तसम्म सबै काम सक्ने लक्ष बनाएको बताए । तत्काल काम नसकिए ठेकेदार कालोसूचीमा पर्ने खतरा बढेपछि काम भैरहेको हो ।
सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधेको २५ किमी खण्ड आफ्नै नेतृत्वमा सम्पन्न गर्न आएको थापाले बताए । सदरमुकामलाई जिरो किमी मानेर १२ दशमलब ८ किमीसम्म ‘भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनी र १३ किमीदेखि २५ किमी खण्डको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कंपनीले ठेक्का लिएका छन् । आयोजनाले वातावरण तयार बनाईदिएमा आगामी फागुनसम्म सबै सडक कालोपत्रे गर्ने उनीहरुले बताए । ‘आएका अवरोध हटाउन प्रशासन र आयोजनाले साथ दिनुप¥यो’ कन्स्ट्रक्सनका ईन्जिनियर मिहिर सिंहले भने, ‘काम रातदिन नभनेर गर्छु ।’ यो खण्डमा खानेपानी, बिद्युत र घरमा मुआब्जा दिन आयोजनाले ढिलाई गर्दा काम गर्न नसकेको उनले बताए । गत बर्ष खानेपानीको पाईपलाईनको कारण निर्माणमा ढिलाई भएको बताएको आयोजना र ठेकेदार कम्पनीको मागअनुसार प्रशासनले सहजीकरण गर्ने आश्वासन दिएको छ । गत सातादेखि बागलुङ नगरपालिका ३ को खहरे र काठेखोला गाउँपालिका वडा नं. १ को पाला तर्फको खण्डमा पहरा फोड्ने काम भैरहेको छ । त्यसका लागि दैनिक ८ घण्टा सडक अवरुद्ध समेत गराइएको छ ।
जिल्ला भित्रको १ सय ४२ किमीमध्ये अधिकांश खण्डमा काम भएपनि सदरमुकाम जोडिएको खण्डमा ठेकेदारले काम अलपत्र पार्दै आएका थिए । यो खण्डमा पर्ने घरजग्गाको मुआब्जा नदिंदा सार्नुपर्ने घर, बिद्युतका पोल र खानेपानीको पाइपलाईन समेत अलपत्र छन् । यहाँ भत्काउनुपर्ने १५ वटा घर नसारेकोले पहिलो समस्या आएको निर्माण कम्पनीले दाबी गरेको छ । मुलपानी, खहरे, अक्षेते र बिहुँ खण्डमा सडक छेउका रुख र चौतारो भत्काउन समेत नपाएको कम्पनीका प्राविधिकले गुनासो गरेपछि स्थानीय तहका प्रमुखले सहजीकरण गरिदिने आश्वासन दिएका छन् । ‘हामीसँग सहकार्य गर्न आउनु भएको छ, आवस्यक सहयोग गर्छौ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, ‘जनचासोको बिषयमा छलफल र भेला राखेर काम गर्न लागेका छौं ।’
सडक निर्माणको क्रममा हुने क्षति न्युनिकरणका लागि भने आयोजनाले संरचना निर्माण गर्ने, नाली व्यवस्थापन र पहिरो नियन्त्रणमा साथ दिनुपर्ने उनले बताए । वडा नं. १ मा मात्र सडक निर्मााणको क्रममा दर्जनबढी घर जोखिममा परेकोले ती घरको व्यवस्थापनमा आयोजनाले सहयोग गर्नुपर्ने अध्यक्ष खड्ग थापाले बताए । तीन बर्षअघि ट्रयाक खोल्न ठेक्का लिएको एमके कन्स्ट्रक्सन प्रा.लि.ले कैयौं स्थानमा कामै नगरी भुक्तानी लिएर काम छाठेपछि गत बर्षदेखि अर्को ठेक्का लगाइएको थियो । यो खण्डमा हरेक दिन बिहान साँढे सातदेखि साँढे नौं बजेसम्म तथा दिउँसो साँढे १० देखि साँढे ४ बजेसम्म सडक बन्द गरेर काम भैरहेको छ ।