इकाई र विव्यसको प्रयासमा भवन बन्दै

बागलुङ, २७ भदौ – भूकम्पले भत्केको गलकोटको एक बिद्यालय निर्माणको काम सुरु भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन बागलुङले निर्माण गर्ने बिद्यालयका लागि काम थालिएको हो । गलकोट नरपालिका वडा नं. ५ को हरिचौरस्थित पृथ्वी माबिको भवन निर्माणको काम थालिएको प्रअ बद्रीप्रसाद ढकालले बताए । बुधवार जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भवन शिलान्यास गरे । आयोजनाले दिने ६९ लाख ६९ हजार रुपैयामा बिद्यालय व्यवस्थापन समितिले आफ्नै प्रयासमा भवन बनाउन लागेको हो । चार कोठे भवन आगामी माघ मसान्त सम्ममा निर्माण सकिने गरी कामको थालनी गरिएको ढकालले बताए । २०७२ सालको भूकम्पले यो बिद्यालयको भवन भत्केको थियो । जोखिम मोलेर लामो समय पढाई गरिएको यो भवन भत्काएर काम थालिएको हो । कक्षा १२ सम्मको पढाई हुने यहाँ बालबालिका राख्न समस्या भएको छ । ‘हिउँदका दिनमा कोचाकोच राखेर भएपनि पढाउने र छिटै सक्ने लक्ष बनाएका छौं’ ढकालले भने, ‘ठेक्कामा दिंदा लामो प्रकृया लाग्ने भएकोले बिद्यालयकै अगुवाईमा काम थालिएको हो ।’ बिद्यालयमा यसअघि बनेका दुइवटा पक्की र दुइवटा कच्ची भवनमा पढाई भैरहेको छ । हाल कक्षा ११ र १२ पनि दिउँसोमै पढाई गर्दा कोठा अभाव भएको उनले बताए । यहाँ कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा संकायको पढाई हुन्छ । प्राधिकरणको अनुदानमा जिल्ला कार्यान्वयन इकाई भवनले बिद्यालयहरुको निर्माणको काम गर्छ । गत आर्थिक बर्ष इकाईले ४० वटा बिद्यालय बनाएको थियो । बागलुङमा २ सय १० बिद्यालयहरु पुननिर्माण गर्नुपर्ने अवस्थामा छन् ।
कार्यालयले हरेक बर्षको बजेट र अबस्था अनुसार निर्माणको काम गर्दै जाने योजना बनाएको इकाई प्रमुख मनिलाल चपाईले बताए । ‘आवस्यकता धेरै बिद्यालयको भएपनि हरेक बर्ष आउने अनुदान र बिद्यालयको तयारीको आधारमा काम हुन्छ’ उनले भने, ‘सुरक्षित बिद्यालय बनाउने अभियानका लागि हामी काम गर्छौ ।’ भूकम्पले पुरै भत्केका, चर्केकोले खतरामा परेका सबै बिद्यालयहरु पुननिर्माण गर्दै जाने उनले बताए । कार्यक्रममा ढुंगानाले सबै नागरिकलाई अनिवार्य शिक्षा दिने सरकारले सुरक्षित भवनको पनि ग्यारेन्टी गर्ने लक्षले भवन निर्माणको काम थालेको बताए ।
‘सुरक्षित बिद्यालय नभएसम्म सिकाई राम्रो हुँदैन’ उनले भने, ‘शिक्षकले ढुक्क भएर पढाउने र बिद्यार्थीले सुरक्षित महसुस गरेको खण्डमा शिक्षाको गुणस्तर पनि बढ्छ ।’ बिकास निर्माणका लागि तीनथरि सरकार र तीनथरि बितरण प्रकृया भने नमिल्दो भएको उनले टिप्पणी गरे । स्थानीय र केन्द्रीय सरकारका काम राम्रो भएपनि प्रदेशको राम्रो नभएको बताए । उनले कतिपय योजनाको प्रभावकारी अनुगमन नभएको, आफै स्टिमेट गरेर आँफै अनुगमन गर्ने पद्धतीले कमजोर संरचनाहरु बनेको उनको भनाई छ ।
पुननिर्माणमार्फत बन्ने भवनहरु भूकम्प प्रतिरोधी हुनुपर्ने प्रावधान छ । त्यसका लागि सामान्य भन्दा बढी लागत लाग्छ । प्राधिकरणले बिद्यालयहरु मात्र हेर्ने गरी अलग कार्यालय स्थापना गरेर काम थालेको हो । भूकम्पको बेला कम क्षति भएको जिल्लामा परेकोले बागलुङमा ढिलागरी कार्यक्रम आएको थियो । उक्त कार्यक्रममार्फत गत बर्षदेखि मात्र बिद्यालयहरु निर्माणको काम थालिएको हो ।